बेलझुन्डीमा प्रदेश पाँचकाे एक्स्पो सम्पन्न

बेलझुन्डीमा प्रदेश पाँचकाे एक्स्पो सम्पन्न

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २०, २०७६

दाङ ।   प्रदेश नम्बर–५, दाङको बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न भएको छ । प्रदेशमा लगानी ल्याउने उद्देश्यले प्रदेश–५ सरकारद्वारा आयोजना गरिएको एक्स्पो–२०७६ को मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको  थियो ।

एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश–५ लाई नमुना प्रदेशको रूपमा अघि बढाउने योजना रहेको बताउनु भएको थियो । उनले एक्सपोले प्रदेशभित्र रहेका सांस्कृतिक विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियाे । 

उद्घाटनका अवसरमा थारु, मगर तथा गन्धर्व जातिका लोकनृत्यका साथै मौलिक धुनहरु प्रस्तुत गरिएको थियो । यसका साथै थारु जातिको सखिया, झुम्रा, लाठी नाच, सोरठी, कौरा, टप्पा नृत्य प्रस्तुत गरिएको थियो । विभिन्न २७ विद्यालयका २४० जनाले विद्यार्थीद्वारा सामूहिक प्रस्तुत गरिएको थियो भने १६० जनाले मौलिक भेषभुषामा थाली नृत्य प्रस्तुत गरेका थिए । १२ वटा जिल्लाबाट आएका गन्धर्व समूहले सारङ्गीमा मंगल धुन, भजन धुन, भ्याउरे भाका र द्यौसी भाका सुनाएका थिए । विभिन्न गायक/ गायिकाले गीत गाएर सुनाउनस भएकाे  थियाे  ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सांगीतिक तथा सांस्कृतिक सहकार्य रहेको उक्त एक्स्पो १० फागुनबाट सुरु भई तीन दिनसम्म चलेको थियो । सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको संयोजन प्राज्ञ अशोक राईको रहेको थियो । उक्त एक्स्पोमा नवीनतम् प्रविधिको समेत प्रदर्शनी रहेको जनाएको थियाे ।