डा. घनश्याम परिश्रमीको गजल

डा. घनश्याम परिश्रमीको गजल

डा. घनश्याम परिश्रमी  |  साहित्य  |  फाल्गुन २४, २०७६

नजिकमा जाे रहन्छन् ती नयनमा पस्तछन् ज्यादा
निकै आत्मीय टाढाका हृदयमा बस्तछन् ज्यादा 

बुझाऊँ भन्छु उनलाई सबक केही सिकाएरै
कुरा कसरी बुझून् उनले सुरामा मस्त छन् ज्यादा

पुरानाले बुझेका छन् कमै देखाउँछन् फुर्ती 
नयाँ जाेगीहरूले नै खरानी घस्तछन् ज्यादा

जमाना बद्लियाे भन्दै स्वयं पाे बद्लियौँ हामी 
त्यसैले मान्यता हाम्रा भएका ध्वस्त छन् ज्यादा

स्वयं चढ्नेहरूमा हुन्छ हिम्मत, आत्मबल हुन्छ 
सहाराले चढेका माथि जाे हुन् खस्तछन् ज्यादा ।