अज्ञात रोगले विद्यार्थी बिरामी

अज्ञात रोगले विद्यार्थी बिरामी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २३, २०७६

डोटी । दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिनुभयो । 

उहाँका अनुसार विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा र्‍याल जस्तो पानी बग्ने गरेको छ । विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि नजिकै रहेको गड्सेरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरे पनि निको नहुँदा अहिले विद्यार्थी बडीकेदार गाउँपालिका– १ बिपिनगरमा रहेका स्वास्थ्य चौकी तथा कैलालीतर्फ उपचारका लागि लैजाने तयारी गरिएको सो विद्यालयका अर्का शिक्षक प्रेमबहादुर बोगटीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विद्यार्थी सबै बिरामी परेका छन्, विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ, उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले विद्यार्थी कसरी र के कारणले बिरामी परेका हुन् सो विषयमा बुझ्न तथा उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।