पहिलो पटक मेडिको लिगल सेवा सञ्चालनको अनुमति पायो काठमाडौँ मेडिकल कलेजले

पहिलो पटक मेडिको लिगल सेवा सञ्चालनको अनुमति पायो काठमाडौँ मेडिकल कलेजले

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २१, २०७६

काठमाडौँ । नेपाल सरकारले पहिलो पटक  गैह्र सरकारी संस्था काठमाडौँ मेडिकल कलेजलाई मेडिको लिगल सेवा सञ्चालनको अनुमति दिएको छ । 

मेडिको लिगल सेवा हालसम्म  सरकारी अस्पतालहरूमा मात्र  सञ्चालन हुँदै आएको  थियो । 

काठमाडौँ मेडिकल कलेजले २०७६ फागुन २१ गते बुधवार एक प्रेस विज्ञप्ति  प्रकाशित गिर नेपाल सरकारले कलेज कै चाँगुनारायण नगरपालिका वडा नं २ भक्तपुर स्थित शिक्षण अस्पताल परिसरमा मिति २०७६ माघ १५ देखि लागु हुने गरी मेडिको लिगल सेवा सञ्चालनको अनुमति दिएको  जानकारी दिएको छ ।  

यस  मेडिको लिगल सेवा अन्तर्गत  उमेर प्रमाणीकरण,  घाउ जाँच र कुटपिट, जबरजस्ती करणी मानसिक अवस्था र  यातना जस्ता क्लिनिक मेडिको लिगल परीक्षणका अतिरिक्त शव परीक्षण समेत पर्ने कलेजले जनाएको छ ।  

कलेजद्वारा जारी विज्ञप्ति भनिएको छ-  'यो सेवा हालसम्म सरकारी अस्पतालहरूमा मात्र सीमित  रहेकोमा यस कलेजसँग रहेको विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, सेवा सञ्चालनका लागि आवश्यक  पर्याप्त  भौतिक संरचना र सो क्षेत्रमा यो सेवा सुरु भए पश्चात् स्थानीय जनले पाउने  शीघ्र सेवा जस्ता आधारभूत कारणहरूलाई मध्यनजर गरेर  गैह्र सरकारी क्षेत्रको यो संस्थालाई पहिलो नम्बरमा सेवा स्वीकृति प्राप्त भएको जानकारी यहाँ सगर्व गराइन्छ ।'

काठमाडौँ मेडिकल कलेजले  दिएको जानकारी अनुसार  काठमाडौँ मेडिकल कलेज  मेडिको लिगल केन्द्र दुवाकोटले उल्लेखित सेवाहरू २०७६ चैत्र १६ देखि सञ्चालनमा ल्याउने योजना तय गरिसकिएको छ ।