स्थानीय पाठ्यक्रमः काम थाल्ने कि कुरामै अड्किने ?

स्थानीय पाठ्यक्रमः काम थाल्ने कि कुरामै अड्किने ?

प्रा.डा. विद्यानाथ कोइराला  |  दृष्टिकोण  |  फाल्गुन १८, २०७६

अहिले स्थानीय पाठ्यक्रम बनाउने क्रम विस्तारै सुरु भएको छ । यो अहिलेको चिन्तन भने पक्कै होइन । स्थानीय पाठ्यक्रम बनाउने सोच पंचायतको पालादेखिको हो । 

त्यो बेलामा २० प्रतिशत स्थानीय पाठ्यक्रमलाई तौल दिइएको थियो तर त्यतिखेर त्यो छुट्टै विषय हुने हो कि ? कूलमा २० प्रतिशत हुने हो कि ? त्यसको जाँच के गरी र कसरी गर्ने हो ? त्यस्ता कुराबारेमा केही पनि बोलिएन । अहिले पनि खास त्यसरी बोलिएको त छैन तर स्थानीय सरकारहरूले चासो लिएका छन् । तदनुरूप पाठ्यक्रम तथा पाठ्यवस्तु तयार पार्न थालेका छन् । 

पंचायतको पालामा पाठ्यक्रम बनाउन स्थानीय सरकार तातेन । कर्मचारी तात्यो । विज्ञहरूमा विवाद भयो । त्यसबेला टेम्प्लेट दिनुपर्छ भन्नेहरूले जिते । स्थानीय सरकारले बनाउन सक्छ भन्ने म जस्ताहरू हार्‍यौँ । शिक्षकहरूले अंग्रेजी तथा कम्प्युटर पढाउन थाले । म जस्ताहरू हेरिरह्यौँ । 

अहिले समय फेरिएको छ बरु त्यसमा के राख्ने भन्नेमा चाहिँ जनस्तरमा बग्रेल्ती अन्योल छ । कसले बनाउन सक्छ भन्नेमा झनै अन्योल छ । 

मेरो अनुभूतिमा स्थानीय पाठ्यक्रम बनाउनु साह्रै सजिलो काम हो । पहिलो स्थानीय पाठ्यक्रम बनाउने विज्ञ भनेको तपाईंहरूसँगै छ भनिदिन सक्नुपर्छ । पालिकाका शिक्षक, महासंघका साथीहरू, जनप्रतिनिधिहरू, व्यवस्थापन समितिका सदस्यहरू सबै विज्ञ हुन् । बाहिरका विज्ञहरू पनि तपाईंकै पालिकाका हुन सक्छन् वा तिनीहरू नभए पनि हुन्छ । त्यसले विज्ञताको समस्या आउँदैन र आउन पनि दिनुहुँदैन । 

दोस्रो, नमुनाको प्रश्न हो । हामी विज्ञ भनिने तथा कर्मचारीहरूले अल्झाउने ठाउँ भनेको यहीँनेर हो । त्यसका लागि नमुनाको पछि नलाग्नुहोस् । तपाईंका कुरालाई पछि मिलाएर राखौँला भनिदिए हुन्छ ।   

तेस्रो, पाठ्यक्रमको प्राविधिक पक्ष हो । त्यो भनेको उद्देश्य के राख्नुपर्छ ? विषयवस्तु के राख्नुपर्छ ? क्रियाकलाप के राख्नुपर्छ ? मूल्यांकन कसरी गर्नुपर्छ ? शैक्षिक सामग्री के हुन सक्छ ? जस्ता प्रश्न हुन् । 

स्थानीय पाठ्यक्रममा बच्चाहरूलाई समालोचक बन्ने तरिकाहरू पनि सिकाउनुपर्‍यो । समालोचक भनेको अर्को आँखाबाट पनि वस्तुलाई हेर्ने हो । त्यसो गर्नाले केटाकेटीहरूले यसो नभए के हुन्छ त ? यो बाटो भएन भने अर्काे के हुन्छ होला ? हामी त हिँड्नै सक्दैनौँ ? त्यसो भए अर्को बाटो केही छ कि ? यसरी सोचौँ न त भन्ने कुरा स्थानीय पाठ्यक्रममा राख्नुपर्छ कि ? 

यी प्रश्नहरूले स्थानीय संवादको माग गर्छन् । त्यो संवादको गेडो हो– त्यहीँका मान्छेहरूलाई सोध्ने प्रश्नले जवाफ दिन्छ । त्यो प्रश्न हो– स्थानीय पाठ्यक्रम किन चाहियो ? यो प्रश्नको उत्तरमा उनीहरूले भन्छन्– हाम्रो गाईका बारेमा केटाकेटीले थाहा पाउँदैनन् । हाम्रा गोरु, बयल वा वल्लका बारेमा थाहा पाउँदैनन् । याकका बारेमा पढेका हुन्छन् । मधेसको मान्छेलाई याकका बारेमा पढाएर के गर्ने ? हिमालको मान्छेलाई गोरुका बारेमा पढाएर के गर्ने ? त्यसको केही अर्थ छैन नि ! 

तर, हामीलाई पढाउनुपर्ने बाध्यता पनि छ । यस्ता उत्तरहरू आउँदा उनीहरूलाई भन्नुपर्छ– बालबालिकाहरूले त यीयी कुरा थाहा पाउनुपर्ने जरुरी पनि त छ नि ! अनि क्रमशः भन्नुपर्छ– त्यसो भए याक भएको ठाउँमा याकको कुरा पढाऔँ । गोरु वा बल्ल वा वयल भएको ठाउँमा तिनकै कुरा गरौँ । त्यहाँ मोटरसाइकल छ अथवा घोडा छ भने तिनै कुरा पाठ्यक्रममा राखौँ भन्न सक्नुुपर्छ । त्यति भन्नासाथ उनीहरूले उद्देश्य तथा विषयवस्तु थाहा पाउँछन् । त्यही क्रममा उनीहरूलाई दुई–तीनवटा कुराहरू भन्नुपर्ने रहेछ ।
 
एउटा, तपाईंको पालिकाको भूगोलभित्र गर्व गर्ने कुरा के हो ? त्यसो भन्नासाथ ओखलढुंगाका मान्छेले भन्छन्– पोकली झरना हो । झापालीले भन्छन्– केचना कवल हो । नवलपरासीकाले मजार बाबाको डाँडो भन्न सक्ने भए ।  

त्यस्तै, गर्व गर्ने सांस्कृतिक सम्पदा के हो नि ? भन्नासाथ कसैले रामजानकी मन्दिर, कसैले बुखारी मस्जिद भनिहाल्छन् नि ! त्यति भन्नासाथ उनीहरूले भन्न थाल्छन्– हामी मस्जिदको कुरा लेख्छौँ । हामी प्रकृतिक ताल वा झरनाको कुरा लेख्छौं । हामी भाषाको कुरा लेख्छौं । हामी कलाको कुरा लेख्छौँ । हामी हाम्रो गर्विलो इतिहासको कुरा लेख्छौँ ।  

यसरी उनीहरूले नै विषयवस्तु पहिल्याउँछन् अर्थात् तत् स्थानकै भूगोल, संस्कृति, इतिहास आदि विषयवस्तु प्रशस्त मात्रामा पुग्न थाल्छन् । कसैले गोत्र समातेर, कसैले प्रवर समातेर । कसैले स्थानीय व्यक्तित्व समातेर, कसैले विधा समातेर । शिक्षामा, स्वास्थ्यमा, कृषिमा, वनमा । 

चौथो, विषयवस्तु भनेको त्यो माटोमा के फल्न सक्छ ? किनभने माटो नभएको त हाम्रो पालिका छैन । जहाँसुकै केही न केही माटो छ । त्यो माटोमा के फल्न सक्छ ? त्यति भन्यो भने उनीहरूले भन्नेछन्– यहाँ फलानो फलफूल हुन्छ । फलानो तरकारी हुन्छ । यहाँ यो संभावना हुन्छ ।  

मैले ओखलढुंगाको खार्पाको दूधकोसीको छेउमा एउटा डाँडो देखेँ । त्यो डाँडो तीन–चारवटा जुरै जुरा परेको रहेछ । त्यही जुरोमा उहाँहरूले सपना देख्नुभएको पाएँ । सपना हो– एउटा डाँडोमा बुद्धको मूर्ति राखिदिन्छौँ, अर्कोमा शिवजी र अर्कोमा देवी । यो डाँडाको थुम्कामा जानका लागि बाटो बनाइदिन्छौँ । यही पर्यटनको क्षेत्र हुन्छ । 

अर्थात् उहाँहरूले राम्रो संभावना पहिल्याउनुभयो । त्यस्ता थुप्रै संभावनाहरू हुन सक्छन् । पहाडमा त्यो संभावना होला । मधेसमा अर्को संभावना होला । जस्तोः जनकपुर तथा सिरहाको पोखरीको कुरा गरौँ । ती पोखरीमा के हुन सक्छ ? त्यहाँ बोटिङ गरेर पैसा कमाउन सकिएला वा गार्डेनिङ गरेर पैसा कमाउन सकिएला । 

मखना फलाउन सकिएला । भाडामा लिएर माछा पाल्न सकिएला । धनुसागरको जस्तो आरतीगानबाट आनन्द लिन तथा दिन सकिएला । त्यस्तो किसिमको संभावना पनि स्थानीय पाठ्यक्रमका विषयवस्तु हुने भए । 

यसो गर्दा निराशाको खेती गर्नेहरू  पराजित हुन्छन् । भोलिको पुस्ता आशावादी हुन्छ । बन्छ, बनाउनुपर्छ । हाम्रा नेतृत्वले निराश गराएका पुस्तामा गरे हुन्छ भन्ने चिन्तन जगाउन सकिन्छ ।  त्यसैले स्थानीय पाठ्यक्रममा हुन सक्ने संभावनाहरू देखाइदिनुपर्छ । संभावना सँगसँगै गएर ‘तिमीलाई अप्ठ्यारो पनि छ है’ भनेर अप्ठ्यारो पनि जनाइदिनुपर्छ । किनभने, जे पनि मान्छेले गर्दथ्याे । बाटो बनाउने मान्छेले कोदालोले खन्नुपथ्र्यो । पिक वा गैँती आएपछि अलिक छिटो भयो । ह्विलब्यारो आएपछि अझै छिटो भयो । 

हाम्रा मान्छेहरूले छालाले तानेर ह्विलब्यारोको काम गर्थे । त्यो ढिलो हुन्थ्यो । अहिले डोजर आयो । त्यसले ता एकैचोटिमा गरिदियो । त्यसले राम्रो ग¥यो या नराम्रो, त्यो विश्लेषण गर्ने कुरा हो । राम्रो काम हो यस मानेमा कि छिटो काम भयो । नराम्रो यस मानेमा कि धेरै जना मान्छेको काम नहुने भयो । 

भोलिका मान्छेहरूको हालत के होला ? सन् २०३० सम्ममा मान्छे र मेसिनमा कसले जित्ला ? भनिन्छ, सन् २०२५ मा मान्छे र मेसिन बराबरीको रूपमा काम गर्छन् । सन् २०३० भएपछि मेसिनले मान्छेलाई जित्न थाल्छ । विस्तारै मान्छेको काम के हुन्छ ? त्यो स्थितिमा पनि कल्पना गर्ने कुरा स्थानीय पाठ्यक्रममा राख्ने कि भनी सोध्नुपर्छ । 

मेसिनले सबै काम गर्न थाल्यो । अहिले डाक्टरको काम मेसिनले गर्न थाल्यो । नर्सको काम मेसिनले गर्न थाल्यो । बाटो खन्ने काम मेसिनले गर्न थाल्यो । खेती गर्ने काम मेसिनले गर्न थाल्यो । बारीमा धान लागाउँदा, मल हाल्दा, बिउ रोप्दा वा गोड्दा, काट्दा सबै काम ‘कम्बाइन मेसिन’ले गर्न थाल्यो । कम्बाइन मेसिनले सयौँ मान्छेहरूको काम एकै पटकमा गरिदिन्छ । त्यसो हो भने अबका मान्छेहरूलाई कम्बाइन मेसिन चलाउने कसरी ? त्यो भनिदिनुपर्ने भयो । 

सजिलो र सस्तो कम्बाइन मेसिन बनाउने कसरी हो भन्ने कुरा पनि स्थानीय पाठ्यक्रममा राख्ने कि भनेर भनिदिनुप¥यो । त्यसो गर्दाखेरि मान्छे कल्पनाशील बन्दै जान्छ । 

पाँचौँ, स्थानीय पाठ्यक्रममा बच्चाहरूलाई समालोचक बन्ने तरिकाहरू पनि सिकाउनुपर्‍यो । समालोचक भनेको अर्को आँखाबाट पनि वस्तुलाई हेर्ने हो । त्यसो गर्नाले केटाकेटीहरूले यसो नभए के हुन्छ त ? यो बाटो भएन भने अर्काे के हुन्छ होला ? हामी त हिँड्नै सक्दैनौँ ? त्यसो भए अर्को बाटो केही छ कि ? यसरी सोचौँ न त भन्ने कुरा स्थानीय पाठ्यक्रममा राख्नुपर्छ कि ? 

त्यसो भन्नासाथ उनीहरूले नै नयाँं विषयवस्तु पाउँछन् वा खोजी गर्न थाल्छन् । यहाँ उदाहरण दिए पनि हुन्छ । जस्तोः जापानीहरूले अहिले सोचिरहेका छन्– बाटो खन्दा भूगोल बिग्रियो । यो भूगोल नबिग्रिने तरिका के होला ? एउटा डाँडो र अर्को डाँडोको बीचमा ठूलाठूला चुम्बक लगाइदिने । त्यो चुम्बकमा मेसिन लगाइदिएपछि तान्छ । त्यही तनाइबाट गाडी हिँडछ । ठाउँठाउँमा स्टेशन हुन्छ । त्यहाँ गाडी बस्छ । 

मान्छेहरूका निम्ति हिँडाइलाई गाह्रो पनि भएन । त्यो सपना हाम्रा केटाकेटीहरूको हुन सक्छ कि सक्दैन ? तिमीहरूका केही सपना छन् कि ? यस किसिमको चिन्तन हुने कुराहरू पनि  स्थानीय पाठ्यक्रममा राखिदिने हो कि ? यति भन्नासाथ स्थानीय विज्ञहरू अगाडि बढ्छन् । 

छैठौँ, स्थानीय पाठ्यक्रम भनेको जोसुकैले पनि बनाउन सक्छ । जहाँसुकै पनि बनाउन सकिन्छ । त्यसको प्राविधिक पक्षमा केही कुरा तलमाथि पर्ला । त्यति भनिदिनुपर्छ । 

अनि पढ्ने र पढाउने कुराकानी कसरी होला ? पाठ्य वा शैक्षिक सामग्री के चाहिएला ? यी प्रश्नहरूले पनि स्थानीय उत्तर नै माग्छन् । त्यो उत्तर हुन सक्छ– तिम्रो बारीमा हेर । त्यही काम गर । के गर्‍यौ भन । लेख, त्यो लेखेको कुरा प्रस्तुत गर । यति भनेपछि त स्थानीय विज्ञहरूले सिक्ने कुरा थाहा पाउँछन् । 

सिकाउने कुरा थाहा पाउँछन् । चाहिने सामग्री थाहा पाउँछन् । यी सबै काम एकसाथ हुन्छ । त्यस्ता खालका कुराहरू गरिदियो भने स्थानीय पाठ्यक्रम सजिलैसँग बन्छ । पालिकाकै विज्ञले बनाउन सक्छन् । रहर लागे अहिलेका विज्ञ भनिनेहरूलाई कस्मेटिक लगाइदेऊ भने हुन्छ । नत्र स्वाभाविक अनुहारको पाठयक्रम बन्छ । प्रश्न हो– काम थाल्ने कि कुरामै अड्किने ?