शनैश्चराय नमः

शनैश्चराय नमः

रूपक अलङ्कार  |  साहित्य  |  फाल्गुन २४, २०७६

काम भए नि नभए नि समय बिताउनका लागि मेरो अफिस छ । अफिस भन्नु पनि के हो र, कुनै विशेष कामको होइन । यसो भेटघाटका लागि ।

जागिरबाट बचेखुचेको समय यही अफिस नामको कोठामा बिताउनु मेरो अर्काे जागिर हो । बिहान–बेलुका टहलिनका लागि ठेगाना भएको छ अफिस । ढोकामाथि नक्षत्र ज्योतिष सेवाको बोर्ड पनि टाँगेको छु, जसमा लेखिएको छ– पं. चिदानन्द आत्रेय ।

यहाँ आइपुगेका मानिसका ग्रहदशा, भूत, भविष्य र तिनका समस्याको समाधान निकाल्ने क्षमता मसित छ भन्ने कुरामा मलाईभन्दा उनीहरूलाई नै उग्र विश्वास छ ।

हुन पनि बिहानको कलेज र बेलुकाको ट्युसनको दोहोरो र सन्तोषजनक आम्दानीलाई लत्याएर यस कार्यालयको श्रीगणेश गरेको हुँ  । तहाँ उप्रान्त विविध व्यहोराका मानिससित भेट गर्ने अवसर पाएँ । आम्दानीको कुरा नगरौँ । व्यवसाय सधैँ समान हुँदैन । चौपट हुने कुरै भएन । अन्यत्र जतिजति चौपट हुँदै जान्छ, मेरो अफिसमा उतिउति भीड बढ्दै जान्छ ।

हाम्रो जस्तो रुढीबुढी, धोकाधडी, बेरोजगारी जस्ता सदावहार वनस्पतीले हरियो भइरहने देशमा यस्तो व्यवसाय दिन दुई गुणा, रात चौगुणा समृद्ध हुन्छन् भन्ने पनि जानिसकेको छु ।

पहिले पहिले त मानिसको जन्मकुण्डली हेरेर मात्र उसको भूतवाणी र भविष्यवाणी गर्न सक्थेँ । अब भने मान्छेको निधार, उसको धड्कन, कानको झुम्का, नारीको ब्रासलेट, ढोकामा फुकालेको जुत्ता र शरीरबाट आएको अत्तरबाट पनि भविष्यवाणी गर्न जान्ने भएको छु । अनुभवले नजानिने के छ र ?

कामले नै मानिसलाई सिपालु बनाउने रहेछ– जति फुल्दै गयो गुलाब त्यति नै सुन्दर देखिएजस्तै । विस्तारै म सिद्ध पुरुष बन्दै गएँ कि क्या हो ?

अरूको भाग्य विचार गर्दागर्दै कहिले त यस्तो लाग्छ, म आफ्नो भाग्यचाहिँ किन नहेरूँ तर हेरेको भने छैन । डाक्टरले आफ्नो उपचार आफैँ गर्न पनि हुन्न । त्यसमाथि मजतिको जान्ने सुन्ने अर्काे को छ र ? भन्ने विचारबाट म आफैँ जो प्रेरित भएको छु ।

खास यस व्यवसायमा जुन मज्जा छ, त्यो अन्त छैन । केही गरी मेरो कुण्डलीमा अर्कै काम लेखेको रहेछ र त्यतै लाग्नुपर्‍यो भने ? भयानक भय यही हो ।

यस समृद्ध नेपालका सुखी नेपालीहरू कति धेरै पीडा लिएर बाँचेका छन् भन्ने कुरा मैले यही कार्यालय नामक दुकान खोलेर बसेपछि थाहा पाएको हुँ । मैले जाने र बुझेसम्म नितान्त गरिबहरू मेरो दुकानमा विरलै आइपुग्छन् । मलाई थाहा छ, यहाँ हजार रुपैयाँ टक्र्याएर चिना देखाउने सामथ्र्य छैन उनीहरूसित । सबै मानिस जुत्ता किन्न सुपर मार्केट जान्छन् भन्ने छैन ।  

गरिबलाई मोटोपनको समस्या नभएजस्तै ज्योतिषीय समस्या पनि हुँदैन । गरिबको एक मात्र समस्या नै गरिबी हो । धनीलाई समस्या अनेक छन् र ती अनेक समस्याको समाधान मसित छ अनि अन्त गएर पनि भएन नि ! नजिरका लागि मैले भोगेका केही समस्या र समाधान यहाँ प्रस्तुत गर्न अनुमति चाहन्छु ।

ढोकाबाट केही सर्‍याकसुरुक आयो । मैले परेलाको छपनी पूरै नउघारी परिस्थितिलाई बिचारेँ । बाहिर एक अजङ्गको मनुष्य निहुरिएको थियो । यस मध्याह्नको शहरी एकान्तमा यस किसिमको भयङ्कर मानव उपस्थितिले मलाई सहसा भयहारी कैलाशविहारी त्रिपुरारीको स्मरण भयो ।

नजिर नं. एक:

समस्या: गुरुजी, मैले जति पैसा कमाए पनि बच्दैन, के भएको होला ?

समाधान :(इमानले कमाएको भए पो बच्थ्यो ? लुटिस् होला) महालक्ष्मी मन्दिरको मंगलबार मंगलबार सात फेर परिक्रमा गर्नुहोस् । घरमा श्रीयन्त्र राखेर पूजा गर्नुहोस् ।

नजिर नं. दुईः

समस्याः गुरुजी जति प्रयत्न गर्दा नि भिसा लागेन ।

समाधान:(देशमा माखो नमार्ने नामर्दलाई कल्ले आफ्ना देशमा लान्छ त ?) शनिबार शनिबार पीपलको एक्काइस प्रदक्षिणा गरेर जल चढाउनुस् ।

नजिर नं. तीन

समस्या: गुरुजी म जसलाई माया गर्छु ऊ मलाई वास्ता गर्दैन ।

समाधान: (तम्रो रूपै कहाँ वास्ता गरूँगरूँ लाग्ने छ र ?) हरेक हप्ता त्रिपुरासुन्दरी माईको दर्शन गर्नुस् र एक सय आठ पानको पात चढाउनुुस् ।

ल हेर्नुहोस् त, न रोगको ल्याब टेस्ट रिपोर्ट न औषधिमा गुणस्तर चिह्न । यी त केही उदाहरण हुन् । सयौँ पृथकपृथक् नमुना पेस गर्न सक्छु म ।

बिहान–बेलुका भाग्यवादी श्रद्धालुको चाप भए पनि दिउँसो झिँगा धपाउने र उङ्नेभन्दा महत्त्वपूर्ण काम छैन मेरो । म एक मध्याह्न अफिसको आरामदायी कुर्सीमा लमतन्न थिएँ । गर्मीको रापलाई घटाउन मध्यम गतिमा पङ्खा चलायमान थियो । म अफू भने तन्द्रामग्न थिएँ । यसरी ग्राहकविनाको दुकान कुर्नुको दिक्दारीले हुन सक्छ भुसुक्क भएको चाहिँ थिइनँ ।

ढोकाबाट केही सर्‍याकसुरुक आयो । मैले परेलाको छपनी पूरै नउघारी परिस्थितिलाई बिचारेँ । बाहिर एक अजङ्गको मनुष्य निहुरिएको थियो । यस मध्याह्नको शहरी एकान्तमा यस किसिमको भयङ्कर मानव उपस्थितिले मलाई सहसा भयहारी कैलाशविहारी त्रिपुरारीको स्मरण भयो ।

मैले पटक पटक उनै पिनाकपाणि शशिशेखरलाई मनसा नमस्कार गरेँ । हतारमा आत्तिएर आँखा उघार्नु मूर्खता हो भन्ने ठहर्‍याएर निदाइरहेँ ।

मेरा अद्र्धमुदित नयनले उक्त जीवको फोटो खिच्दै मस्तिष्कमा पुर्‍याउँदै गर्न थाले । ऊ ढोका सारेर भित्र पस्यो । दायाँतिर राखिएको कुर्सीमा विराजमान भयो । ‘सिक्स प्याक’ले सुशोभित उसको शरीर कुर्सीमा भरिएर पोखिएला जस्तो भयो । झन्डै बास्केटबल जत्रो टाउको मुडुलै थियो ।

दुइटा कानमा सुनका मुन्द्रा चम्किरहेका थिए । बाँकटे गन्जी उसको ज्यानमा यसरी टाँसिएको थियो, मर्नु कसैले बिजुलीको पोलमा माड लगाएर पम्प्लेट टाँसेको हो । हात्तीको पुच्छरमा सुन बेरेर बनाइएको मोटो (हात्तीपुच्छ् स्वर्णकंकण) बाला नारीमा कसिएको थियो । भयो सबै कुरा नगरूँ ।

तर, यस किसिमको प्राणीले मेरो कार्यालयमा किन पादार्पण गर्‍यो । यस प्रश्नको भुलभुलैयामा निकैबेर परेँ । कि यो मसित हप्ता उठाउन त आएन ? म जस्तो यस्तो कुटिर उद्योग खोलेर बसेको गौप्राणीसित के हुन्छ र हप्ता (दुर्जनकर) लिनु ?

हप्ता लिन आउने मान्छे यसरी सभ्य भएर के बस्थ्यो र ? त्यसो भए के त ? उसको निधारमा आवेग र क्रोधभन्दा पनि निराशा र विषादका रेखा बढी देखेपछि मैले आँखा उघारेँ । उसले उठेर नमस्कार गर्‍यो ।

यो मान्छे यति शान्त र सुशील होला भन्ने मलाई लागेको थिएन । पार्वतीको सुन्दरतामा मोहित भएर जालन्धर मुच्र्छा परेजस्तै यसको भयङ्कर रूपको विसौन्दर्यले मेरो मगज बिगारेको मात्र रहेछ अघि । विस्तारै म साम्यावस्थामा आएँ ।

ऊसित सम्बन्धित पूर्वस्मृतिहरू मेरा मानसपटमा चलचित्र भएपछि  यो पहिला पनि देखिरहेको मानिस हो भन्ने लाग्न थाल्यो । यस किसिमको सम्यकबोधपश्चात् मेरो चित्त व्याकुलता पनि कम भयो । तैपनि यस व्यक्तिलाई पहिले कुनै नरम कर्ममा देखेको भने होइन ।

पहिलो पटक देख्दा यसको टाउको फुटेको थियो । आफ्नै रगतको धारामा मुख धोइरहेको यो अहिलेभन्दा सय गुना भयानक देखिएको थियो ।

अर्को पटक कसैमाथि यो मुक्का बर्साइरहेको थियो । वरिपरि उभिएर रमिता हेर्नेको लाइनमा यौटा म पनि थिएँ ।

एक दिन चार–पाँच जना पुलिसले घिसार्दै यसलाई गाडीमा हालिरहेका थिए ।

प्रत्यक्ष रूपमा यसले मलाई कुनै बाधा व्यवधान नगरे पनि यसको महिषासुर स्वरूपबाट भने म आतंकित थिएँ ।

एक पटक यो कुनै गतिलै पार्टीको कार्यक्रममा देखियो । चुनावको माहोल थियो । पार्टी प्रवेश कार्यक्रममा अध्यक्षले टीका र माला लगाइदिए । पाखुरा थर्किने गरी हात मिलाए र गले लगाए । त्यसपछि ऊ पार्टीको जुझारु कार्यकर्ता भयो ।

चुनावभर नेतृत्वको सुरक्षा दस्तामा खटियो । उम्मेदवारको गाडीमा हिँड्यो । विजय जुलुसमा रातो भयो । नारा लगाएर घोक्रो सुकायो ।

विजयी नेताले प्रफुल्ल भएर भन्यो– ‘तपाईं जस्ता जुझरु युवा साथीहरूकै कारण पार्टीले जीत हासिल गर्‍यो । पार्टी सरकारमा गएपछि तपाईंहरूलाई हेर्छ ।’

संविधानसभाको चुनावपछि पनि देशमा स्थानीय र संघीय गरी दुईवटा चुनाव भए । ती चुनावमा पनि ऊ जुझारु भएरै लाग्यो तर पार्टी अर्कै थियो । उसको सौभाग्य भनूँ, ऊ जुन पार्टीमा जुझारु भयो, त्यही पार्टीले चुनाव जित्यो र सरकार बनायो ।

हालसाल ऊ युवा उद्यमी, व्यवसायी, समाजसेवी जस्ता उपाधिले विभूषित हुँदै आइरहेको थियो । तर, उसको पिठ्युँ पछाडि भने उसलाई मानिसहरू ‘डन’ भन्थे । उसको डनगिरी वा दादागिरीको अमिट छाप नामेट भइसकेको थिएन । त्यस कारण पनि अफिसको ढोकामा उसलाई देख्दा म हतोत्साही भएको थिएँ । यतिखेर भने मेरो उत्साह फर्केर आयो ।

जसको विगत बिर्सिनसक्नु छ र वर्तमान झलझलाकार छ, त्यस्ता मानिस सामुन्ने प्रकट हुँदा उसको क्षेमकुशल सोध्नुलाई मैले आफ्नो सभ्यता ठानेँ । घरपरिवार, बन्द व्यापारलगायतका विषयमा मैले भलिभाँती जानकारी पनि लिएँ । त्यसैबीचमा हामीले एक–एक चसक चिया पनि पियौँ ।

अन्त्यमा, कुरोको चुरो प्रस्ट पार्दै भन्यो, ‘गुरुजी, आजकाल मेरो काम धन्दा केही बनिरा’को छैन, जता पनि अस्तव्यस्त र चौपट छ । मेरो ग्रहदशा बिग्रेको पो हो कि हेरिदिनुपर्‍यो ।’

अचम्म ! घोर अचम्म ! दुनियाँको ग्रहदशा बिगारेर हिँड्ने डनकै आज यो गति ?

वास्तवमा डनको ग्रहस्थिति अनुकूल भएर नै उसलाई दशा लागेको थियो । सब ठीक भएका कारण नै ऊ दंगाफसाद, कुटपिट, जालझेल र प्रहरी फन्दामा परेको छैन । दंगाफसादमा पर्न नपाउनु नै डनको काम नहुनु हो । डनको चिनारी डनगिरी नै हुनुपर्छ अनि पो उसलाई मानिसले टेर्छन् । कसले फसाउन सक्छ उसलाई ?

‘के भयो र त्यस्तो ?’, मैले जिज्ञासा राखेँ ।

‘जताजता लगानी गर्‍यो, त्यतात्यता पैसा फसिरा’छ । म बर्बाद हुन लागेँ’, ऊ निकै निराश देखियो ।

भो त, मान्छे आफ्नो पैसा फस्यो भने डनलाई गुहार्छन्, यहाँ डन स्वयं ज्योतिषीका शरणमा छ । डनभन्दा पनि ज्योतिषी शाक्तिशाली ? डनको पनि डन ज्योतिषी ?

मलाई आज आएर म कुनै पनि हिसाबले कमजोर होइन भन्ने तत्त्वबोध भयो । म भित्रभित्रै प्रफुल्ल भएँ । मेरो छाती टुँडीखेलभन्दा पनि फराकिलो भयो ।

‘तपाईंसित चिना छ ?’

‘चिना त छैन तर न्वारनको नाम थाहा छ ।’

‘तपाईंलाई आफ्नो जन्ममिति र जन्म समय थाहा छ त ?’

उसले आमालाई फोन गरेर त्यो पनि पत्ता लगायो । मैले ल्यापटपमा उसको कुण्डली बनाएँ । कुण्डलीमा कुनै समस्या थिएन । राहु, केतु, शनि, मंगल सबै ठीक ठाउँमा थिए । नवै ग्रह शान्त थिए ।

योगिनी, संकटा, भ्रामरी सबै अनुकूल थिए । के भयो भन्ने त यसलाई ? समस्यामा परेर आएको डनले मलाई झन् समस्यामा पा¥यो ।

मेरो मगजमा सैतानी बिचारहरू स्फुरण हुँदै आउन थाले । वास्तवमा डनको ग्रहस्थिति अनुकूल भएर नै उसलाई दशा लागेको थियो । सब ठीक भएका कारण नै ऊ दंगाफसाद, कुटपिट, जालझेल र प्रहरी फन्दामा परेको छैन । दंगाफसादमा पर्न नपाउनु नै डनको काम नहुनु हो । डनको चिनारी डनगिरी नै हुनुपर्छ अनि पो उसलाई मानिसले टेर्छन् । कसले फसाउन सक्छ उसलाई ?

‘हेर्नुहोस् महोदय, तपाईंलाई शनिले पिरेको रहेछ । यस्तो भएपछि काम बन्दैन, बोली बिक्दैन, हातहतियार कलपुर्जा र मेसिनरी सामग्रीबाट सन्तोष हुँदैन ।’

‘हो, मलाई त्यस्तै नै भइरहेको छ । अब राम्रोचाहिँ कसरी गर्न सकिएला त गुरुजी ?’, डन चिन्ताग्रस्त भयो ।

‘तपाईंले केही गर्नुपर्दैन । जे गर्नुपर्छ शनिले गर्छ अब । करिब पाँच–छ महिना तपाईंको कल्याण हुन मुस्किल छ ।’

‘तपाईंले नै त्यसो भनेर भएन । केही न केही त उपाय होला ।’

डनले केही गरी पिछा नछाड्ने भयो । कसैको ग्रहदशा सुधार्न पो सकिन्छ, बिगार्ने कसरी ?

‘अब एउटा उपाय छ, तपाईंले शनिको मन्त्र जप गर्नुपर्छ । शनिबार संकटा मन्दिर जानुपर्छ । शनिबार माछा, मासु र जाँड, रक्सीमा मन लगाउनुभएन ।’

‘बडो कठिन नियम, कानुन बताउनुभयो । नियम, कानुन मिच्नु पो कसरी ? अब ठीक हुन्छ भने त्यति त गर्नै पर्‍यो । अरू कसैले गरेर हुन्न र गुरुजी ?’

‘समस्या तपाईंलाई परेको छ, अरूले गरेर त के हुन्थ्यो र खै ! औषधि त बिरामीले नै खाने होइन र ?’

डन असमञ्जसमा पर्‍यो । मैलो कापीको पानामा ‘ॐ शं शनैश्चराय नमः’ लेखेर दिएँ । उसले मोबाइल झिकेर मन्त्रको फोटो खिच्यो र कागजको टुक्रा पट्याएर पर्समा राख्यो ।

त्यसपछि डन ढुक्क देखियो । आउँदा उसका निधारमा देखिएका विषादका रेखा कम हुँदै गएका थिए । डनको मोबाइलमा घण्टी बज्यो । डनले पुलिसले भन्दा पनि नबुझिने भाषामा कुरा गर्‍यो ।

ठेक्का, डोजर, खुट्टा भाँच्ने, खुकुरी जस्ता डनका समुदायमा लोकप्रिय मानिने केही शब्दहरू मात्र मैले ठम्याउन सकेँ ।

फोन राख्ने बेलासम्म डन प्रशन्नताको घामले झन् उज्यालो भयो । उसले १० हजार एक सय रुपैयाँ मेरो हातमा थमाएर नमस्कार गर्‍यो र भन्यो– ‘हजुरको मन्त्रमा शक्ति रहेछ । मन्त्रले काम थालिसक्यो ।’

डनले हिँड्दाहिँडदै फोनमा आदेश दियो– ‘१०–२० जना गएर अफिस घेर । एक–दुई जनालाई छप्काए पनि हुन्छ ।’