सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २२, २०७६

काठमाडौं । मकवानपुर, सप्तरी, सर्लाही, महोत्तरी र गोरखाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । 

मकवानपुर,गढी गाउँपालिका–२ गैरी भन्ज्याङस्थित सडकमा ना.३ ख३५५६ नम्बर बसको ब्रेक फेल भई बुधबार बेलुका दुर्घटना हुँदा बसमा सवार गढी गाउँपालिका–७ सुकौरा बस्ने ३५ वर्षीय सोम बहादुर रुम्बा लगायत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा घाइते भएका सोही गाउँपालिका सुकौरा बस्ने २४ वर्षीय सुरज लोको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १९ जनाको चुरे हिल अस्पताल हेटौंडामा र ३ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका अन्य २६ जना समान्य उपचार पश्चात डिष्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    
सप्तरी, राजगढ गाउँपालिका–५ मलेखपुरस्थित सडकमा ज.१ क६०२नम्बरको जेसिबीको ठक्करबाट भारत बंगाल घर भएका ईरसाद अलिको अन्दाजी २ वर्षीया अलमिनिया खातुनको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएकोहो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    
यसैगरी सप्तरी,बोदेबर्साईन नगरपालिका–१० खडकपुरस्थित सडकमा स.१० प ७९१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ स्वर्णपट्टी बस्ने ३८ वर्षीय बालेश्वर साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 
    
सर्लाही,कौडेना गाउँपालिका–२ चिरानमिलस्थित सडकमा बीआर ३० भी ०३७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कौडेना गाउँपालिका–२ बस्ने ७३ वर्षीया जानकी देबीलोहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारका लागि वीरगंजतर्फलैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    
महोत्तरी,बर्दिवास नगरपालिका–५ कालापानीस्थित सडकमा बा.४४ प६२२४ नम्बरको मोटरसाइकललाई स.१ च१८०९ नम्बरको गाडीले बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुलीकमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दिपक खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको जनसेवा अस्पताल बर्दीबास हुँदै थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 
    
गोरखा, आरुघाट गाउँपालिका–१ धोर्चेस्थित सडकमा ग.१ ज५०५ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर  बुधबार राति दुर्घटना हुँदा जिपमा सवार लमजुङ बस्ने २५ वर्षीय किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिप चालक गोरखा धार्चे गाउँपालिका२ बस्ने ३१ वर्षीय बाल चन्द्र गुरुङ सहित ७ जनालाई उपचारका लागि फेस नेपाल सामुदायिक स्वास्थ्य क्लिनिक धुन्चेत गोरखा पठाइएको छ । 
    
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।