एसइई यथावतरूपमा सञ्चालन हुने शिक्षा मन्त्रालयद्वारा जानकारी

एसइई यथावतरूपमा सञ्चालन हुने शिक्षा मन्त्रालयद्वारा जानकारी

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन २३, २०७६

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा नसरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले २०७६ फागुन २३ गते शुक्रबार विज्ञप्ति जारी गरी कोरोना भाइरसका कारणले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एसइई परीक्षा स्थगित भएको र विद्याय बन्द गर्ने भन्ने गलत समाचार प्रवाह भइरहेकाले उक्त परीक्षा यथावतरूपमा नै सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्नेजस्ता गलत सूचनाको भ्रममा नपर्नसमेत अनुरोध गर्नुभएको छ ।

विज्ञप्तिमा मन्त्रालयले स्थितिको नियमित समीक्षा र विश्लेषण गरिरहेको जनाउँदै आवश्यकता एवं औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालय र अन्तर्गतका निकायका आधिकारिक वेभसाइटमार्फत तथा सञ्चारमाध्यमद्वारा त्यस्तो सूचना शीघ्र सम्प्रेषण गरिने व्यहोरासमेत जानकारी गराउनुभएको छ । मन्त्रालयले यसअघि नै कोरोना भाइसरका कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्न विद्यालयलाई निर्देशनसमेत गरिसकेको छ ।