थली, सलम्बुटालगायतका ठाउँमा स्थानीयवासीको अवरोध पश्चात सडक विस्तार कार्य अबरुद्ध

थली, सलम्बुटालगायतका ठाउँमा  स्थानीयवासीको अवरोध  पश्चात सडक विस्तार कार्य अबरुद्ध

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०७६

काठमाडाैं । विस्तारका क्रममा रहेको चावहिल–साँखु सडकमा थली, सलम्बुटालगायतका स्थानमा विस्तार अघि बढ्न सकिरहेको छैन । स्थानीयवासीको अवरोध भएका स्थानमा निर्माण अघि बढ्न नसकेको हो । सडकको चौडाइ बढाइएका क्षेत्रमा सडक निर्माण अघि बढे पनि विस्तार हुन नसकेका स्थानका सडकमा काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

सो सडकमा अहिले ठाउँठाउँमा गरी झण्डै दुई किमी सडकमा निर्माण शुरु हुन नसकेको आयोजनामा कार्यरत इञ्जिनीयर लक्ष्मण देवकोटाले बताउनुभयो । उहाँका अनुसार सङ्गठीत रुपमा जग्गा र घर हटाउन नमानेका स्थानमा अहिले कालोपत्र गर्न बाँकी छ । त्यहाँ सडकका अरु पूर्वाधार निर्माण समेत हुन सकिरहेका छैनन् । उहाँले भन्नुभयो, ‘अरु स्थानमा निर्माण सकिँदासम्म यहाँ के गर्ने भनी निर्णय हुनसक्छ ।’

उपत्यकाका अरु १० स्थानमा जस्तै विसं २०७२ मा सो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडकसँगै घरजग्गा भएका स्थानीयवासीले सडक निर्माणका लागि जग्गा दिन नमानेपछि सडक अवरुद्ध भएको थियो । सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले उपलब्ध चौडाइमै काम गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सडक निर्माण गर्दा झण्डै आधामा मापदण्डानुसार (२२ मिटर चौडाइ) कायम हुने र आधामा हुन नसक्ने देखिएको छ । कतिपय स्थानमा मापदण्डभन्दा कम चौडाइमा पनि कालोपत्र भइरहेको छ । चौडाइ सातआठ मिटर मात्रै उपलब्ध हुने स्थानमा भने निर्माण अघि बढ्न सकिरहेको छैन । यहाँका जनप्रतिनिधिले स्थानीयवासीसँग पटक–पटक समन्वय गर्दै सडकको चौडाइ बढाउन पहल गरिरहेका छन् ।