तीन गाउँपालिकामा समयमै पाठ्यपुस्तक

तीन गाउँपालिकामा समयमै पाठ्यपुस्तक

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन १९, २०७५

हुम्ला । जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका तीन गाउँपालिकाले यो वर्ष आफ्ना गाउँपालिकाभित्र पर्ने विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि समयमा नै पाठ्यपुस्तक भित्र्याएको हो ।  

हिमाली जिल्लामा फागुनबाट शैक्षिक सत्र सुरु हुन्छ । हुम्लामा फागुन २ गतेबाट शैक्षिक सत्र सुरु भएको छ । पाठ्यपुस्तक सिमकोट बजारका स्टेसनरीमा आइपुगेका छन् । तर, हिमपातले पठनपाठनमा समस्या बनाएको छ । 

जिल्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक ल्याउने जिम्मा लिएको साझा प्रकाशनका वितरक रोकाया पुस्तक पसलले यो वर्ष समयमा नै पाठ्यपुस्तक जिल्लामा पुगाएको छ । 

जिल्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाले फागुन १७ गतेसम्म विद्यार्थी भर्ना मिति रहेकाले अब फागुन २० गतेबाट विद्यालयमा पठनपाठन कार्य सुरु गरिने मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो । यो वर्ष समयमा नै पाठ्यपुस्तक जिल्लामा पुगेकाले विद्यार्थीलाई पठनपाठन गर्न सहज हुने भएको प्रधानाध्यापक शाहीले बताउनुभयो । 

पुस्तक पसलबाट विद्यालयको विद्यार्थी सङ्ख्या हेरेर पाठ्यपुस्तक जिम्ला लिएर वितरण गर्ने व्यवस्था रहे पनि जिल्लाको भौलिक कठिनाइ, पुस्तक ढुवानीको समस्याले गर्दा विद्यार्थीले आफैँ किनेर लिने र पछि विद्यालयले बिल बराबरको रकम उपलब्ध गराउने गरेको शाहीले बताउनुभयो । 

सरकारले माध्यामिक तहसम्मको पठनपाठन निःशुल्क गरेसँगै विद्यार्थीले पुस्तक निःशुल्क पाउने गरेका छन् । रोकाया पुस्तक पसलबाट तीन वटा गाउँपालिकामा अध्यनरत विद्यार्थीले पुस्तक खरिद गरिरहेको पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले बताउनुभयो । यस वर्ष आफूले जिम्मा लिएको हुनाले तीनवटै गाउँपालिकामा पाठ्यपुस्तक अभाव हुन नदिने सञ्चालक रोकायाले बताउनुभएको खबर राससमा छ ।