छोराछोरीहरूलाई आफ्नाे सपनाको भारी बोक्ने भरियाको व्यवहार किन ?

छोराछोरीहरूलाई  आफ्नाे सपनाको भारी बोक्ने भरियाको व्यवहार किन  ?

राजकुमार महर्जन  |  दृष्टिकोण  |  फाल्गुन १९, २०७६

‘तपाईंले मनन् गर्नुपर्ने कुरा यो छ कि तपाईंको सन्तान तपाईंले होइन, केवल तपाईंमार्फत् रचिएका हुन् । तपाईंले जस्तो मन लाग्यो, उस्तै चलाउन तिनीहरू तपाईंको निजी सम्पति होइनन् । यदि तपाईंले उनीहरूलाई आफ्नो सम्पति जस्तो व्यवहार गर्नुभयो भने तपाईंबाट सृष्टिकर्ताको अपमान हुनेछ र जसको मूल्य तपाईंले कुनै न कुनै तरिकाले चुकाउनुपर्नेछ । – योगी सद्गुरु

बुद्धुबाट वैज्ञानिक

थोमस एल्वा एडिसन सानोमा निकै बुद्धु स्वभावका थिए । एक दिन उनका शिक्षकले उनकी आमाको नाममा एउटा चिठी लेखी उनको हातमा पठाए । घरमा आमाले चिठी पढिसकेपछि उनले आमालाई सोधे, ‘आमा, मेरा शिक्षकले त्यो चिठीमा के लेखेका रहेछन् ?’ 

निकै सुझबुझपूर्ण ढंगले व्यवहार गर्ने आमाले थोमसलाई भनिछन्, ‘यो चिठीमा तिम्रो बारेमा यस्तो लेखेको रहेछ छोरा ! तिमी असाध्यै समझदार र बुद्धिमान छौ रे ! तिमी जस्तो तीक्ष्ण बुद्धि भएका विद्यार्थीलाई स्कुल गएर पढ्नुपर्दैन भनेर लेखेका रहेछन् । त्यसैले तिमी अबदेखि घरमै बसेर अध्ययन गर्ने है !’ 

त्यस दिनदेखि एडिसनलाई आमाले घरमै राखी अध्यापन गराउन थालिन् । घरमा उनी आफूलाई मनपर्ने हरेक क्रियाकलाप गर्न पाउँथे । तिनै बुद्धु बालक ठूलो भएपछि महान् वैज्ञानिक बने । उनले संसारै उज्यालो पार्ने बिजुलीको अविष्कार गर्नुका साथै यो दुनियाँलाई उपहार स्वरूप अन्य धेरै आविष्कारहरू दिए ।

धेरै वर्षपछि आमाको मृत्यु भएपश्चात थोमस एक दिन आमाले प्रयोग गर्ने दराजका सामानहरू मिलाउँदै थिए । त्यतिबेला उनको आँखा एउटा पुरानो कागजको टुक्रामा पर्‍यो । त्यो कागज उनी सानो छँदा उनका शिक्षकले आमाको नाममा लेखेको त्यही चिठी रहेछ । 

हरेक सन्तान आमाबाबुले भन्दा केही न केही नयाँ र थप काम गर्न जन्मिएका हुन्छन् । हामीले तिनलाई आफू जस्तै मात्र बनाउने धृष्टता त्याग्नुपर्छ । छोराछोरीहरूले बाबुआमाको रूपमा केवल साथी चाहेका हुन्छन्, नकि तानाशाह बोस । 

कौतुहलपूर्वक उनले त्यो चिठी पढे । चिठीमा उनी निकै बुद्धु भएको र उनलाई कुनै पनि हालतमा सिकाउन नसकिने भएकाले स्कुलबाट निकाला गरिएको व्यहोरा लेखिएको थियो ।

आजभन्दा १७० वर्षअघि एक आमाले आफ्नो छोराका निम्ति गरेको सही व्यवहार र निर्णयले गर्दा थोमस बुद्धुबाट वैज्ञानिक बन्न सफल भए । 

आदरणीय अभिभावकज्यूहरू, यदि त्यो ठाउँमा तपाईं हुनुभएको भए के गर्नुहुन्थ्यो ? यस्तै परिस्थिति आज तपाईंको जीवनमा आइपर्‍यो भने तपाईं के गर्नुहुन्छ ? आउनुहोस्, मैले प्रत्यक्ष देखेका दुईवटा घटनामार्फत् केही छलफल गरौँ ।

नाइँ, म डाक्टर बन्न चाहन्नँ

एक वर्षअघि एउटा तालिममा म अतिथिको रूपमा पुगेको थिएँ । त्यहाँ मैले चिनेजानेका धेरै प्रिन्सिपल, शिक्षकहरूको सभहागिता थियो । तीमध्ये एक जना परिचित प्रिन्सिपल तथा उनका कलेज पढ्ने छोरा पनि सहभागीका रूपमा थिए । 

म प्रष्टै देख्न सक्थेँ, ती आमा–छोरा दुवै सिकाइमा भन्दा अर्कै कुरामा हराइरहेका थिए । दुवैको मुहारमा एक किसिमको डर र चिन्ता प्रष्टै देखिन्थ्यो । 

उनीहरू कुनै न कुनै समस्यामा छन् भन्ने लागेर तालिम चलिरहेकै अवस्थामा कलेज पढ्ने छोरालाई तालिम हलबाट बाहिर बोलाएर कुरा गरेँ । पहिलो सेसनको अन्त्यपछि प्रिन्सिपल साथीसँग पनि कुरा भयो । 

वास्तवमै मैले लख काटेजस्तै दुवै जना ठूलो मानसिक पीडाबाट गुज्रिइरहेका रहेछन् । तीन–चार रात भइसकेछ उनीहरू पूरै अनिँदो रहेका । आमाको मनमा छोराले चिन्ताको कारण केही अप्रिय निर्णय लिइहाल्ला कि भन्ने डर रहेछ । त्यसैले रातभर झिमिक्क पनि ननिदाईकन छोरालाई साथी बस्दा रहेछन् । उता, छोरालाई पनि आफ्नो समस्याभन्दा पनि आमा निदाउन नसकेकामा आमालाई केही भइहाल्छ कि भन्ने डर रहेछ ।

हरेक सन्तान आमाबाबुले भन्दा केही न केही नयाँ र थप काम गर्न जन्मिएका हुन्छन् । हामीले तिनलाई आफू जस्तै मात्र बनाउने धृष्टता त्याग्नुपर्छ । छोराछोरीहरूले बाबुआमाको रूपमा केवल साथी चाहेका हुन्छन्, नकि तानाशाह बोस ।

कुरो बुझ्दा छोराको कलेज अध्ययन र विषय छनोटका बारेमा उनका बाबुले दिएको दबाब मूल कारण हो भन्ने बुझियो । बाबुको विचारमा छोरा कुनै पनि मूल्यमा डाक्टर बन्नै पर्ने । छोरालाई त्यो पेसा कुनै पनि हालतमा मन नपर्ने । उनलाई आईटीसम्बन्धी विषय मनपर्ने । 

डाक्टर नपढ्ने भए जसरी भए पनि सिभिल इन्जिनियर बनेको हुनुपर्छ भन्ने बाबुको जबर्जस्तीका कारण सिभिल इन्जिनियरिङमा भर्ना भएर पढेका रहेछन् । 

सुरुको वर्षमा मन नलागी नलागी पनि कलेजमा राम्रै अंक ल्याएर पढाइलाई अघि बढाएछन् । पछि विस्तारै छोरालाई पढाइप्रति नै यति वितृणा जागेछ कि कलेज जानै छाडेछ । जिद्दी बाबुले यस्तो कुरा बुझ्ने कुरै भएन । उल्टो श्रीमतीलाई ‘तैँले छोरो बिगारिस्’ भनेर कचकच गर्दा रहेछन्। 

यसरी दैनिकको घर झगडाले गर्दा आमा–छोरा दुवै डिप्रेसनको सिकार भइसकेका रहेछन् । आमा–छोरा दुवैसँग राम्रै चिनजान र स्कुल उमेरमै छोरासँग बेलाबेलामा उनको अध्ययनका बारेमा छलफल गर्ने भएकाले यस्ता समस्याका बारेमा मसँग खुलेर कुरा गर्थे । 

त्यो दिन पनि करिब एक घण्टाको सरसल्लाह र परामर्शपछि छोराले आफूलाई मनपर्ने विषयमै पुनः कलेज भर्ना गर्ने दृढ निश्चय गरेका थिए । त्यसको अर्को दुई दिनपछि भेट हुँदा आमा–छोरा दुवै तुलनात्मक रूपले खुसी देखेको थिएँ ।  

आज उनी कप्युटर इन्जिरियरिङ पढ्दै छन् । आमा–छोरा दुवै खुसी छन् । यो कुरा सम्झेर म अझै पनि झस्किने गर्छु ।  

डाक्टर बन्ने सपनामाथि बेइमानी

दुई वर्षअघि श्रीमतीलाई आफन्तसँग फोनमा लामो कुरा गर्दै थिइन् । उनको कुराबाट थाहा पाइयो कि आफन्तकी छोरी डिप्रेसनमा परिछन् । पछि कुरा के हो बुझ्दै जाँदा डाक्टर पढ्न अभिभावकले मन्जुरी नदिँदाको परिणम रहेछ । 

केही दिनपछि छोरीसँग भेटेर उनको समस्या बुझियो । जब छोरी सानी थिइन्, उनलाई ‘तिमी ठूली भएपछि डाक्टर बन्नुपर्छ । डाक्टर बन्नलाई धेरै मिहिनेत गरेर पढ्नुपर्छ’ भन्ने गरिन्थ्यो । उनी पनि सानैदेखि डाक्टर बन्ने रहरले निकै मिहिनेत गरी पढ्दै गइन् । एसएलसी परीक्षामा जिल्लामा सर्वोकृष्ट नतिजा पनि ल्याइन् । 

कक्षा ११ र १२ मा छात्रवृत्तिमै विज्ञान संकायमा अध्यययन गरी राम्रै नतिजा हासिल गरिन् । जसरी पनि डाक्टर बन्ने सपनाले उनलाई हौस्याएको थियो । 

उनको सपनामा त्यतिबेला कुठाराघात भयो, जब उनका बुबाले एकाएक उनलाई डाक्टर पढाउन नसक्ने बरु अस्ट्रेलिया गएर काम गर्दै पढ्नू र पैसा कमाउनू भन्ने आदेश जारी गरे । 

डाक्टर पढ्न लेखपढमै बढी ध्यान दिनु पर्दथ्याे  तसर्थ उनले विद्यालय जीवनमा अतिरिक्त क्रियाकलापहरूमा त्यति ध्यान दिएकी पनि थिइनन् । उनमा अरू सीपको विकास हुने कुरै भएन । बुवाको अकस्मातको धोकापूर्ण व्यवहारले गर्दा उनले आफ्नो भविष्य अन्धकारबाहेक केही देखिनन् तसर्थ खान, पिउन र बोल्न छाडेकी रहिछन् । 

बाबुको अबुझ र जिद्दी स्वभावबाट हार खाएर छोरीलाई हरेकले हरेक ढंगले सम्झाइबुझाइ गर्दा उनले आफ्नो सपना त्याग्ने मनस्थितिमा त पुगिन् तर उनले परिवारलाई कहिल्यै पनि माफ गर्न नसक्ने गरी चित्त दुखाइरहिन् । देश छाडेर कतै जान नचाहने उनी रुँदैरुँदै अस्ट्रेलिया पुगिन् ।

माथिका दुईवटा प्रतिनिधि घटनाहरूलाई कुन रूपले विश्लेषण गर्नुभयो ? पहिलो घटना, अभिभावक जबर्जस्ती आफ्नो छोरालाई डाक्टर बनाउन खोज्ने तर त्यसको ठीकविपरीत अर्को घटनामा कुनै पनि हालतमा डाक्टर नपढाउने ।

त्यस्ता कथाहरू फेरि नदोहोरियून् भन्नका लागि के कस्ता उपायहरू अवलम्बन गर्नुपर्ला ? अब खुला बहस जरुरी छ । यो विषयमा म आजलाई यति मात्र भन्न चाहन्छु, बाँकी बहसका लागि पाठक वर्गमै छाड्न चाहन्छु ।    

अन्त्यमा, छोराछोरीहरूभन्दा केही वर्षअघि यो दुनियाँ देखेँ भन्दैमा आफैैँलाई सर्वेसर्वा ठान्ने प्रवृत्ति त्याग्नुपर्छ । सन्तानलाई आफूले जीवनमा पूरा गर्न नसकेका सपनाको भारी बोक्ने भरियाको व्यवहार किन गर्ने ? देखासिकी, सामाजिक प्रतिष्ठाको नाममा उनीहरूको इच्छा, चाहना र क्षमतालाई कुल्चिएर आफ्नै कुरा लाद्ने आचरण अब त्याग्नुपर्छ । 

हरेक सन्तान आमाबाबुले भन्दा केही न केही नयाँ र थप काम गर्न जन्मिएका हुन्छन् । हामीले तिनलाई आफू जस्तै मात्र बनाउने धृष्टता त्याग्नुपर्छ । छोराछोरीहरूले बाबुआमाको रूपमा केवल साथी चाहेका हुन्छन्, नकि तानाशाह बोस । 

आज तपाईंसँग आश्रित हुँदा तपाईंले आफ्ना छोराछोरीहरूलाई जस्तो व्यवहार देखाउनुहुन्छ, त्यसको एक–एक हिसाब भोलि उनीहरू सक्षम भएपछि तपाईंले चुकाउनुपर्नेछ । यो कुरा पक्का हो ।