मगर जातिको लोपोन्मुख गीतिनाटक माथि छलफल

मगर जातिको लोपोन्मुख गीतिनाटक माथि छलफल

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १८, २०७५

२०७५ फागुन १८ गते शनिवारका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा मगर जातिको लोपोन्मुख गीतिनाटक ‘जीवैमामार/ज्यो मा रे’ विषयक विचार गोष्ठी आयोजना सम्पन्न भएको छ ।  

नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभाग र मगर अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि वैरागी काइँलाले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिले भरिपूर्ण देश भएको उल्लेख गर्दै मगर जातिको संस्कृति विशिष्ट रहेको बताउनुभएको थियो । उहाँले मगर जातिको लोपोन्मुख गीतिनाटक सम्बन्धी गोष्ठीले आँखीझ्यालबाट चियाएको जस्तो अनुभूति भएको विचार व्यक्त गर्नुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागका प्रमुख प्राज्ञ प्रा. दिनेशराज पन्तले मगर जाति विशिष्ट परम्परा र संस्कृति सम्पन्न जाति भएको बताउनुभयो । 

मगर अध्ययन केन्द्रका अध्यक्ष डा. गोविन्दबहादुर थापा मगरले मगर संस्कृति राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै मगर जातिमा प्रचलित संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ता र सम्बन्धित सबै लाग्नु पर्नेमा जोड दिनुभयो । 

गोष्ठीमा डा. मीन श्रीसमगरले मगर जातिको लोपोन्मुख गीतिनाटक ‘जीवैमामा/ज्यो मा रे’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले उक्त गीतिनाटक काली गण्डकी र राप्ती क्षेत्रमा बसोबास गर्ने मगर जातिमा प्रचलित मामा चेली विवाहमा आधारित संस्कृति भएको बताउनुभयो । कार्यक्रममा गीतिनाटकका विषयमा निर्मित वृत्तचित्रसमेत देखाइएको थियो । कार्यक्रम केन्द्रकी सचिव प्रतिभा पुनले सञ्चालन गर्नुभएको थियो ।