पाँच हजार प्रजातिका जनावरहरू लोप हुने अवस्थामा
फाल्गुन २०, २०७६

आज ३ मार्च अर्थात्  विश्व वन्यजन्तु दिवस । वन्यजन्तुहरूको संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । 

संसारभरका जंगली जनावर र बिरुवाहरूको महत्त्व दर्शाउँदै विश्व समुदायलाई जागरूक बनाउने हेतुले विश्वका विभिन्न देशहरूमा विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइन्छ ।  हरेक वर्षको ३ मार्चको दिन संयुक्त राष्ट्र संघको आह्वानमा विश्व वन्यजन्तु दिवस मनाउने  गरिन्छ । 

आजकै दिन संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र थाइल्याण्डको पहलकदमीमा सन् २०१३ मा एक सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनमा  जंगली जनावर तथा बिरुवाको अन्तर्राष्ट्रिय व्यापार बढिरहेको ठहर गरिएको थियो । यसरी बढिरहेको वन्यजन्तुहरूको व्यापार रोक्न मात्र होइन, विभिन्न कारणले संकटमा परेका वन्यजन्तुको संरक्षणका बारेमा  व्यापक समीक्षा र परामर्श भएको थियो । 

उक्त समीक्षापश्चात् विभिन्न देशहरूमा संरक्षणमैत्री निकुञ्जहरू निर्माण गरिएका छन् । यस्ता निकुञ्जहरूमा भन्दा फरक वन्यजन्तु आरक्षण क्षेत्र र सिकार आरक्षण क्षेत्र अलगअलग  निर्माण गर्ने अवधारणालाई अगाडि बढाइएको छ । 

यस प्रकारको संरक्षणको नीतिबाट आआफ्नो देशभित्र  पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधताको संरक्षणका लागि  उचित व्यवस्थापन र यसको सदुपयोग हुने वन्यजन्तु आरक्षणकर्मी र अभियन्ताहरू विश्वस्त हुने गरेका छन् ।

यस्ता नीतिबाट निकुञ्जहरूबाट स्थानीय वासिन्दाले पनि  पर्याप्त लाभ प्राप्त गर्ने अपेक्षासमेत राखिएको छ । त्यस बैठकमा भएको  बहसपश्चात् जंगली जनावर तथा बिरुवाहरूको अन्तर्राष्ट्रिय व्यापार बढिरहेको आँकडा प्रस्तुत गरिएको थियो । 

बैठकमा प्रस्तुत एक आँकडाअनुसार संसारमा भएका ३५ हजारभन्दा बढी जनावर र बिरुवाका प्रजातिको तत्काल  संरक्षणका लागि कदम चालिहाल्नुपर्ने भनेर निर्णय लिइएको थियो । उक्त बहसको निष्कर्ष ‘साइटिस’का रूपमा परिचित छ । 

विश्वमा नै वन्यजन्तु चोरी सिकारी बढिरहेको, मानवीय अतिक्रमणका कारण वासस्थान अभाव, मानिस र वन्यजन्तुबीचको द्वन्द्व, आखेटोपहारको अवैध व्यापारलगायतका कारणले वन्यजन्तु संरक्षण चुनौतीको विषय बन्दै आएको छ । यी र यस्तै चुनौतीबाट नेपाल पनि अछुतो हुने कुरै भएन । 

नेपाल वन्यजन्तु चोरी, सिकारी र तस्कारीका लागि स्रोत मुलुक भन्दा पनि ट्रान्जिटका रूपमा बढी उपयोग भइरहेको आरक्षणकर्मीहरूको भनाइ छ । नेपालमा मुख्यगरी खाग, खुर, छालाका लागि गैँडाको बढी नै सिकार गर्ने गरेको विभिन्न आँकडाले देखाउने गरेका छन् । त्यसैगरी छाला र हड्डीका लागि बाघ, चितुवालगायतको  सिकार गर्ने गरेको पाइन्छ । पित्त र नंग्राका लागि भालुको चेरी सिकार गरेको आँकडाहरूले देखाउने गरेका छन् । 

अहिले साइटिसका  अनुसार अन्तर्राष्ट्रिय अवैध व्यापारकै कारण लगभग पाँच हजार प्रजातिका जनावरहरू र २९ हजार २०० प्रजातिका बोट बिरुवाहरू लोप हुने अवस्थामा पुुगेका छन् । वन्यजन्तु चोरी, सिकारी र तस्कारीका लागि बहुमूल्य भएका कारण वन्यजन्तुको तस्करी हुने गरेको छ । 

हात्तीको दाह्रा, सालकको खबटा, हाब्रेकोे छाला, भालुको पित्त, बाघको छाला र हड्डी आदि र जीवित नै अजिङ्गर, सालक त्यस्तै पशुपन्छीमा हुचिल, लाटोकोसेरोलगायत चोरी, सिकारीको निशानामा पर्ने गरेका छन् । 

यस्तो कार्यमा स्थानीयवासीदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको गिरोहको संलग्नता रहँदै आएको छ । यसमा खटिने अन्तर्राष्ट्रियस्तरको गिरोहले दुर्लभ वन्यजन्तु र वनस्पतीको जानकारी दिने, चोरी। सिकारी गर्न प्रेरित गर्नेदेखि स्थानीयवासीलाई आर्थिक प्रलोभन दिनेसम्मको काम गर्ने गरेका छन् । यही गिरोहले दलाली वा मध्यस्थता गर्दै विदेशमा निकासीको प्रबन्धसमेत मिलाउने गरेको छ । 

वन्यजन्तुको कारोबारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, साइटिस महासन्धि, १९७५ ले अपराधको रूपमा लिएका छन् । यस्तो अपराध गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म जेल र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । 

यी जनावर र बिरुवाहरूलाई खतराको सूचीमा पर्न नदिन र अन्तर्राष्ट्रिय व्यापारले धेरै हदसम्म नियन्त्रण हुँदै गएको विभिन्न आँकडाहरूले देखाउने गरेका छन् साथै सबै सरोकारवाला निकायले आपसी समन्वयमा काम गरेको खण्डमा वन्यजन्तु तस्करी नियन्त्रण तथा न्यूनीकरण गर्न संभव रहेको विज्ञहरूको निष्कर्ष रहेको छ । 

प्रकृति संरक्षणको अभियानमा  सरोकारवाला  सबै पक्षले आआफ्नो जिम्मेवारी इमान्दारीका साथै निर्वाह गर्ने हो भने पक्कै पनि वन्यजन्तु तस्करी नियन्त्रण तथा न्यूनीकरणको क्षेत्रमा उल्लेख्य सुधार हुने निश्चित छ । प्रकृतिसँग प्रत्यक्ष रूपमा  जोडिएको यस विषयमा सबैको ध्यान पुग्न ढिला भइसकेको छ ।  

आजको दिन ती लोप हुन सक्ने प्रजातिहरूको संरक्षणका लागि पनि  साइटिस महासन्धि, १९७५ को पूर्ण परिपालनामा कडाइ गर्नु जरुरी छ । 

यस वर्षको विश्व वन्यजन्तु दिवसको मुख्य उद्देश्य भनेको पानीमुनि रहने विभिन्न प्रजातिका जीव तथा बिरुवाहरूको संरक्षण र तिनीहरूमा भविष्यमा आउन सक्ने सबै समस्याहरूका बारेमा ध्यान केन्द्रित रहेको छ । यस विषयमा विश्व समुदायलाई सचेत र जागरुक बनाउनु रहेको छ ।  

यो  विश्व मानवका लागि मात्र होएन, यहाँ रहेका हरेक प्राणीहरूको मानवकै जति अधिकार छ र हुनुपर्छ भन्ने विषयमा सन्देश प्रवाह गर्ने कुरामा उल्लेख्य योगदान दिन सक्ने अपेक्षा राखिएको छ ।