काठे तराजु र ढुङ्गे ढकः हाटबजारमा उपभोक्ता ठगिँदै

काठे तराजु र ढुङ्गे ढकः हाटबजारमा उपभोक्ता ठगिँदै

रासस  |  कारोबार  |  फाल्गुन २४, २०७६

महोत्तरी ।  चाडपर्वका बेला महोत्तरीका बजारमा परम्परागत काठे तराजु र ढुङ्गे ढक विस्थापित नहुँदा उपभोक्ता तौलमा ठगिने गरेका छन् ।

अहिले ‘होरी’ (फागू) पर्वको सामान किन्न बजारमा उपभोक्ताको भीड लाग्दा जिल्लाका हाट बजार र ग्रामीण बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि  उपभोक्ता तौल र गुणस्तरमा ठगिने गरेका हुन् ।

काठे तराजु र ढुङ्गे ढक कानूनले बन्देज लगाए पनि जिल्लाका साप्ताहिक हाट (साताका निश्चित दिन र ठाउँमा लाग्ने हाटबजार) मा त्यस्ता ढकको प्रयोग बाक्लो छ । खासगरी साप्ताहिक हाटमा चौरमा फिँजाएर राखिने किराना पसल र तरकारी बेच्नेले परम्परागत ढक नै प्रयोग गर्ने गरेका उपभोक्ताको गुनासो छ ।

'हटियाबाट किनेर ल्याइएको तरकारी कहिल्यै पुरा तौलको हुँदैन', बर्दिवास नगरपालिका–२ की गृहिणी उमा परियार भन्नुहुन्छ, 'पुरानो युगको ढक तराजु फेर्न कसैले वास्ता गर्दैनन् ।' स्थानीयतहका नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा बजार अनुगमनका लागि दक्ष प्राविधिक, स्थानीय उद्योग वाणिज्य सङ्घ र उपभोक्ता हकहितका लागि भनेर गठन गरिएका संस्थाका प्रतिनिधिसहितको बजार अनुगमन समिति रहने व्यवस्था रहे पनि बजार अनुगमनले निरन्तरता नपाउँदा उपभोक्ता ठगिने क्रम नरोकिएको हो । सर्वसाधारण उपभोक्ता तौलमा मात्र नभएर वस्तुको गुणस्तरमा पनि ठगिने गरेका बर्दिवास–२ कै सामाजिक, राजनीतिक कार्यकत्र्ता गुञ्ज खड्का बताउनुहुन्छ ।

अहिले ‘होरी’ (फागू) पर्वको तयारीमा जिल्लामा स्थायी हटियामात्र नभएर प्रत्येकजसो बस्ती/बस्तीका चउर र चोकमा बजार बढेका छन् । पर्व विशेषका सामानको जोहो गर्न सर्वसाधारणको भीड बजार क्षेत्रमा बढ्दो छ तर, बजार अनुगमन गर्ने निकायको उदासीनताले आम उपभोक्ता गुणस्तर मापन नगरिएका वस्तु तौलमै कारोवार गर्न विवश छन् । साप्ताहिक हटियाबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका सामान र तरकारी घरमा ल्याएर तौलदा सधैँ घट्ने गरेको जिल्लाकै भङ्गाहा नगरपालिका–४ की गृहिणी मेरो सहनी बताउनुहुन्छ । किनेर ल्याइएका खाने तेल, चामल, पिठो, मैदा र धुलो मसलासहितका खाद्यवस्तु राम्रो भनेर ल्याएपनि बेस्वादको हुने गरेको उपभोक्ता बताउँछन् । 

स्थानीयतहका बजार अनुगमन समितिले वर्षको एकाध पटक बजार अनुगमन गरेको देखाइए पनि यो विधि पूरा गरेकोजस्तै भएको उपभोक्ताको गुनासो छ । 'राष्ट्रिय महत्वका चाडपर्वका बेला मान्छेलाई देखाउन गरी कुनै बेला एक दिन बजार अनुगमन गरेको देखिन्छ', जिल्लाको औरही नगरपालिका टिम्कीया बस्तीका युवा सत्यनारायण यादव भन्नुहुन्छ, 'बर्षमा एकाध पटक नाटक मञ्चन गरिए जसरी गरिने बजार अनुगमनले उपभोक्ता वर्षभरि ठगिने क्रम कसरी रोक्न सक्छ ?' यो नियमित प्रक्रियामा नढालिएसम्म बजार नसुध्रने उहाँको गुनासो छ । 
  
बजारक्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामको ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको हुने गरेको जिल्लाकै गौशाला नगरपालिका–८ बेलगाछीकी मञ्जु विश्वकर्मा बताउनुहुन्छ । परम्परागत तराजु र ढुङ्गे ढकको तौलमा सामान लिनुपर्दा एक किलोग्राममा २०० ग्रामसम्म कम हुने गरेको उपभोक्ताको भनाइ छ । बजार र पसलमा नापतौलका एकाइ ढक र तराजुको अनुगमन गर्ने जनकपुरस्थित नापतौल गुणस्तर कार्यालय र जिल्लाकै खाद्य गुणस्तर जाँच्ने जलेश्वरस्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय प्रशासन, जिल्लाका उद्योग वाणिज्य सङ्घ र स्थानीयतहले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको सामाजिक, राजनीतिक कार्यकर्ताको गुनासो छ । प्रचलित कानूनी व्यवस्थाअनुसार अनुगमन गर्ने अधिकार र दायित्व पाएका अधिकारी, सङ्घ, संस्था र निकायको उदासीनताले बजारमा बेथिति बढेको नेपाली काँग्रेस बर्दिवास नगर समितिका सचिव युवराज पोखरेल बताउनुहुन्छ ।

बर्दिवास उद्योग वाणिज्य सङ्घले नापतौलका लागि प्रमाणिक ढक, तराजु वितरणका लागि नापतौल गुणस्तर कार्यालय, जिल्ला प्रशासन कार्यालय र खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय जलेश्वरसँग समन्वय गरेर प्रामाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि अपेक्षित सङ्ख्यामा व्यापारी सम्पर्कमा नआएको बताइएको छ । प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले यसलाई सुधार्न सघन अनुगमन र कारर्वाही आवश्यक भएको सङ्घका महासचिब भवनाथ खतिवडाको भनाइ छ ।

खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय स्थापना भए पनि सो कार्यालय सदरमुकाम जलेश्वरभन्दा बाहिर निस्कन नसकेको आम गुनासो छ । जलेश्वरमै पनि दशैँतिहार र छठ पर्वताका दुई/चारवटा पसल पुग्नेबाहेक बजारमा खाद्य वस्तुको गुणस्तर उपभोक्ताले सुधार महसुस गर्ने गरी अनुगमन नभएको जलेश्वर–१ का सामाजिक कार्यकर्ता विनोद पासवान बताउनुहुन्छ ।

यसैबीच जलेश्वरस्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार, हाट र स्थायी पसलमा विभिन्न निकायको समन्वयमा वस्तुको गुणस्तर अनुगमन गरिँदै आएको जनाएको छ । आवश्यक जनशक्ति नहुँदा सबै स्थानीयतह (१५ वटा) मा रहेका करिब २०० सङ्ख्याका हटियामा सघन अनुगमन गर्न भने नभ्याइएको कार्यालयको स्वीकारोक्ति छ । 

गोपालप्रसाद बराल