दिगो विकास लक्ष्य र शिक्षा सम्बन्धी स्वैच्छिक राष्ट्रिय परामर्श  तथा  समीक्षा काठमाडौँमा

दिगो विकास लक्ष्य र शिक्षा सम्बन्धी  स्वैच्छिक राष्ट्रिय परामर्श  तथा  समीक्षा काठमाडौँमा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन १९, २०७६

काठमाडौँ । दिगो विकासमा युएन ग्लोबल र क्षेत्रीय फोरमको संयन्त्र कस्तो हुने ? क्षेत्रीय फोरमहरूले  २०३० को लक्ष कार्यान्वयनमा कसरी योगदान पुर्‍याउने ? प्रत्येक क्षेत्रमा स्वैच्छिक रूपमा  राष्ट्रिय समीक्षा र अनुगमनको संयन्त्र कसरी र कस्तो बनाउने ? नागरिक समाज सङ्गठनका प्रतिनिधिहरूको नजरमा राष्ट्रिय, क्षेत्रीय र विश्वस्त के कस्ता अवसर र चुनौतीहरू रहेका छन् ? शिक्षाको विश्वव्यापी साझेदारी संयन्त्र के हो र यसले कसरी शिक्षा क्षेत्रमा २०३० सम्ममा राखिएको लक्षमा वैकल्पिक रूपमा योगदान पुर्‍याउन सकिन्छ ? 
उल्लेखित विषयमा निष्कर्ष पुग्ने उद्देश्यले दिगो विकास लक्ष्य  र दिगो विकास लक्ष्य ४ का क्षेत्रीय तथा ग्लोबल फोरम सम्बन्धी  विषयलाई  स्वैच्छिक राष्ट्रिय समीक्षा  तथा  परामर्श बैठक २०७६ फागुन १७ गते शनिवार  सम्पन्न भएको छ । 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, एसिया साउथ प्यासिफिक एसोसिएसन फर बेसिक एन्ड अडल्ट एजुकेसन (आस्वे) र नेपाल दिगो विकास फोरमको सहकार्यमा दिगो विकास लक्ष्य ४ को राष्ट्रिय कार्य योजना माथि बैठक केन्द्रित थियो ।

उक्त बैठकमा नेपालको तर्फबाट राष्ट्रिय योजना आयोगकी सदस्य डा.उषा झा,शिक्षा विभागका महानिर्देशक डा.तुलसी थपलिया, नेपाल दिगो विकास फोरमका कार्यकारी निर्देशक बीबी थापा र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आ–आफ्ना प्रस्तुति राख्नुभएको थियो । उक्त सत्रको सहजीकरण मानवअधिकारकर्मी गौरी प्रधानले गर्नु भएको थियो ।   

आस्वेकी  अध्यक्ष नानी जुम्लमिनारानी, महासचिव मारिया खान लगायत विश्वस्त, क्षेत्रस्तर र राष्ट्रस्तरमा रहेको वर्तमान  अवस्था र चुनौतीको कारेमा चर्चा गर्नुका साथै  नेपाल जस्ता राष्ट्रले  अवलम्बन गर्नुपर्ने रणनीति बारेमा समेत छलफल भएको थियो । 

दिगो विकासको बारेमा उच्चस्तरीय राजनीतिक फोरमको बैठक ७–१६ जुलाई २०२० मा राखिएको र त्यसैको तयारी स्वरूप यो बैठकको आयोजना  गरेको एनसीई नेपालले जानकारी दिएको छ । उच्चस्तरीय राजनीतिक फोरमले मुख्यतया संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूको  दिगो विकासको लक्ष २०३० को बारेमा विश्वस्तमा अनुगमन र समीक्षा गर्ने एक ‘प्लेटफर्म’ विकास गरिएको थियो ।  

उक्त प्लेटफर्ममा अन्य क्षेत्रीय र उप– क्षेत्रीय आयोग र सङ्गठनहरू निर्माण गरिएको छ  जसले एसडीजीमा विश्वव्यापी अनुगमन र ‘फलोअप’ प्रक्रियामा योगदान पुर्‍याउँदै आएको छ । प्रत्येक क्षेत्रीय आयोग र फोरमहरूले दिगो विकास दिगो विकासको कार्यान्वयनको समीक्षा गर्ने गर्दछ । 

एसिया र प्रशान्त फोरमको सन्दर्भमा दिगो विकासको क्षेत्र क्षेत्रीय निकायको रूपमा काम गरिरहेको छ भने  यसले दिगो विकास कार्यान्वयन अवस्थालाई प्रत्येक वष समीक्षा गर्दछ ।  यस वर्षको  एसिया र प्रशान्त दिगो विकास फोरम  बैठक मार्च २०२० को लागि आयोजना गरिएको  छ । उक्त बैठकमा  यस वर्षको बैठकमा नेपाल सरकारले दोस्रो पटक दिगो विकास लक्ष्यलाई स्वैच्छिक राष्ट्रिय समीक्षा रिपोर्ट प्रस्तुत  गर्दैछ । जुन बैठक एनसीइ नेपाललगायत नागरिक समाज सङ्गठनले सीमान्तकृत र पिछडिएको  समुदायको समस्याहरूको समाधान गर्न आफ्नो  अलग्गै  रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ ।   

उक्त बैठकमा एसिया प्यासिफिक क्षेत्रका १५ राष्ट्रका  करिब ५० जना अभियानकर्ताहरूको  सहभागिता रहेको आयोजकले जनाएको छन्  ।