हङकङद्वारा मलेशिया पराजित

हङकङद्वारा मलेशिया पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २३, २०७६

मलेशियालाई पराजित गर्दै हङकङ एसीसी एशिया कप छनोट प्रतियोगिताका लागि छनोट भएको छ । थाइल्यान्डमा सम्पन्न एसीसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटमा हङकङले मलेशियालाई छ विकेटले पराजित गरेको हो । यस प्रतियोगिताबाट शीर्ष दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको छ । हङकङ उपविजेता बन्दै एशिया कपमा छनोट भएको हो ।

थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा आज सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा मलेशियाले जितका लागि दिएको १३३ रनको लक्ष्यलाई हङकङले १८ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । हङकङका शाहिद वासिफले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जेम्स जोनले अविजित ३३ रन बनाउनुभयो । बलिङतर्फ मलेशियाका पवनदीप सिंहले दुई विकेट लिनुभयो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो । उसका लागि भिरणदिप सिंहले ३३, सायद अजिजले ३० तथा खिजार हायतले २२ रन बनाउनुभएको थियो । हङ्कङका मोहमद अजिज खानले दुई विकेट लिनुभयो । हङकङले चार खेलमा छ अङ्क जोडेको हो । प्रतियोगिताको उपाधि भने सिङ्गापुरले जित्यो । सिङ्गापुरले सात अङ्क जोड्दै उपाधि जितेको हो ।

आजै हुने भनिएको नेपाल र सिङ्गापुरबीचको खेल वर्षाका कारण टस नै गर्न नपाइ रद्द भएको थियो । वर्षाले मैदान खेल्न योग्य नभएपछि दुवै टोलीले एक÷एक अङ्क बाँडेका थिए । नेपाल भने यसअघि नै प्रतियोगितबाट बाहिरिएको थियो ।