एउटा परदेशीलाई सम्झेर
फाल्गुन २४, २०७६

प्रभातले सप्को खोल्न नभ्याउँदै
दुई-चार धर्का मिरमिरे भुइँमा खस्न नपाउँदै 
गर्भिणी क्षितिजहरू 
चिसो घाम कोरल्छन् 
लाखिएर पल्लो भूखण्ड पुग्छन् 
अपांग शरणार्थी सपनाहरू । 

घामसँगै ओहोरदोहोर गर्ने दिनहरू
त्यो जूनको बलेसी
 झ्याल ढोका छलेर चिहाउने हावाका झोक्काहरू
मौसमका बहार
पिठ्युुँभरी थकाइ थाप्ने चौतारी 
फुर्सदका कल्पना 
फूलको महक 
पालममा तमूल स्वर
खर्कको सेलो
बेठीका सुरम्य 
उत्ताउला रत्यौलीहरू 
मारुनी, हाकपारे
बालन र च्याब्रुङ 
दशैँको मालश्री
तिहारको सयपत्री, मखमली मेला
देउसी र भैलो
बकर इदको अँगालो 
सबैसबै पोको पारी
उतै लगेछौ 
फगत छाडेछौ झझल्को अल्झाइराखेर यो भूगोलभरि । 

कतिन्जेल झुक्याउनु निर्मल आँखाहरूलाई 
ऊ त्यो मूलबाटोको हरियो मन देखाउँदै 
प्रतीक्षालयमा कुराएर । 

फेरि यो निष्ठुर कालचक्रले भेट्टाउँछ भेट्टाउँदैन
मैले मेरो देश हुँदै सगरमाथाको अटाली निस्केर
यो सन्देश पठाएको छु 
भोलि हेर्ने ऐनाहरू
जतनले जोगाई राख्नू भनेर 
कसै गरी सुनाइदिनू एउटा परदेशी सम्झेर ।