खगेन्द्रको ‘पानी फोटो’ साउन ३० गतेबाट प्रदर्शनमा आउने घोषणा

खगेन्द्रको ‘पानी फोटो’ साउन ३० गतेबाट प्रदर्शनमा आउने घोषणा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन २२, २०७६

 काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘पानीफोटो’ को प्रदर्शन मिति तय भएको छ । 

निर्माण कम्पनी टुकी आर्ट्स प्रालि र मञ्जुश्री फिल्म प्रोडक्सनले आगामी साउन ३० गतेबाट प्रदर्शनमा आउने घोषणा गरेका हुन् । स्थापित लेखक तथा कलाकार खगेन्द्र लामिछानेले १५ वर्ष अगाडी सफल नाटक ‘पानीफोटो’ निर्देशन गर्नु भएको थियो ।  बेपत्ता छोराको पर्खाइमा बसेका आमा–बुबाको कथामा निर्देशित यस चलचित्रलाई दर्शकले निकै मन पराएका थिए । अहिले त्यहि नाम र कथामा नै चलचित्र निर्माण गर्नुभएको हो । 

कथा अनुसार चलचित्र काठमाडौँलगायत पश्चिम नेपालका बर्दिया, स्याङ्जा र रोल्पामा छायाङ्कन गरिएको छ । चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणि नेपाल, राधा श्रेष्ठ, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय हुने छ । ‘पानीफोटोमा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी रहेको छ भने दीपक बज्राचार्यको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।