यार्सागुम्बा बिक्री नहुँदा व्यापारी समस्यामा

यार्सागुम्बा बिक्री नहुँदा व्यापारी समस्यामा

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १९, २०७५

दार्चुला । यो वर्ष खरिद गरिएको यार्सागुम्बा बिक्री नभएपछि व्यापारी चिन्तित छन् । गत असारदेखि भदौसम्म खरिद गरिएकामध्ये झण्डै दुई क्विन्टलभन्दा बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र संकलक समस्यामा परेका छन् । 

संकलकले यार्सागुम्बा बेचेको रकम माग्न थालेपछि समस्यामा परेको व्यापारी बताउँछन् । यार्सागुम्बा व्यापारी तेजबहादुर बमले यो वर्ष खरिद गरेको झण्डै एक क्विन्टल यार्सागुम्बामध्ये आधा पनि बिक्री नभएको बताउनुभयो । ‘मैले झण्डै ९० किलोको हाराहारीमा यार्सागुम्बा खरिद गरेँ । तर, ३०/३५ किलो जति मात्रै बिक्री भएको छ,’ उहाँले भन्नुभयो । आफूले यार्सागुम्बाको गुणस्तर हेरी प्रतिकिलो १७ लाखदेखि २४ लाख रूपैयाँमा खरिद गरेको उहाँले बताउनुभयो । तर, काठमाडौंमा प्रतिकिलो १० लाख रूपैयाँमा पनि बिक्री हुन मुस्किल भइरहेको उहाँको भनाइ छ । चीनका व्यापारीले यार्सागुम्बा मूल्य घटाएपछि असर परेको व्यापारी बताउँछन् । 

यार्सा बेच्न काठमाडौं पुगेर फर्किएका अधिकांश व्यापारी मूल्य नमिलेको भन्दै निरास छन् । व्यापारी सोभानसिंह ठगुन्ना भन्नुहुन्छ, ‘एक महिना काठमाडौँ बस्दा पनि यार्सा बिक्री भएन । अब बैंक तथा आफन्तको ऋण तथा संकलकलाई तिर्नुपर्ने रकम कसरी तिर्ने ?’  उहाँका अनुसार साना–ठूला सबै व्यापारी अहिले यार्सागुम्बा बिक्री नहुँदा समस्यामा छन् । उहाँ भन्नुहुन्छ, ‘अहिलेकै अनुपातमा यार्सागुम्बा बिक्री गर्ने हो भने एक करोड रूपैयाँ घाटा हुँदैछ । अहिले यार्सागुम्बा काठमाडौं, पु¥याएर राखिएको छ । अधिकांश व्यापारीले भने अझै जिल्लामै यार्सागुम्बा थन्क्याएका छन् । व्यापारीका अनुसार झण्डै दुई क्विन्टल यार्सागुम्बा जिल्लामै छ । अहिलेसम्म यस्तो अवस्था कहिल्यै नभएको उहाँले बताउनुभयो ।  

यार्सागुम्बा बिक्री नभए सडेर जाने तथा किरा लाग्ने चिन्ता थपिएको अर्का व्यापारी धनसिंह जागरीले बताउनुभयो । 

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी राजु घिमिरेका अनुसार हालसम्म जिल्लाबाट ५५५ किलो यार्सागुम्बा निकासी गरिएको छ ।  कार्यालयले यो वर्ष यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०७३ अनुसार ८२० क्विन्टल यार्सागुम्बा निकासी गर्न सकिने उल्लेख छ ।

सूचना अधिकारी राजु घिमिरेले व्यापारीको मागअनुसार यार्सागुम्बा निकासीको परिणाम बढाइएको बताउनुभयो । उहाँका अनुसार साउन/भदौमा जिल्लाका व्यापारीले यार्सागुम्बा खरिद गरेका थिए । तर, उहाँहरूले मूल्य नपाएको भन्दै अझै यार्सागुम्बा बाहिर लगेका छैनन् ।

दुहुँका यार्सागुम्बा सङ्कलक करवीरसिंह कुँवर व्यापारीले लिएको यार्सागुम्बाको रकम हालसम्म नदिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘कतिपय व्यापारीले नगद दिएर यार्सागुम्बा खरिद गरेका थिए, कतिले काठमाडौँमा बिक्री भएपछि दिन्छु भनेर लगेका थिए । उक्त रकम अझै पाइएको छैन ।’ व्यापारीले रकम नदिँदा उधारो रकम तिर्न पनि मुस्किल रहेको उहाँले बताउनुभयो । 

दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतको रुपमा यार्सागुम्बा र जडीबुडी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ । 

हरेक वर्ष जिल्लाबाट छदेखि आठ क्विन्टल बढी यार्सागुम्बा निकासी हुने गरेको छ । कार्यालयले यो वर्ष यार्सागुम्बाको निकासीवापत एक करोड ६३ लाख ५० हजार राजश्व सङ्कलन गरेको खबर नरेन्द्रसिंह कार्कीले लेख्नुभएको छ ।