जीत कार्की | साहित्य | फाल्गुन १७, २०७६
काे रुन्छ याे नगरमा ? मन आत्तिँदै छ !
बत्ती निभ्या` छ घरमा मन आत्तिँदै छ !
हिँड्दै थिएँ सडकमा सपना हरायाे
एक्लाे भएँ सफरमा मन आत्तिँदै छ !
क्यै त्रास छैन बरु दुश्मनकाे खुँडामा
आफन्तकाे शहरमा मन आत्तिँदै छ !
हाे, ऊ गयाे समयकै सिउँदाे उजाडी
झन् फर्किने खबरमा मन आत्तिँदै छ !
भन्नुस् अझै हजुरका कति छन् सिकार ?
मुस्कान त्याे अधरमा ? मन आत्तिँदै छ !
हुन्थेँ, म याे समयकाे शुकरात हुन्थेँ
खै शक्ति याे जहरमा ? मन आत्तिँदै छ !
छन्द: वसन्ततिलका