कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २३, २०७६

खलङ्गा । कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेका छन्  । लामो समयसम्म कामको गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका यहाँका पुल निर्माण कार्य धमाधम भइरहेका छन् ।

केही पुल निर्माण भइसकेका छन् भने धेरै पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तीव्र गतिमा काम भइरहेको छ । विशेष गरी कर्णालीका जुम्ला, कालिकोट र मुगुको मुख्य आधारका रुपमा रहेको कर्णाली राजमार्गका पुल निर्माणपछि आवतजावत गर्ने यात्रुलाई सहज हुने जुम्ला पातारासी गाउँपालिका वडा नं ३ का रामबहादुर ऐडीले बताउनुभयो ।

जुम्ला र कालिकोट खण्डका नौ निर्माणाधीन पक्की पुलमध्ये खल्लागाड बालीघाट, सिम्लेमा र छेडेनामा काम सम्पन्न भएर गाडी गुडेका डिभिजन सडक कार्यालय जुम्लाका इञ्जिनीयर दीपक विकले बताउनुभयो । उहाँका अनुसार अन्य पुल असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी दु्रतगतिमा काम भइरहेको छ । कर्णाली करिडोर जोड्ने खुलालु पुल र सेरी पान्तडी पुल भने ठेक्कामा जाने तयारी भइरहेको छ । 

यसैगरी कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका नौ पुलमध्ये बोडखोला र कुमाले खोलामा निर्माण सम्पन्न भई गाडी गुडिसकेका सडक डिभिजनले जनाएको छ । दैलेख खण्ड सडक डिभिजन सुर्खेतले हेरिरहेको छ भने जुम्ला कालिकोट खण्ड जुम्लाको जिम्मामा रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

दैलेख खण्डका पातलेखोला, लाम्चुलीखोला, मानेखोला, पुवाखोला, कालेखोला, पाल्तडाखोला, कानेगाड, दहीखोला र गुहेखोलाको काम असारसम्म सकिने गरी काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर देवेन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष धेरैजसो पुलका निर्माण व्यवसायीलाई काम समयमा नगरेमा कालोसूचीमा राख्ने वा सम्झौता रद्द गर्ने पटकपटक निर्देशन गरेपछि काम समयमै भइरहेको जानकारी दिनुभयो ।

थप कालोपत्र      

यसैगरी कर्णाली राजमार्गको धेरै भाग कालोपत्र पछि उम्किएपछि धुलो र हिलोले हैरान बनाउने समस्याका लागि पनि काम थालिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । कालिकोट खण्डको ४० किलोमिटर कालोपत्र माथि फेरी कालोपत्र गर्ने तयारी भइरहेको छ । दहीखोला नजिकको पहिरो व्यवस्थापनका लागि योजना बनाई काम शुरु गरिने डिभिजन जुम्लाले जनाएको छ ।

यसैगरी सुर्खेत, बड्डिचौर हुँदै तल्लो डुगेश्वरसम्मको पाँच किलोमिटर धुलाम्मे छ । अब ग्राभेल गरी कालोपत्र गर्ने योजना रहेको बताइएको छ । दैलेख खण्डमा बढी कालोपत्र उम्किएर हैरान भएकाले रु सात करोडको कालोपत्रका लागि ठेक्का गरी काम थालिएको सडक डिभिजन सुर्खेतले जनाएको छ । जुम्ला खण्डको टाकुल्लाको पुल भने लामो समयदेखि विवादित भएकाले काम शुरु भएको छैन् । पक्की पुल निर्माण भएका जुम्ला, कालिकोट, मुगु विशेष गरी यस क्षेत्रको पर्यटकीय धरोहर राराताल र सिञ्जा, जुम्ला बजारमा पर्यटकलाई आउन थप सहज हुनेछ ।