भारतको डर हुनु राम्रो कुरा हो–मोदी

भारतको डर हुनु राम्रो कुरा हो–मोदी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित इन्डिया टुडे कन्क्लेभमा बोल्दै, ‘अहिलेको भारत नयाँ भारत भएको र त्यो भारत बदलिएको बताएका छन् ।’

‘पहिले जति नै मानिस मारिए पनि र जति नै जवान शहीद भएपनि कुनै ठूलो कारबाही हुँदैनथ्यो । तर अहिले कसैले पनि भारतलाई आँखा लगाउन सक्दैन । हाम्रो सरकार जस्तो सुकै निर्णय लिनका लागि प्रतिबद्ध छ’ ।

‘उनले आफ्नो लागि सबै वीर सैनिक जवानको रगत अमूल्य रहेको बताएका छन्’ ।

मोदीले आजको भारत निडर, निर्भीक र निर्णायक भएको बताएका छन् ।

उनले भने, ‘देश अहिले एक सय ३० करोड भारतीयसँगै अघि बढिरहेको छ । भारतीयहरू एकजुट भएकाले देशभित्र र बाहिर अहिले देशविरोधी मानिसमा डर उत्पन्न भएको छ ।’

भारतको पराक्रमबारे मोदीले जोड दिंदै भने, ‘घर भित्र र बाहिरका दुवै दुश्मनलाई भन्दै छु, भारतको पराक्रमको डर छ भने त्यो राम्रो हो ।’

कतिपय मानिसहरूका शंकाका बारेमा मोदीले भने, ‘देश सेनासँग काँधमा काँध मिलाइरहेको छ । तर ती मानिसहरु पहिले मोदीको विरोधमा उत्रन्थे भने अब देशको विरोध गर्न थालेका छन् र देशलाई नै नोक्सान गर्न थालेका छन्’ उनले भने, ‘म ती मानिसहरूलाई सोध्न चाहन्छु के तपाईँहरूलाई हाम्रो सेनाको सामथ्र्यप्रति विश्वास छैन?’

उनले रफाल युद्धक विमानको विरोध गर्नेहरूलाई पनि जबाफ दिँदै भने, ‘अचेल रफालको कमीबारे पनि चर्चा भइरहेको छ, तर आज देशमा रफाल भएको भए परिणाम अर्कै हुनेथियो ।’