भारतीय प्रधानमन्त्री मोदी होली कार्यक्रममा सरिक नहुने जानकारी

भारतीय प्रधानमन्त्री मोदी होली कार्यक्रममा  सरिक नहुने जानकारी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २१, २०७६

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्षको होलीमा आँफु सहभागी नहुने निर्णय गर्नुभएको छ । 

भारतमा पनि कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि प्रधानमन्त्री मोदीले यस वर्षका कुनै पनि होलीका कार्यक्रममा सहभागी नहुने कुरा जानकारी गराउनुभएको हो । चिकित्सकहरुको टोलीले उक्त भाइरसबाट बच्नको लागि सल्लाह दिएपछि उहाँले यो निर्णय लिनुभएको हो । भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको र संक्रमण भएको आशंकामा ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जानकारी दिएका छन् ।

भारतमा सबैभन्दा पहिले केरलामा ३ जनामा संक्रमित देखिएको थियो । यी तिनै जना अहिले उपचारपछि  घर फर्किएका छन् ।  त्यसपछि आगरामा ६ जनामा संक्रमित भएको पाइएपछि उनीहरुलाई दिल्लीस्थित सफरदंग अस्पतालमा भर्ना गरिएको छ ।

त्यस्तै जयपुरमा इटलीका ६९ वर्षीया नागरिक एन्ड्री कार्लीलाई संक्रमित भएको पाइएको थियो । उनलाई ४ दिनपछि अस्पताल भर्ना गरिएको थियो । उनी लगायत २३ इटालियनलाई पनि दूतावासले निगरानीमा राखिएको जनाइएको छ ।

सम्भावित खतरालाई मध्यनजर गर्दैै दिल्ली सरकारले ३.५ लाख एन–९५ मास्कको व्यवस्था गरेको छ ।