बाको च्यातिएको छाला

बाको च्यातिएको छाला

उषा आचार्य  |  साहित्य  |  फाल्गुन २४, २०७६

बा
बरु टुनीले वर्षैपिच्छे बोक्रा फेर्छ
ढुकुरले पटक पटक जोडी फेर्छ
सबैको जुनी फेरिन्छ बा
म देखिरहेछु 
हजुरको च्यातिएको छाला
वर्षौंदेखि उस्तै छ
कहिले फेर्नुहुन्छ ?


बा कति लोभी हुनुहुन्छ ?
भन्नुहोस् छालाको मूल्य कति छ ?
न गरा गहिराउँदा गहिराउँदै हजुरकै जीवन गहिराइदिने
हलोको फालीले बताउन सक्यो
न त हजुरको फाटेको कुर्कुच्चामा 
प्याट्टप्याट्ट पिट्ने चप्पलले भन्न सक्यो
न त खेतका कान्लामा 
मुसाका दुला टालिएझैँ टालिएका 
लुगाले बताउन सक्यो
त्यसैले बा
हजुर नै बताउनुहोस् न
छालाको मुल्य कति छ ?

बा
म पर्खिरहेछु 
तपाईंको फेरिएको छाला हेर्न
सायद छालासँगै जीवन पनि फेरिन्छ कि ?

तर अहँ,
बरु टुनीले वर्षैपिच्छे बोक्रा फेर्छ
ढुकुरले पटक पटक जोडी फेर्छ
सबैको जुनी फेरिन्छ बा
म देखिरहेछु
हजुरको च्यातिएको छाला
वर्षौंदेखि उस्तै छ
कहिले फेर्नुहुन्छ ?