राजु खप्तडी बस्नेत | साहित्य | फाल्गुन १७, २०७६
बारीको कान्लो कस्तो छ ?
उनलाई थाहा छैन
पारि जाने गोरेटो कुन हो
त्यो पनि थाहा छैन ।
उनले छोडेर आएको गाविस हो
अहिले पालिका भइसक्यो
चौतारीका बिरुवा, वर र पीपल
अब जवान भएर छहारी दिन थालिसके
यो कुरा उसलाई थाहा छैन ।
यसबीचमा देशले कति युद्ध, आन्दोलन खेप्यो
उसले सायद पढ्यो, सुन्यो तर भोगेन
बरु ऊ यहाँ त्यसैलाई बहाना बनाएर
कागजको खोस्टो माग्दै थियो ।
उता देश दुख्दा यता ऊ
बसिसक्नु छैन भन्दै लाखौँ दलाललाई तिरेर
यहाँ हात उठाउँदै देश ढाँटिरहेको थियो
उसले सबै ल्यायो, गुँडै सार्यो
भाषा, संस्कृति, संस्कार सबै साट्यो
उसका कुरा यतै सकिए ।
अब गुँडका बचेराहरू ठूला भए
आफैँँ चारो खोजेर गोजेरो भर्न सक्ने भए
न तिनलाई मेची थाहा न महाकाली
न समाउने हाँगो छ न टेक्ने धर्ती । ट्विटरमा उड्छन्, फेसबुकमा बिस्ट्याउँछन्
देशतिर फर्केर मरीमरी गिज्याउँछन्
जो अब देशकै होइन
उसको गाली त के अर्ति पनि काम छैन।
जो छन् देशमै छन्, लडिरहेका छन्
भ्रष्टाचार, अत्याचार, व्यभिचारको विरुद्धमा
जेल, नेल र ज्यानको बाजी लगाएर लड्ने
तिनै बरु कागहरू ठीक छन्
तिनै वनकरहरू नै ठीक छन्
देशकै आकाशमा उड्ने बाजहरू नै ठीक छन्
यी विदेशी भइसकेका चिबेहरूभन्दा
यी देशको भोरमा कराउने कल्चौँडाभन्दा ।
वीरबलको कथा जस्तो
आगो भुइँमा फुकेर टुप्पाको कसौँडी पाक्दैन
आगो फुक्ने उही छन्, पकाउने उही छन्
यहाँ त गाला फुलाउने मात्र हुन् ।
देश देशवासीले चलाउँछन्
कमसे कम विप्रेषणमा योगदान छ कि छैन ?
यो मात्र सोचिदिए पनि हाम्रो औकात थाहा हुन्छ
न गाली, न ताली, न प्रतिक्रियाहरूले बन्छ देश
दलालतन्त्रको वकालत गर्दै गर्दा
तिमी या तिम्रा अघिल्लो पुस्ता
तिम्रो देशदेखि विदेशसम्मको दास्ताँ
दलालकै पुच्छर समाएर हो कि होइन
एकचोटि सोध्दा राम्रो ।
राजनीति नराम्रो हुँदै होइन
राजनीतिकर्मी खराब भएका हुन्
सरकार नराम्रो हुनै सक्दैन तर
सरकार चलाउनेहरूले सरकार बदनाम गराएका हुन्
जनतालाई हक छ सरकारको विरोध गर्ने
अनि सरकारको समर्थन गर्ने
मूल विषयमा सबैको एउटै राय छ
सुशासन, समृद्ध प्रणाली निर्विकल्प तय छ
जहाँ जनताको जय छ त्यहाँ देशको जय छ
साक्षी तराई, पहाड, हिमालय छ
भ्रष्टाचार नियन्त्रण हुनेवित्तिकै
अबको नेपाल विकासमय छ ।