सवारी दुर्घटनामा ८ जनाको मृत्यु

सवारी दुर्घटनामा ८ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २०, २०७६

काठमाडौं । मुस्ताङ, सर्लाही, स्याङ्जा, रुपन्देही, सिन्धुली र पाल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । 
    
मुस्ताङ, थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा बेनी जोमसोम सडक निर्माण गर्ने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा बा.२ क ५०३३ नम्बरको स्काभेटर करिब ३ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा स्काभेटर चालक सिन्धुपाल्चोक बस्ने ५० वर्षीय अर्जुन दाहालको घटनास्थलमै मृत्यु भएको छ । साथै सोही स्थानामा काम गरिरहेको बा.२ क ९७३० नम्बरो स्काभेटर समेत पुरिएकोमा स्काभेटर र स्काभेटर चालक मकवानपुर बस्ने ४५ वर्षीय कुमार लामाको प्रहरीले सकुशल उद्दार गरेको छ । 
    
सर्लाही, हरिवन नगरपालिका–४ गणशिय चोकस्थित सडकमा ना.८ ख ८५२१ नम्बरको ट्रकले ना.४८ प १७०१ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका बस्ने २२ वर्षीय रोशन भुजेलको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ । 
    
यसैगरी सर्लाही, रामनगर गाउँपालिका–६ मलघट्टास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट धनकौल गाउँपालिका–४ महिनाथपुर बस्ने ४५ वर्षीया मुलरी देवीको सोमबार मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 
    
स्याङ्जा, विरुवा गाउँपालिका–७ सुरुङस्थित सडकमा रा.१ त २१०० नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा ट्याक्टरका काम गर्ने विरुवा गाउँपालिका–७ यादी बस्ने २६ वर्षीय बनध्वज गुरुङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको छ । 
    
रुपन्देही, रोहीणी गाउँपलिका–४ सेमरहवास्थित सडकमा लु.४४ प १०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लु.२ त ६४१२ नम्बरको ट्याक्टरमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार नवलपरासी(पश्चिम) पालिनन्दन गाउँपालिका–३ झोलुङ्गे पुल बस्ने २२ वर्षीय रुपेश चौधरी र सोही ठाउँ बस्ने २३ वर्षीय हेमन्त चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । 
    
सिन्धुली, दुधौली नगरपालिका–४ पचरुखीस्थित सडकमा स.१ त ७६७६ नम्बरको ट्याक्टरलाई ना.८ ख ६२२१ नम्बकरो ट्रकले ओभरटेक गर्ने क्रममा सोमबार साँझ ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका–११ बस्ने २२ वर्षीय बिनोद मग्रान्तिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा हुँदै थप उपचाका लागि जनसेवा अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    
पाल्पा, तानसेन नगरपलिका–५ तिलाकुरीस्थित सडकमा लु.२ ख १८५४ नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनवल नगरपालिका–३ बस्ने ३२ वर्षीय मधु मर्पाङ मगरको घटनास्थलमै मृत्यु भएको छ । 
    
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।