व्यावसायिक कृषकहरूलाई  स्थानीय सरकारले बेवास्ता गरेको गुनासो

व्यावसायिक कृषकहरूलाई  स्थानीय सरकारले बेवास्ता गरेको गुनासो

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १९, २०७६

काठमाडौँ ।  विभिन्न स्थानमा व्यावसायिक रूपमा कृषि तथा पशुपालन  पेसा गरिरहेका  कृषकका समस्याप्रति स्थानीय सरकारले पूर्णतया बेवास्ता गरेको सम्बन्धित सरोकारवालाले बताउने गरेका छन् ।

राजधानीमा व्यावसायिक रूपमा पशुपालन गरिरहेका कृषकहरूको भेलामा सम्बन्धित सरोकारवाला पक्ष र कृषकले यस्तो धारणा व्यक्त गर्नु भएकाे हाे ।  कागेश्वरी मनोहरा ७ स्थित चम्पादेवी कृषक समूह र मध्यपुर ७ स्थित नव निलबराही मिश्रित कृषक समूहले आयोजना गरेको व्यावसायिक पशु पालक कृषकहरूको समस्या तथा चुनौती विषयक अन्तरक्रियामा सरोकारवालाहरूले यस्तो धारणा राख्नु भएको थियो । 

 छलफलमा कृषकहरूले जन निर्वाचित प्रतिनिधि आएपछि कृषि तथा पशुपालन क्षेत्रमा स्थानीय सरकारबाट पर्याप्त सहयोगको अपेक्षा गरिएको भए पनि सो अनुरूप सहयोग नपाएको  कृषहरुको गुनासो रहँदै आएको छ ।  

राज्यको पुनर्संरचना पश्चात् वनेका सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारबाट कृषि क्षेत्रको विकासमा सहयोग नगरेको कृषकहरूको गुनासो छ । छलफलमा सहभागी अधिकांश पशु पालक कृषकले दानापानीको भाउ बढ्दै गए पनि सो अनुरूप दूध तथा दुग्धजन्य वस्तुको मूल्य वृद्धि नहुँदा समस्या भएको बताउनु भएको  थियो  ।

यस्तै, कृषि तथा पशुविनाको समस्या, पशु आयातको समस्या, गुणस्तरीय दाना तथा खाद्यन्यको समस्या रहेको उनीहरूको भनाई थियो । कृषकले यी थुप्रै समस्या झेली रहँदा पनि स्थानीय सरकारका  जनप्रतिनिधिहरू मुख दर्शक  बनेको  कृषकका समस्याप्रति गम्भीर नदेखिएको  किसानहरूको भनाई  रहेको छ । 

छलफलमा काठमाडौँ २ का प्रदेश सांसद मणिराम फुयाँल, पशु सेवा विभागमा निमित्त प्रमुख टिकादेश भट्ट, विभागमा प्रवक्ता चन्द्र ढकाल, कृषि ज्ञान केन्द्रका निर्मल गदाल, नयाँ कृषि अभियान कृषि सहकारी संस्थाका अध्यक्ष मीन बहादुर गैरे, सहकारीका प्रबन्ध निर्देशक यादव प्रसाद पोखरेल लगायतले व्यवसायीक कृषि तथा पशुपालन र यसमा समस्या र चुनौतीका विषयमा विचार व्यक्त गरेका थिए । 

यस्तै, छलफलमा नव निलबराही मिश्रित कृषि समूहका अध्यक्ष ताराबहादुर भण्डारी, चम्पादेवी कृषक समूहका कोषाध्यक्ष हेमराज जोशी, कृषक समूहका प्रदीप श्रेष्ठ लगायतले कृषकले भोगिरहेको समस्याहरू राख्नु भएको थियो ।