स्थानीय प्रशासनद्वार कोरोनाकाे सम्भावित खतरालाई उच्च सतर्कता अपनाउन आग्रह

स्थानीय प्रशासनद्वार  कोरोनाकाे  सम्भावित खतरालाई   उच्च सतर्कता अपनाउन आग्रह

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २०, २०७६

चितवन । चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान चिकित्सकसँग छलफल गरि अस्पतालमा छुट्टै आइसोलेसन रुम खडा गर्न ठूला अस्पताललाई अनुरोध गरिएको छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा र दुई निजी मेडिकल कलेजमा छुट्टै कक्ष निर्माण गरिसकिएको छ । रोगको सङ्क्रमण देखिएमा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा छलफल भएको उहाँले बताउनु भयो । 

जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । भट्टराईका अनुसार बुधबारदेखि शुरु हुन लागेको प्रथम परेवाकोट महोत्सव रोकिएको छ । जिल्लामा भइरहेको मेघौली महोत्सव र भरतपुर महोत्सव रोक्ने विषयमा सम्बन्धित आयोजकसँग आजै छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
 
जिल्ला प्रशासन कार्यालयले आजै जिल्लाका सातै स्थानीय तहका प्रशासकीय अधिकृतलाई छलफलका लागि बोलाएको र कोरोनाको सम्भावित जोखिमलाई केन्द्रित गरेर छलफल हुनेछ । प्रशासनले आफ्नै कार्यालयका कर्मचारीसँग समेत आज बैठक बस्ने साथै उक्त रोगबाट हुनसक्ने जोखिमका बारेमा सतर्कता अपनाउन आन्तरिकरुपमा छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभएको छ । 

प्रमुख जिल्ला अधिकारी भट्टराईले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरिएको जानकारी दिनुभयो । विगतका वर्षमा प्रशासनले सूचना जारी गरेर सभ्यतापूर्वक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यस वर्ष भिडभाडसमेत नगर्न अनुरोध गर्न लागिएको उहाँले बताउनुभयो ।

यस्तै ठूला भोज भतेर नगर्न सबैमा अनुरोध गरिएको भन्दै उहाँले भन्नुभयो, ‘यस विषयमा सञ्चारमाध्यमले आम नागरिकलाई बुझाइदिनुप¥यो ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्चस्तरको टोलीले आज भरतपुर अस्पतालको निरीक्षण गरी रोग देखिहालेमा गर्ने तयारीका बारेमा छलफल गर्दैछ ।