लोकबाजा र सेनाको सम्बन्ध: नयाँ पुस्ता सैनिकलाई 'जनाउ' बाजा, धुन, सङ्गीतको बारेमा अनभिज्ञता !

लोकबाजा र सेनाको सम्बन्ध: नयाँ पुस्ता सैनिकलाई  'जनाउ' बाजा, धुन, सङ्गीतको बारेमा अनभिज्ञता !

रामप्रसाद कँडेल  |  लोकरञ्जन  |  फाल्गुन १६, २०७६

नेपाली समाज अनेकन् संस्कार,संस्कृति, परम्पराहरूले सुसम्पन्न रहेको छ । यसलाई नेपाली समाजको ठुलो पुँजीको रूपमा लिने गरिएको छ ।

त्यसै कारणले संसारकै जीवित सांस्कृतिक सम्पदा भएको नेपाली समाजको पहिचान बनिरहेकाे र परिचित छ । नेपाली समाजसँग हरेक चाड, पर्व, उत्सव, महोत्सव, दुख, हार, पीडामा मात्र होइन, सुख र दुःख साट्ने माध्यमको रूपमा मौलिक गीत, सङ्गीत, बाजा, नाचहरू आजसम्म नेपाली समाजमा रहेका छन्  । यो नै नेपाली समाजको ठुलो सम्पत्तिको रूपमा रहिआएको छ । 

संस्कार,संस्कृति,परम्पराको यथार्थसँग पौठेजोरी खोल्दै अगाडि बढेको र विकास भएको नेपाली समाजमा तमाम संस्कृति, धरोहरहरूको प्रतिबिम्ब र प्रभावबाट कुनै पनि समुदाय अछुतो नहुनु स्वभाविक हाे । अनेत्र जस्तै त्यसकाे प्रभाव स्वरुप  नेपाली सेनामा समेत स्थापना, विकास र विस्तार समाजको समूह, प्रतिबिम्ब र गति समात्ने क्रम गरेर अगाडि बढेको इतिहास हाम्रा सामु रहेको छ ।

 नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न बाजा, धुन, सङ्गीत र नाचलाई आफ्नो सङ्गठनको अभिन्न अङ्ग बनाउनु साथै सबै समुदायको अपनत्व ग्रहण गर्ने गरी र सामाजिक संस्कृतिको संरक्षण गर्ने गरी अघि बढेको पनि सत्यका रुपमा रहेकाे छ । 

समय क्रममा दुनियाँ बदलिएसँगै समाजमा पुस्ताैंदेखि कायम रहेका लाेकपृय पुराना लोकबाजाहरू, सङ्गीत, संस्कृतिहरूलाई आधुनिक र पश्चिमा संस्कृति र बाजाहरूले अतिक्रमणकाे सिकार भई  विस्थापनको मारमा परिरहेको छ । अतिक्रमण र विस्थापनको मार खेप्नु परेको मात्र होइन कतिपय यस्ता कतिपय लोकबाजाहरु आज लोप हुने अवस्थामा आइपुगेको छन् भने कतिपय लोप नै भइसकेका छन् । 

आधुनिकताको यस्तो दोभानमा उभिएका अवस्थामा नेपाली सेनकाे स्थपनाकालदेखि सङ्गठनको अभिन्न अङ्गमात्र हाेईन हरेक कार्यक्रम र गतिविधकाे जनाउ दिने बाजा र धुनहरु समेत लाेप हुँदै गएकाे भान हुन गालेकाे छ । कितसम्म भने नयाँ पुस्ताको सैन्य शक्तिलाई पुरानो पुस्ताले प्रयोग गरेको बाजा, धुन, सङ्गीतको जानकारी समेत नहुने अवस्था सृजना हुन थलेकाे छ ।  पुरानो पुस्ता आफ्ना पुस्ता, दर पुस्ताले सामाजिक जीवनको कडी धान्न परम्परादेखि नै बजाऊँदै आएको बाजाहरू लोप भएर जाने चिन्ताको भुङ्ग्रोमा पिल्सिएर रहनु पर्ने अवस्थामा रहिआएका  छौँ ।  

नेपाली समाजमा मात्र होइन नेपाली सेनामा समेत नेपाल एकीकरणको क्रममा, विभिन्न उत्सव, महोत्सव, तालिम, सूचना पठाउन, युद्ध कालमा, सहज कालमा, सैनिक दिवसहरूमा, विभिन्न समुदायका सिपाहीहरू रहेको फौजमा बजाउने गरेको बाजाहरू आज प्राय लोप हुने अवस्था छ । 

सैनिक निशान चिन्ह, नेपाली सेनाका आराध्य देव शिवका प्रतीक मानेर सेनाले इतिहासमा प्रयोग गरेका बाजाहरू आज इतिहासको पानामा सीमित हुने अवस्था छ । हामीले हेर्दाहेर्दै हाम्रा सामाजिक, सांस्कृतिक धरोहरहरू विलुप्त भएर गइरहेको समयमा ‘स्वाभिमानी सङ्गठन’ ठानिएको नेपाली सेनाले संरक्षणलाई ख्याल नगर्नु दुःखको विषय हो ।

नेपाली समाज र नेपाली सेनाको आजको पुस्ताले र  हामीले यी महत्त्वपूर्ण सांस्कृतिक धरोहरको संरक्षण गर्न सकिएन भने भोलि धेरै ढिलो भइसकेको हुनेछ भन्ने कुरामा भने ख्याल गर्नु जरुरी छ ।  बाजाहरूको ज्ञान, सिकाइ, अध्ययनको अभावले भोलि चाहेर पनि संरक्षण हुनसक्ने अवस्था पुग्ने निश्चित छ । के  र कसरी नेपाली लाेकबाजा  र धुनहरु  नेपाली सेनाकाे सङ्गठनको अभिन्न अङ्ग बनेका  थियाे भनेर चर्चा गरिएकाे छ । जाे नेपाली समाजमा मात्र हाेइन नेपाली सेनामा कसरी प्रयाेगमा आएर किन प्रयाेग भयाे भन्ने बारेमा समेत धेरै अन्याेलताहरु रहेका छन ।     

पाशुपत डमरु 

यो डमरु पञ्चमुखी भगवान् शिवको डमरु हो । यो शिवका गणहरूले आफ्ना दुस्मनहरूको बोली, चाल र उनीहरूको स्तम्भको लागि बजाइने परम्परा  रहेको पाइन्छ । शिवलाई आराध्य देव मान्ने सबै प्राचीन नेपालीहरू र नेपाली सेनाको प्रत्येक गणहरूमा विशेष तान्त्रिक अनुष्ठान गरी यो डमरु स्थापना गरिने परम्परा रहेकाे छ ।  यसलाई युद्ध कार्यको सुरुवात वा  अन्त्यमा बजाउने  र अनिष्ट साधना गरिन्थ्यो । हरेक एघार वर्षमा यस डमरुलाई जीवन्यास गरी प्राण चेतना  जगाउनु पर्छ भन्ने मान्यता रहेकाे छ । 

बिजयकालमा बज्र वृक्षको तान्त्रिक पद्धतिद्वारा शुभ साइतमा कटान गरिएको काठबाट पाशुपत डमरु बनाउने चलन थियाे । त्यसमा रतुवा मृगको छाला जोडी तयार गरिन्थ्यो । अन्य समयमा यो बाजा वादन र दर्शनका लागि वर्जित थियो । किरॉतकालमा किरॉतेश्वरको आराधना गरेर सेनाले यो बाजा बजाउन थालकाे हाे भन्ने विश्वास रहेकाे छ ।

 लिच्छवी काल र मल्लकालमा आफ्ना फौजको कल्याण र मनोबल बढाउन तथा दुस्मनमाथि विजय पाउन तत्कालीन सैनिक गणले यो बाजाको तन्त्र पूजा गरी बजाउने गरेकाे इतिहासहरुमा उल्लेख गरेकाे पाइन्छ ।  हरेक सैनिक गणहरूमा सुरक्षाका लागि बज्र वृक्ष लगाइन्थ्यो । आधुनिक नेपाली सैनिक इतिहासको लामो समयसम्म यो बाजा प्रयोग भएको देखिन्छ ।

पृथ्वीनारायण शाह र पछिको नेपाल एकीकरणको समयमा समेत यसलाई नेपाली सेनाले आफ्नो फौज र माटोको रक्षाको शुभ बाजाको रूपमा प्रयोग गर्दथ्यो । गोरखनाथ सम्प्रदायले विशेष साधना गरी यस बाजालाई नयाँ रण खोल्नु अघि शुभ साइत निकाल्ने धुनको रूपमा समेत बजाउने गरेकाे उल्लेख गरेकाे पाइन्छ ।

त्रिशूल डमरु

त्रिशूल डमरु शिव प्रतीकको रूपमा नेपाली सेनाले लामो समयदेखि प्रयोग गर्दै आएको देखिन्छ । शिवरात्रिको राति अविजित नक्षत्र ठम्याई बज्र वृक्षको तान्त्रिक पद्धतिद्वारा शुभ साइतमा कटान गरिएको काठबाट त्रिशूल डमरु बनाउने परम्परा रहेकाे छ । लडाइमा सर गरिएका पराजित फौजका राजा अथवा फौज प्रमुखको देब्रे छातीको छाला देब्रेतिर र दाहिने छातीको छाला दाहिनेतिर जोडी यो डमरु तयार गरिन्थ्यो ।

त्यसरी छाला उपलब्ध नभएमा रातो बाँदरको छाला झिकी देब्रेतिरको देब्रे पट्टि र दाहिने तिरको दायाँ पट्टि जोडी तयार गरिन्थ्यो । त्रिशूल डमरुले फौजीमा निर्भरता जागृत गराउने विश्वास रहेकै कारण नेपाली सेनाले आजसम्म त्रिशूल डमरुको सङ्केत चिन्हलाई प्रतीक चिन्हको रूपमा हरेक सिपाहीदेखि परमसेनाधिपतिसम्मले धारण गर्दै आइरहेको अवस्था छ । प्राचीन समयमा त्रिशूलको दॉया–बॉया अर्घमा साना कॉसका घण्टीसमेत जडिएको हुन्थ्यो । यो बाजासँग नेपाली सेनाको भावनात्मक तथा मनोवैज्ञानिक सम्बन्ध अटुट रूपमा रहँदै आएको पाइन्छ । 

नगरा निशान

नगरा नेपालको ज्यादै पुरानो र प्रख्यात बाजा हो । विजय उत्सव होस या विभिन्न चाड पर्वमा पुरानो समयमा यो बाजा बजेको सुन्न पाइन्थ्यो । तर हाल आएर यो बाजाको प्रयोग लोप भएर जाने अवस्थामा पुगेको छ । नगरा निशान तामाबाट बनेको र मुखमा छाला मोडी बनाइन्छ । बजाउँदा दुई वटा गजोले ताल मिलाई ठोकिन्छ । बाजामा देखिने गरी राजकीय निशान जडिएको हुन्छ । राज्यको महत्त्वपूर्ण सामरिक सूचना दिन, आपतकालिन रूपमा फौजी केन्द्रीकरण गर्न र युद्ध घोष गर्न सेनाले वादन गर्नेगरि राजाबाट अधिकार प्राप्त बाजाको रूपमा परिचित रहि आएकाे छ । 

नाग फणी 

नागबेली बाजा नेपालका पुराना मठ मन्दिरहरूमा बजाइने गरिन्छ । तामाको पातालाई पातलो गरेर पिटेर सर्पको जस्तो कल्याङकुलुङ पारेर ५ देखि ९ वटा ठाउँमा घुमाइन्छ । फुक्ने ठाउँमा पुच्छर जस्तो सानो हुन्छ तथा आवाज आउने ठाउँमा ठुलो हुन्छ तथा सर्पको जिब्रो जस्तै राखिएको हुन्छ । आवाजलाई आफ्नो इच्छा अनुरूप सानो–ठुलो बनाइन्छ । प्रसिद्ध स्वर्गद्वारी आश्रम तथा गोसाइँकुण्डको यात्रामा जाने यात्रीहरूले यो बाजाको आवाजबाट मनोरञ्जन लिन सक्दछन् । पुराना शैव मन्दिरमा नागबेली अद्यावधि बजाइन्छ । सेनाले यो बाजा बिधिबत बजाऊँदा निश्चित बोलहरू निकाली आफ्नो फौजको मनोबल बढाउने, दुस्मनको फौजलाई नाग पासमा पार्ने, हातहतियार सञ्चालन हुन नसक्ने अवस्था सिर्जना गर्न यो बाजा बजाइन्थ्यो ।

श्रृङ्घीनाद  

यो बाजा रात्रिको समयमा सूचना सङ्कलन गर्न नाथ–योगीको भेषमा बखानसहित बजाइने भएकाले नाथ सम्प्रदायमा बढी प्रचलित छ । विरोधी सैनिक प्रमुखको घरको चार सुरमा बसेर बखान गरी वादन गर्दा उसका शक्ति र मति भ्रष्ट हुने भएकाले यो बाजा सेनाले युद्ध कालमा धार्मिक कूटनीति अनुसार अविचार गरिएकाे मानिन्छ । कान चिरेर नाथ सम्प्रदायमा दीक्षा प्राप्त गरेका योगीहरूको यो बाजा प्रमुख बाजा हो । एक प्रकारको मृगको सिङ (जसलाई बारतको सिङ पनि भन्ने चलन छ) बाट यो बाजा तयार गरिन्छ ।  सृङ्गीनाद बाजालाई मध्य रातमा गाउँ गाउँमा घुम्दै सवार मन्त्रको सुरुमा, मध्यमा तथा अन्त्यमा फुकेर बजाइन्छ । यो बाजाबाट डर त्रास तथा भूत प्रेत मसान बाधा समेत हटेर जान्छ भनेर विश्वास गरिन्छ । गुरु गोरखनाथको अनुयायी योगीहरूले यो बाजा अनिवार्य साथमा राख्नुपर्दछ । 

कौंरा खैँजडी 

५२ वटा बाँसको खुटी, गोहोरोको छाला, दारकोबाट एक बित्ताको अर्ध व्यास, ४ अमल चौडा यो कौरा खैँजडीको विशेषता हो । खैँजडीका अनेक रूप रङ्ग मध्ये मगर जातिको कौरा खैँजडी ज्यादै आकर्षक हुन्छ । मगर जातिको रमाइलो कौरा नाचको नामसँग यो बाजाको नाम जोडिएको छ । मादल, कौरा खैँजडी र कौरा नाचमा मगर युवायुवती मनोरञ्जन लिन्छन् । आफ्नो जीवनमा आइपर्ने दुःख कष्ट रोग व्याधि तथा गाईबस्तु र खेती बालीको राम्रो होस् भनी देवदेवीको पुकारबाट माया प्रेम, ख्याल ठट्टा सबै कुरा कौरा नाचमा पाइन्छ । कौरा खैँजडी मुख्यतया तनहुँ तर्फ धेरै प्रचलित छ ।

छिटा छरिता, फुर्तिला मगर युवाहरू यो बाजा अनेकौँ तालहरूमा बजाउँछन् । मगरातमा कौरा, कौडाहा, कौराहा आदि नामका नाचमा या बाजा प्रयोग गरिन्छ । नेपाली सेनाको स्थापना कालदेखि नै सेनामा मगर समुदायबाट उल्लेख्य उपस्थिति रहेकाले यो बाजा पनि साथसाथै प्रचलनमा रहेका पाइन्छ । सैन्य क्षेत्रमा गई बजाउने, देश मनको शक्तिलाई एकोहोर्‍याउने कामका लागि प्रख्यात बाधकहरूलाई पढाइन्थ्यो । गोहोरोको छालाबाट बनाइने भएकाले यसले दुस्मनलाई घस्रने अवस्थामा पुर्‍याउँछ भन्ने विश्वास समेत रहेको पाइन्छ । 

रानी मादल 

नेपालमा धेरै प्रकारका मादलहरू प्रचलित छन् । रानी मादल छतिवनको काठलाई एका पट्टी अलि ठुलो र अर्को तर्फ सानो बनाएर खोपिन्छ । मादल बनाउन बादी जाती पनि निकै सिपालु छन् । छालाले दुई तह गरेर प्वाल छोपिन्छ । छाला काटेर तन्काएर बनाएको तनाले दुई तर्फको मैदानलाई कसिन्छ । सानो खरी हालेको तर्फमा मसिनो स्वर निस्कन्छ यसलाई भाले र ठुलो स्वर निस्कनेलाई वा ठुलो खरीलाई पोथी भनिन्छ । कम्मरमा भिर्नको लागि बनाइएको तनालाई जुइनो भनिन्छ । मादल सिक्नेहरूले गुरु स्थापना गरी सरस्वती बोलबाट मात्र मादल सिक्नु पर्दछ र बजाउँदा कम्मरमा मात्र भिर्नु पर्दछ । ठाडो पारेर मादल बजाउनु मादल बादनमा ठिक मानिन्न । रानी मादलमा ३२ वटा बिट रहेका हुन्छन् । तिनै बिट अनुरूप सेनालाई तालिम दिन प्रयोग गरिन्थ्यो । 

तुरही  
अहिले बिगुलले गर्ने काम उति बेला तुरहीबाट गरिने चलन थयाे  । सिपाहीलाई ड्युटी फेर्न प्रहरको सूचना दिन तुरहीको  प्रयोग गरिन्थ्यो । तुरही भण्डै २ हातजति लामो हुन्छ । यसको निर्माण तामाको पातलो पाता बाट गरिन्छ । मुखले फुकेर बजाइने यो बाजा अर्धचन्द्राकार हुन्छ ।बजाउँदा तिखो तथा तुरुरु आवाज आउने भएकोले यो बाजाको नाम तुरही राखिएको हो ।

घोर बाँसुरी 

 घोर बाँसुरी ठुलो जातको बाँसबाट बनाइन्छ र यो लामो हुन्छ यो बाँसुरी बजाउन ज्यादै कठिन हुन्छ । तर फुकेर आवाज निकाल्दा ज्यादै मिठो र मधुर स्वर निस्कन्छ । काठमाडौँका बाजा खलहरूमा घोर बाँसुरी सतिसालको गोलो काठबाट बनाइन्छ । कलात्मक किसिमले कुशल शिल्पकारका ज्ञाताहरूले भित्र खोक्रो पारी बनाउने घोर बाँसुरी ललितपुरमा प्रख्यात छ ।

माझवाल बाँसुरी

 यो माझवाल बाँसुरी काठमाडाै‌ं उपत्यकाको ५ वटै सहरमा ज्यादै प्रचलित छ । खयर जातको काठलाई भित्रबाट राम्रोसँग बराबर पारेर खोक्रो पारिन्छ । पहिलो प्वाल जहाँबाट ओठ राखेर फूकिन्छ त्यहाँबाट ८ अमलमा औँला राख्ने पहिलो प्वाल पारिन्छ । त्यो पहिलो प्वालबाट ८ अमलमा ६ वटा प्वाल खोपिन्छ । माझवाल बाँसुरी पहिले २ कप्टेरा बनाएर भित्री भागलाई बराबर खोपिन्थ्यो । यसलाई स्वर बाँसुरी पनि भनिन्छ । काठको यस बाँसुरीमा कतै कतै चाँदी तथा पित्तलका पाताहरूले बेरेर सुन्दर कलात्मक बनाइन्छ । सानो सानो चाँदीका टिका तथा काठकै सानु बुट्टे मुन्द्री घण्टी पनि राखिन्छ । यसबाट शुद्ध स्वर निकाल्न सकिन्छ । उपत्यकाका पर्व उत्सवहरूमा यो बाजा अनिवार्य मानिन्छ ।  यहाँ कतिपय बाँसुरी खलहरू पनि सदियौँदेखि चल्दै आएको छ । 

टिप बाँसुरी  

सोह्रवटा सतिसालको काठबाट बनाइन्छ । कतैकतै सिपालु कालिगडले निगालोबाट पनि बनाइएको पाइन्छ । फुक्दा वा बजाउँदा ज्यादै मिठो स्वर आउने यो बाँसुरी ज्यादै तिखो स्वरले बज्छ । लिच्छवीकालदेखि नै विभिन्न देवदेवीको रथयात्रामा यसलाई बजाउने गरिन्छ । अहिले पनि शार्दुलजंग गुल्मले काठमाडौँको तमाम देवदेवीको रथयात्रा र जात्रामा यो बासुरी बजाउने गरे पनि यो शुभ साइत निकाली कटान गरिएको सतिसालबाट बनेको नभई निगालो या बॉसबाट बनेको मात्रै प्रयोग भइरहेकाले यसको प्रतिस्थापन  गर्दै गरेकाे देखिन्छ । 
क्रमशः