कोरोना भाइरस फैलिने डरले ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित

कोरोना भाइरस फैलिने डरले  ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित

लोकसंवाद संवाददाता  |  पर्यटन  |  फाल्गुन १९, २०७६

काठमाडौं । विश्वभरि कोरोना भाइरस फैलिन थाले पछि सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित गरेको छ । 

चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय लिएको स्रोतले जनाएको छ। 

स्रोतका अनुसार कोरोना भाइरसको जोखिम बढ्दै गएपछि अहिलेलाई भ्रमण वर्ष स्थगन गर्ने र सन् २०२२ मा आयोजना गर्ने विषयमा छलफल भइरहेको छ।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरि ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ठूला सभा, सम्मेलन नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले कोरोना भाइरस भित्रिन नदिन अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने विषयमा छलफल भइरहेको बताउनु भयो । यस्तै, त्रिभुवन विमानस्थलको स्वास्थ्य सहायता कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन राख्ने तयारी गरेको पनि उहाँले जानकारी गराउनु भयो ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको अति उच्च जोखिममा रहेको जनाएपछि उक्त तयारी गरिएको हो ।

यसअघि शनिबार पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गरेको थियो।