वर्षोत्कृष्ट गजल पुरस्कारबाट नेपाल पुरस्कृत

वर्षोत्कृष्ट गजल पुरस्कारबाट  नेपाल पुरस्कृत

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन २५, २०७६


काठमाडौँ । अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव वर्षोत्कृष्ट गजल पुरस्कारबाट नारायण नेपाल मिश्रणलाई पुरस्कृत गरेको छ ।
  
समाजको २१७औँ मासिक साहित्यिक शृङ्खलाका अवसरमा २०७६ फागुन २५ गते शनिबार आयोजित शिशिर काव्य गोष्ठी र १९औँं वार्षिकोत्सवका अवसरमा  सात हजार नगदसहित नेपाललाई गजल पुरस्कारबाट सम्मान गरिएको हो । सो अवसरमा विशिष्ट साहित्यिक अभियानकर्मी तथा संस्कृतिविद् शीतल गिरी एवं अर्का साहित्यिक अभियानकर्मी तथा सर्जक वसन्त रिजाललाई पनि सम्मान गरिएको थियो । 
  
समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले सम्मानित व्यक्तित्वका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, गोपाल बराल, नवराज पुडासैनी ज्योत्स्ना, डा विदुर चालिसे र डा शेषराज आचार्य तथा सम्मानित तथा पुरस्कृत व्यक्तित्वत्रयले साहित्य साधनामा योगदान गर्नेलाई समाजले प्रोत्साहित गरेको बताउनुभयो । 

 समाजले २०५७ फागुन २४ गते शनिबारदेखि मासिक साहित्यिक कार्यक्रम शुरुआत गरेको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष कोमल लामिछाने, शारदा पराजुली, परशुराम पराजुली, मेनका आचार्य पोखरेल, घनश्याम प्रसाईं, सुमन पुडासैनी, विमल अर्याल, कुसुम शर्मा, पवन सङ्ग्रौला, रामकुमार पण्डित, ओमप्रसाद कोइराला, हरि डाँगी, रमेशजङ्ग थापा, माधवलाल श्रेष्ठ, सम्पत काफ्ले, प्रदीपरत्न शाक्य, ढुण्डिराज पोखरेल, खोलाघरे साहिँलो, दुर्गा अधिकारी भ्रमरकोटे, पुष्पा धमला, यदुनाथ वसन्तपुरे, गोपालकृष्ण रिजाललगायत ४६ कवि एवं कवयित्रीले रचना पाठ गर्नुभएको थियो ।
 
कार्यक्रममा वाचन गरिएका कविता, गीत, गजलमध्ये पदम मुरारी वाइङ राई, बीपी इलामे, डिल्लीप्रसाद मूलतिउन र विनोद वत्सलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा गजल साधक डा‍‍. घनश्याम परिश्रमीले कविता, गजल र मुक्तक लेखनमा पछिल्लो समय उत्कृष्ट रचना आउन थालेको बताउनुभभएकाे थियाे ।