अब अन्तरिक्षमा सैर सपाटा

कृत्रिम मानव ‘रिप्ली’ पुगे अन्तरिक्षमा

अब अन्तरिक्षमा सैर सपाटा

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन १९, २०७५

काठमाडौं । तपाईं नयाँ–नयाँ ठाउँमा घुमफिर गर्न मन पराउनुहुन्छ भने तपाईंका लागि एउटा नयाँ गन्तव्य तयारी हुँदैछ । यस गन्तव्यमा पुग्न बजेट अलिक बढी भए पनि यस यात्रामा हुने रोमाञ्चले तपाईं बजेटको प्रसंग नै बिर्सनुहुन्छ । यस नयाँ गन्तव्यमा पर्यटकलाई पुर्याउने जिम्मा स्पेस एक्स कम्पनीले लिएको छ । यस कम्पनीका संस्थापक एलन मस्क हुन् । हजुर तिनै एलन मस्क जसले केही महिनापहिला मंगल ग्रहको यात्रामा आफ्नो टेस्ला कार नै पठाएका थिए । 

एलन मस्कको परिकल्पनामा सैरा सपाटाको यो नयाँ गन्तव्य अन्तरिक्ष रहेको छ । भनौ उनले यसका लागि ‘टेस्ट फ्लाइट’ पठाएका छन् । 

स्पेस एक्स कम्पनीले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट एउटा रकेटको सफलतापूर्ण प्रक्षेपण गरेको छ । भविष्यमा यसै रकेटले मानिसलाई अन्तरिक्ष यात्रामा लैजानेछ । 

यस ‘टेस्ट फ्लाइट’मा अहिले मानिसलाई पठाइएको छैन । यो सफल रहेमा अमेरिकी स्पेस एजेन्सीले यसलाई यात्री लैजाने स्वीकृति दिनेछ र आम मानिसको अन्तरिक्ष भ्रमण गर्ने बाटो खुल्नेछ । 

एलन मस्कले यस रकेट प्रक्षेपणलाई अन्तरिक्षको ‘कमर्सियल टुरिज्म’ आरम्भ भएको पहिलो खुड्किलो भनेका छन् । पृथ्वीबाट प्रक्षेपण गरिएको ११ मिनेटपछि स्पेस एक्सको यो फाल्कन ९ रकेट र यसको ‘ड्रेगन क्रू क्याप्सुल’ अन्तरिक्षको त्यस मार्गमा अगाडि बढ्दै गइरहेको छ, जहाँ आजै ३ मार्च आइतबारका दिन निर्धारित समय र स्थानमा यसको भेट ‘इन्टरनेसनल स्पेस स्टेसन’सँग हुनेछ ।

इन्टरनेसनल स्पेस स्टेसन विगत कैयन वर्षदेखि अन्तरिक्षमा सोध कार्य गरिरहेको छ । यो पृथ्वीदेखि चार सय किमि माथि रहेको छ । यसले यति उचाइबाट पृथ्वीको परिक्रमा गर्छ । यसले पृथ्वीको एक परिक्रमा ९० मिनेटमा पूरा गर्छ । यस ‘स्पेस स्टेसन’को घुम्ने गति २८ हजार ८ सय किमि प्रतिघन्टा रहेको छ । यसमा रहेका अन्तरिक्ष यात्रीले प्रत्येक दिन सोह्र पटक सूर्याेदयको दर्शन गर्छन् । 

यस ‘टेस्ट फ्लाइट’मा कुनै जीवित मानिस पठाइएको छैन । जीवित मानिसको सट्टा यसमा एउटा कृत्रिम अन्तरिक्ष यात्री पठाइएको छ । यस कृत्रिम मानिसमा अनेकौं ‘सेन्सर’ जडान गरिएका छन् । ‘सेन्सर’ले जीवित मानिस पठाउँदा उसमा के–कस्तो प्रभाव पर्छ, त्यसको जानकारी दिनेछन् । यस कृत्रिम मानिसको नाम ‘रिप्ली’ राखिएको छ । हलिउडमा बनेको ‘एलियन’ फिल्मबाट ‘रिप्ली’ नाम लिइएको हो । 

रकेट प्रक्षेपणपछि पत्रकारहरूसँग कुरा गर्दै एलन मस्कले भने, ‘सन् २००२ बाट हामीलाई यहाँसम्म आउन १७ वर्ष लाग्यो । साच्चै भन्ने हो भने म भावनात्मक रूपले केही तनावग्रस्त भएको थिएँ । यो रकेट प्रक्षेपण ‘सुपर स्ट्रेसफुल’ थियो ।