निजी नम्बर प्लेटका टुटल र पठाओ सेवा अझै अन्योलमा

निजी नम्बर प्लेटका टुटल र पठाओ सेवा अझै अन्योलमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १८, २०७६

काठमाडौं । यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पु¥याउँदै आएका टुटल र पठाओ सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी अझै पनि टुङ्गो लागेको छैन । 

काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा टुटल पठाओलगायतका प्रयोगकर्ता बढिरहेका छन् तर यिनलाई समेट्ने नियम भने अहिलेसम्म बन्न सकेको छैन । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने विषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

सोही विषयमा मन्त्रालयमा छलफल भएको प्रवक्ता सरोजकुमार प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार, ‘अहिले नै यसरी गर्ने भनी निर्णय भने भइसकेको छैन ।’ यातायात व्यवस्था ऐन, २०४८ मा निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियम रहेको छ । 

विभागले तीन महिना पहिले सूचना जारी गरी निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था ऐनमा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले विभागलाई कार्यविधि÷निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिनुभएको थियो । 

यात्रुको सुरक्षाको समेत विषय भएको भन्दै सरकारले यसअघि सेवा अवरुद्ध गर्ने निर्णय गरे पनि जनगुनासोका आधारमा हालकै अवस्थामा चल्न दिने निर्णय भएको थियो ।