अस्पतालमै बिरामी छाडेर भाग्छन् कुरुवा

अस्पतालमै बिरामी छाडेर भाग्छन् कुरुवा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७५

काठमाडौं । कडा खालको मानसिक रोगको उपचारका लागि दाजुसँग लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन् । एक महिनाअघि दाजुभाइसँगै अस्पताल आए पनि दुई साताअघि दाजुले छाडेपछि युवक अहिले अस्पतालमै छन् । मानसिक रोगका बिरामी भएकाले ठेगाना कहिले कता त कहिले कता भन्ने गरेकाले पत्ता लगाउन नसकिएको अस्पतालले बताएको छ । युवकका दाजु औषधि किन्न भन्दै निस्के पनि त्यसपछि फर्किएका छैनन् । 

मानसिक अस्पतालमै दुई महिना भर्ना भएका अर्का एक व्यक्तिलाई पनि उनका छोराले अस्पतालमै छाडेर सम्पर्कविहीन भएका थिए । काम देखाएर अस्पताल बाहिर निस्किएका उनी साँझसम्म नफर्किएपछि अस्पतालले खोजी ग¥यो । अस्पतालमा भएको नम्बरमा फोन गर्दा फोन बन्द रहेको थियो । एक महिनाअधि मात्रै बिरामीले दिएको ठेगानाका आधारमा सम्पर्क गर्दा फोन उठेन । उनी आफैँले दिएको ठेगानाका आधारमा परिवार फेला पारेर अस्पतालले अहिले उनलाई घर फर्काइदिएको छ । 

मानसिक रोगका उपचारका लागि आफूसँगै ल्याएका आफन्तले छाडेपछि अलपत्र परेका तीन बिरामी अहिले अस्पतालमा छन् । महिनैपिच्छे दुई÷चार बिरामी परिवारका सदस्य वा आफन्तले छाडेर अलपत्र हुने गरेको अस्पतालले जनाएको छ । ती बिरामीको उपचार गर्दै आफन्तको खोजी गरिने प्रमुख कन्सल्टेन्ट साइक्राट्रिस्ट अनन्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार साथमा लिएर आएका बिरामी छाडेर कुरुवा भाग्ने अस्पतालमा समस्याका रुपमा रहेको छ । उहाँका अनुसार बिरामीका बुबाआमा, छोराछोरी, दिदीबहिनी, दाजुभाइलगायत नजिकैका आफन्तले नै उनीहरुलाई उसै छाडेर भाग्ने गरेका छन् । लामो समयदेखि मानसिक रोग लागेका बिरामीलाई यहाँ छाडेपछि उपचार पनि हुने र फर्किएर पनि नआउने आफन्तले सोच्ने उहाँले बताउनुभयो । 

अस्पतालले बिरामीको उपचार भएपछि उसलाई नै ठेगाना सोधेर आफन्तको खोजी गर्दै आएको छ । बिरामीले दिएको सूचनाका आधारमा प्रहरीमार्फत् उनीहरूको घर खोजी गर्ने गरिएको उहाँले बताउनुभयो । 

अस्पतालमा कुरुवाले बिरामी छाड्ने समस्यासँगै बिरामी आफैँ अस्पतालबाट भाग्ने समस्या रहेको अस्पतालले जनाएको छ । बिरामीले आफूलाई केही नहुँदा पनि जबर्जस्ती बिरामी भनेको भन्दै भाग्ने गरेका छन् । 

पचास शैयाको यो अस्पतालमा भर्ना हुन आउने बिरामीको चाप बढिरहँदा शैया कहिल्यै खाली नहुने अस्पतालले जनाएको छ । अस्पतालको बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी उपचारका लागि अस्पताल आउने खबर राससमा छ ।