प्रज्वल अधिकारी | साहित्य | फाल्गुन २४, २०७६
गर्भाधान भएदेखि नै गरिएका
तमाम शंकाहरूलाई पूर्ण रूप दिएर
जब जन्मिन्छे छोरी
तब देखिन्छ-
खडेरीले फुङ्ग उडेको जमिन जस्तो बाबुको अनुहार !
अलपत्र पर्छन् तमाम खेलौनाहरू
जस्तो-
बन्दुक, रेल गाडी, जहाज...
मन नलागी नलागी किनिन्छ
पुतली,भाँडाकुटीका सामान, ऐना, काइँयो !
सुत्केरी कोठामा देखिन्छ
हाँसो र आँसु घोलिएको आमाको अनुहार
मन बुझाउन बाबुले छातीमा ढुङ्गा राखेर भन्छन्-
'घरमा लक्ष्मीको प्रवेश भयो !'
दिनदिन बढ्दै गएकी छोरी
जब रजस्वला हुन्छे
तब देख्छ सृष्टिले हरियो भविष्य
जसरी पहरामा मूल फुटेपछि
फाँटहरूले देख्छन् हरियो बिपना ।
नारी, प्रकृतिको अनुपम सिर्जना...
सम्झना बिर्सना... ।
हरेक रजस्वलामा यो दूषित सोचको सत्ताबाट
केही परै बसेर कल्पना गरेकी हुन्छे-
नयाँ युग, नौलो दुनियाँ र परिवर्तन ।
दुनियाँ रणमैदानमा होमियो भने पनि
जोगाउनुपर्छ-
नारीहरू र बच्चाहरू
जसरी जोगाउनुपर्छ अनिकालमा बिउ ।
सरकार !
तिमी जति चिच्याए पनि
एउटी नारीको पाठेघर बलियो नबनेसम्म
बन्दैन-
तिमीले सोचेको नयाँ नेपाल !