सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७६

काठमाडौं । सिरहा, मकवानपुर, सुनसरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।  
    
सिरहा, धनगढीमाई नगरपालिका–७ स्थित सडकमा ना.१ ज ६४५८ नम्बरको गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार धनुषा मिथिला नगरपालिका–२ बस्ने ६५ वर्षीया रामरतीदेवी महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २ जनाको विराटनगर नर्सिङ होममा र अन्य १८ जनाको भुमिजा अस्पताल गोलबजार, जेएस पोलीक्लिनिक र जनशक्ति पोलिक्लिनिकमा उपचार भइरहेको छ । गाडी चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा ना.६३ प ७७३४ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री सोही उपमहानगरपालिका थानाभर्यारङ बस्ने निरज रानाको ८ वर्षीय छोरा निर्जल रानाको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका(९ लामसुरे बस्ने २४ वर्षीय निकेश सुबेदी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने निरज सुवेदीलाई चुरेहिल अस्पालत हुँदै थप उपचारका लागि न्यूरो अस्पताल रिफर गरिएको छ । 
    
सुनसरी, कोशी गाउँपालिका–४ स्थित सडकमा ना.३ ख ७९११ नम्बरको कन्टेनरको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    
कैलाली, धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित सडकमा ना।५ ख २९२७ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय नबिन बोगटीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।