नेपाली राजनीतिक दल र 'डेड सोल्जर्स' काे खाेजी

नेपाली राजनीतिक दल र  'डेड सोल्जर्स' काे खाेजी

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  फाल्गुन १९, २०७६

हिजो दिउँसो रतन तिरुवा नामका एक २२ वर्षीय जुम्ली युवाले राष्ट्रिय सभागृहमा आयोजित स्व. भरतमोहन अधिकारको प्रथम स्मृतिसभामा नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेको खबर जंगलमा डढेलो फैलिएजस्तै फैलियो । 

एकातिर तिरुवाले आफू शहीद परिवारको बताएको र काठमाडौं बसेर लोकसेवाको तयारी गरिरहेको कुरा पत्रिकाहरूले रिपोर्टिङ गरे भने अर्कोतर्फ नेकपा जुम्लाले भने प्रेस विज्ञप्ति जारी गर्दै प्रेस विज्ञप्तिमा लेख्यो– ‘जति निन्दा गरेपनि नपुग्ने उक्त अराजनैतिक उदण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिंजा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै सहिद परिवार र हाम्रो पार्टीको पनि समर्थक सम्म नभएको उक्त व्यक्ति बिप्लप समुहको गतिविधिमा रहेको जानकारी गर्दछु ।’ 

विज्ञप्तिले थप भनेको छ– ‘उक्त ब्यक्ति जुम्लामा पनि पटक–पटक अराजनितिक कार्यमा संलग्न रहेको र नेपाल प्रहरीले पनि खोजी रहेको व्यक्ति हो । यस खालको सार्वजनिक स्थलमा गम्भीर प्रकारको घृणित कार्य गर्ने रतन तिरुवा भन्ने व्यक्तिलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको माग पनि गर्दछु ।’ 

यस विज्ञप्तिमा जुम्ला नेकपा अध्यक्ष विरबहादुर कुँवरले हस्ताक्षर गरेका छन् । ‘हाम्रो पार्टी महान तथा गौरव शाली पार्टी नेकपा’बाट सुरू भएको उक्त विज्ञप्तिमा भएका कुराहरू यहाँ जस्ताको तस्तै लेखिएको छ ।

फेन्टनले देख्छन्, युद्धरत नरोदमहरू आफूले पिएर रित्याएका खाली ब्रान्डीका बोतलहरूलाई डेड सोल्जर्स भन्छन् । युद्धमा जसले जिते पनि वा हारे पनि उनीहरू आपैँलाई फाइदा हुने पारिवारिक युद्धमा छन्, मात्र त्यहाँ शक्ति संघर्ष छ । र, तिनीहरूले बाहिरबाट देखिने युद्धमा निर्दोष सेनाहरूलाई मर्न होमिदिएका छन् । 

विज्ञप्तिमा भएका अशुद्ध शब्दहरूको शुद्धाशुद्धि हेर्ने काम मैले त्यसै छाडेँ र यसको सार मात्र बुझेँ किनभने नेपाली राजनीतिमा जति अशुद्धि देखिएको छ, त्यो विज्ञप्ति जारी गर्ने तहका सबै व्यक्ति, नेता, कार्यकर्तामा मजाले पुगेको छ । शुद्धाशुद्धिकी जननी संस्कृत भाषाप्रतिको चरम द्वेष र स्कुलका संस्कृत पुस्तक च्यातेको, जलाएको सामान्य नतिजा देखिनु नै छ । नेकपा ‘गौरवशाली’ पार्टीबाट ‘गौरव शाली’ पार्टीमा बदलिएको मैले यही विज्ञप्तिमार्फत् देखेको हुँ ।

कामरेड प्रचण्ड नै नेपाली राजनीतिमा रूप र सारबीचको भेद सिकाउने गुरु हुनहुन्छ, त्यसैले हरेक कुरालाई रूपमा होइन, सारमा बुझ्छु म ।

सारमा बुझ्दा २०५६ सालमा कालीकोटमा द्वन्द्वको क्रममा गोली लागेर मनु तिरुवाको मृत्यु भएकै देखिन्छ । उक्त मनु तिरुवा शहीदको सूचीमा छन् वा छैनन्, मलाई थाहा छैन । हाम्रो मधेसतिर इनारमा डुबेर मरेका र सडक दुर्घटनामा मरेकासम्मलाई नेताको अनुग्रहले ‘शहीद’ उपमा प्राप्त भएको र तिनको परिवारलाई शहीद परिवारको सुविधा मिलेको मैले थाहा पाएको छु । त्यस्ता व्यक्तिलाई शहीदको रूपमा सिफारिस गर्ने नेता स्वयंले उक्त कुरा स्वीकार गरेको देखेको छु ।

मानौँ कि कुनै पनि तवरले मनु तिरुवा शहीदको सूचीमा छैनन् । त्यति हुँदा पनि उनी द्वन्द्वपीडित होइनन् भनेर भन्न सकिने अवस्था देखिन्छ ? एउटा द्वन्द्वपीडित र द्वन्द्वमा ज्यान गुमाएको व्यक्तिको ‘फ्रस्ट्रेसन’ अभिव्यक्त कसरी हुन्छ ? उसको ट्रमाको व्यवस्थापन कसरी हुन्छ ? 

गरिबी, अनिश्चित भविष्य, द्वन्द्वमा बाबु गुमाउनुको पीडा, काठमाडौंको धुलो, धुवाँ, चिसो खपेर बेरोजगारीसँग संघर्ष गर्दै गरेको युवाले नेताले बारबार ठूला कुरा गर्दा कुन हिसाबले प्रतिक्रिया दिन्छ ? आमयुवाका यस किसिमका थुप्रै समस्याको व्यवस्थापन गर्न राज्यले के गरेको छ ? छैन भने किन कानमा तेल हालेर बसेको छ ?

यहाँ अर्को एउटा कुराले मेरो सोचाइलाई लथालिंग पारिदिन्छ । मानौँ कि द्वन्द्वमा मनु तिरुवालाई शहीद मान्ने वा नमान्ने पार्टी निर्णयको कुरा हो । पार्टीलाई मृतकको परिवारको क्रियाकलाप सही लागुन्जेल शहीद भने पनि भयो, पार्टीलाई उसका परिवारका सदस्यहरूको फ्रस्ट्रेसन व्यवस्थापन गर्न गाह्रो भए वा मृत व्यक्तिको परिवार उक्त पार्टीमा नरहे वा त्यसबाहिर अन्य दलमा गए, अन्य दलका गतिविधि गरे शहीद पनि होइन, त्यसले गरेको गतिविधि राजनीतिक पनि होइन भन्ने भयो । यस किसिमको बुझाइ मानवीय तुलोमा कहाँनिर नापिन्छ ? मान्छेको द्वन्द्वको पीडाको मोलमोलाई पार्टीले गर्ने हो ?

विज्ञप्तिको भाषाअनुसार ऊ ‘विप्लप समुह’ (यस्तो नामको कुनै समूह मुलुकमा अस्तित्वमा छैन, पार्टीले नै विप्लव माओवादी समूहलाई मिलाएर विप्लप समूह भन्ने निर्णय गरेको होला, त्यसमा मेरो भन्नु केही छैन । पार्टी नै सर्वेसर्वा भएको मुलुकमा अनेक हुन्छ) । मै लागेको भए पनि त्यो उसको राजनीतिक अधिकार होला । उसको स्वेच्छा र छनोटको कुरा पनि आउला, उसले द्वन्द्वपीडित ठहर्न वा शहीद परिवारको ठानिन नेकपाप्रति वफादार भएर बसिरहनु पर्ने पनि होइन होला । उसले जे जस्तो गतिविधि गरे पनि उसका बुबा त द्वन्द्वकालमै मारिएका र उनको योगदान त्यतिबेलै रहे, नरहेको होला नि !

भनिहालेँ, म रूप र सारको बारेमा बुझाउने गुरु प्रचण्डलाई नै मान्छु, कुरा पनि त्यहीअनुसार बुझ्छु । सारमा हेर्दा नेपाली राजनीतिले युवालाई फ्रस्ट्रेसन दिएको छ, द्वन्द्वकालदेखि त यो झनै चर्को बनेको छ ।

सारमा अहिले पनि युद्ध चलिरहेको छ, प्रचण्ड स्वयं भन्नुहुन्छ, ‘क्रान्तिको रूप बदलिएको हो, सार बदलिएको होइन ।’

यसबेला मलाई ब्रिटिस कवि जेम्स फेन्टनको ‘डेड सोल्जर्स’ कविताको बडो याद आउँछ । फेन्टन कम्बोडिया तथा भियतनामका गृहयुद्धहरूको रिपोर्टिङ गरेका पत्रकारसमेत भएकाले उनले उक्त कवितामा कम्बोडियाको गृहयुद्धका बारेमा आफ्नो अनुभव लेखेका छन् । 

कवितामा पत्रकार फेन्टनलाई राजकुमार नरोदम चटरेन्सीले युद्ध मैदानमै लन्चका लागि आमन्त्रण गर्छन् । त्यहाँ फेन्टनले देख्छन्, युद्धरत नरोदमहरू आफूले पिएर रित्याएका खाली ब्रान्डीका बोतलहरूलाई ‘डेड सोल्जर्स’ भन्छन् । युद्धमा जसले जिते पनि वा हारे पनि उनीहरू आपैँलाई फाइदा हुने पारिवारिक युद्धमा छन्, मात्र त्यहाँ शक्ति संघर्ष छ । र, तिनीहरूले बाहिरबाट देखिने युद्धमा निर्दोष सेनाहरूलाई मर्न होमिदिएका छन् । 

ब्रान्डी वा मोजमस्ती उनीहरूको जीवनशैली हो । आफूले पिएर रित्याएको ब्रान्डीको बोतल आफ्ना लागि लड्ने र मर्ने सेनाको रगत उनीहरूका लागि एकै हो, तिनमा ठूलो फरक छैन ।

सार युद्ध हो, अहिले पनि हामी युद्धमै छौँ । हो, रूप फेरिएको छ । हिजो मनु तिरुवाहरू मरे, शान्तिकालमा आएपछि मर्ने सेना चाहिएन, मर्ने मान्छे चाहिएन, अब त मतपत्र च्यात्ने सेना चाहियो । त्यसपछि रतन तिरुवाहरूलाई नियन्त्रण गर्ने प्रहरी चाहिए, रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेलगत्तै प्रहरीले नियन्त्रणभित्रै ‘मोवाइल’ प्रहार गर्ने ट्रेड युनियनका भोला पोखरेल र ‘लातले हान्ने’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ किसिमका योद्धा चाहिए । 

नेताको पक्षमा दादागिरी गर्न र कानुन हातमा लिन पाइयो, रतन तिरुवाहरूले मात्र आफ्नो फ्रस्ट्रेसन पोख्नुभएन । यी सामयिक योद्धाहरू ‘डेड सोल्जर्स’ हुन् । ‘डेड सोल्जर्स’ हरेक ठाउँमा जरुरी छन्  जो हरेक पटक ब्रान्डी पिएपछि ती फालिन्छन् ।

जब मैले एउटा नेपाली राजनीतिबाट फ्रस्ट्रेट केटाले प्रचण्डलाई जुत्ता प्रहार गर्‍यो भन्ने सुनेँ, मलाई त्यो केटाको अत्यन्त माया लागेर आयो । प्रचण्डहरू राजनीति गरिरहेका छन्, गरून् । त्यसमा मेरो भन्नु केही छैन तर कुनै पनि द्वन्द्वपीडित युवा, जो अनिश्चित भविष्य र बेरोजगारीसँग संघर्ष गरिरहेको छ । 

मलाई त्यसका पछाडि नेताका 'सोल्जर्स' लाग्छन्, पार्टीको पूरै वेट लाग्छ र प्रचण्ड स्वयं आफूलाई अभिभावकीय भूमिका गरेर जनताका पीडा बुझ्न छाडेर उल्टो आफू अपमानित महसुस गर्दै यो केटासँग प्रतिशोधको भावना लिएर अघि आउँछन् भन्ने डर लाग्यो । 

नेपाली राजनीतिमा यस्तै हुँदै आएको छ र हुँदै गर्छ तर यो घटनामा प्रचण्डले जनताको पीडाको सुझबुझ राख्दै यसलाई सामान्य घटना मानेर आफैँ गएर त्यो केटालाई प्रहरीबाट छुटाएर आफ्नो अभिभावकीय छवि कायम गर्न भने सक्छन् ।

हेरौँ, मुलुकलाई अझै कति ‘डेड सोल्जर्स’चाहिएको छ ।