प्रजातान्त्रिक योद्धा  रामप्रसाद राईः राष्ट्रिय विभूति घोषणा गर्न माग

प्रजातान्त्रिक योद्धा  रामप्रसाद राईः राष्ट्रिय विभूति घोषणा गर्न माग

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७६

काठमाडौँ । वि.सं. २००७ सालको क्रान्तिका क्रान्ति योद्धा  रामप्रसाद राईको १११औँ जन्म यन्तीका अवसरमा आइतबार रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रीय कार्यसमितिले एक विचार गोष्ठीको आयोजना गरेको थियाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने आधार’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले निरंकुश राणाशासनविरुद्धको क्रान्तिमा मुक्ति सेनाको अगुवाइ गरी देशलाई उज्यालो बनाउन चाहने उज्यालोकर्ता जननायक रामप्रसाद राईलाई सरकारबाट राष्ट्रिय विभूति घोषणा गराउनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता प्रकट गर्नुभएकाे  थियाे । ढकालले भोजपुरका गाउँबाट सुरु भएको राईको अगुवाइको क्रान्तिले एक घण्टा नै भए पनि सिंहदरबार कब्जा गरेको सुनाउँदै वर्तमानको राजनीतिक व्यवस्था उहाँकै परिकल्पना भएको  समेत जानकारी दिनु भएकाे थियाे ।  

पूर्व मन्त्री एवम् संस्थाका संरक्षक वरिष्ठ साहित्यकार प्रदीप नेपालले प्रजातान्त्रिक योद्धा राईलाई सरकारले उचित सम्मान दिनुपर्ने बताउनुभयो । सङ्घीय सांसद विशाल भट्टराईले जननायक राईलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेमा मात्र उहाँप्रति उचित सम्मान हुने विचार व्यक्त गर्नुभएको  थियाे । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी माली र पूर्व सहायक मन्त्री मुकुन्दबहादुर बस्नेतले देशमा प्रजातन्त्रको बहालीका लागि ज्यानको पर्बाह नगरी क्रान्तिमा होमिँदा बेपत्ता पारिएका प्रजातान्त्रिक योद्धा राईलाई सरकारले शीघ्र राष्ट्रिय सम्मान दिनुपर्ने धारणा राख्नु भएकाे थियाे ।   

कार्यक्रमका सभापति तथा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पासाङदोर्ची शेर्पाले देशको वर्तमान उपलब्धिमा रामप्रसाद राईको स्वप्न गाँसिएको हुनाले पनि सरकारले राईलाई राष्ट्रिय विभूति घोषणा गर्नुको विकल्प नरहेको धारणा राख्नु भएकाे थियाे । 

कार्यक्रममा लेखक तथा अन्वेषक भोगीराज चाम्लिङले ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने आधार’ विषयक गोष्ठी पत्र प्रस्तुत गर्दै जननायक राईलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने आधारहरू प्रस्तुत गर्नु भएकाे थियाे  ।   चाम्लिङको गोष्ठी पत्रमाथि प्रा‍‍.डा.  गोविन्दमानसिंह कार्कीले टिप्पणी गर्नुभएकाे थियाे । ।
स्मृति प्रतिष्ठानका महासचिव देवान राई र सदस्य प्रमीला राईले संस्थाका गतिविधिमाथि प्रकाश पार्नुभएकाे कार्यक्रममा   संस्थाको आजीवन सदस्यता लिने महानुभावहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।