कोरोना भाइरस

कोरोना भाइरस

बम बानियाँ  |  साहित्य  |  फाल्गुन १७, २०७६

माओत्सेतुङ
देङ स्याओपिङ
सी चिनफिङ
उक्लियौ
सभ्यताको शिखर 
द्वन्द्व, क्रान्ति र रूपान्तरणबाट 
आकाश हेर्दै गरेको ग्रेटवाल
ग्रसित बन्दै छ 
आक्रान्त बन्दै छ ।


आखिर के हो कोरोना भाइस 
यो हुन सक्छ भर्चुअल एप्स
यसले थप आतङ्कित बनाउँदै छ युरोपलाई
फैलिँदै छ कोरोना भाइरस युरोपभरि
दिँदै छ चुनौती रोबोटलाई ।


प्रारम्भिक चरणमा हेर्दा लाग्छ 
यो गरिब झुपडीका लागि उब्जिएको होइन
डुब्नासाथ भरियाका पसिनामा 
आफैँ मर्छ कोरोना भाइरस
यो धुलोमा खेल्दै हुर्किएका
भोकमरीले कयौँँ दिनमा एक छाक खानेहरूलाई छुँदैन
यो त संसारका सुकिला मानिसहरूलाई सर्छ
भ्रष्टाचारीलाई
देशद्रोहीलाई
छानिछानी समात्छ
इन्टरपोलले समात्न नसकेका
कुख्यात अपराधीको जन्मकैद कारागार नै हो यो
यो अब सिधै छिर्नेछ अमेरिका
मुसार्नेछ ट्रम्पको रातो गाला ।


यो स्वीट्जरल्याण्डका बैङ्कहरूमा छिर्नेछ
छुट्ट्याउनेछ काला र सेता नोट
कहीँ कतै नेपाल छिरिगए 
सोझै छिर्नेछ ललिता निवास
र, गर्नेछ निष्पक्ष छानबिन
छिरिगए कैलाली
छुनेछैन छाउपीडितलाई
जसले छाउगोठभित्रै पचाइसकेका छन् 
थुप्रै ब्याक्टेरिया र भाइरसलाई 
सिधै गाँज्नेछ निर्मलाका दोषीलाई ।


छिरिगए एयरपोर्टबाट केही गर्नेछैन विद्यार्थीलाई
सिधै आक्रमण गर्नेछ तेत्तीस किलो सुन बोक्नेलाई
नेपाल ट्रस्टका सञ्चालक 
आसपासका योजनाकार
हुनेछन् सिधै  तारो 
जनतालाई झुक्क्याएर 
सत्ता पदको दुरूपयोग गर्नेलाई
कोरोनाले पानी खेदो नै गर्नेछ ।


यो त्यसै मामुली जन्मिएको होइन
संसार सन्तुलन खोजिरहेछ 
पाँच प्रतिशत धनाढ्यको पञ्जाबाट 
छरछार पार्न खोजिरहेछ विश्व अर्थतन्त्र 
भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोड्ने
रणनीतिक लडाइँ
आफूले आफूलाई सच्याउने यन्त्र 
मास्क किन्नुभन्दा अगाडि
कोरोना भाइरससँग हात मिलाउनुभन्दा अगाडि
हेर्नुहोस् आफ्नो अनुहार 
छिर्नुहोस् आफ्नै मनभित्र
हेर्नुहोस् आफ्नो काम
यदि  छैनन् माथिका लक्षण 
तपाईंको जीवनमा भने
सुरक्षित हुनुहुन्छ तपाईंं ।