गाँजासहित तीनजना भारतीय पक्राउ

गाँजासहित तीनजना भारतीय पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १६, २०७६

पर्सा । पर्सामा ६ किलो लागुऔषध गाँजासहित ३ भारतीय युवा पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको प्रहरीले टोलीले शुक्रबार मध्यान्ह जिल्लाको शंकराचार्य गेट नजिकैबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना युवाले शरीरको दुवै भागमा प्लाष्टिकमा गाँजा राखी डोरीले बाँधेर सीमा कटाउन लागेको समयमा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो । उनीहरू तीनै जना युवाले दुई–दुई केजी गाँजा बोकेको उहाँको भनाई थियो । 

पक्राउ पर्ने युवा भारत विहार जिल्ला छपरा ग्राम महुली वडा नम्बर २ थाना तरैया बस्ने ३५  बर्षीय दिनेश सहनी, सोही ठाउँका २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा पैदल नै सीमा काट्न लागेको समयमा सहनी त्रयलाई चेकजाँच गर्दा शरीरमा नै गाँजा बाँधेर भारततर्फ प्रवेश गर्न लाग्दा दशगजानजिकै नेपाली भूभागबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।