प्रदेश सरकार खेलकूद प्रति प्रतिबद्ध

प्रदेश सरकार खेलकूद प्रति प्रतिबद्ध

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २५, २०७६

मोरङ । मोरङको बाहुनीमा आइटिएफ तेक्वान्दो डोजाङ बेलबारीद्वारा प्रदेश नं १ स्तरीय प्रथम बेलबारी मेयर कप तेक्वान्दो प्रतियोगिता आज सम्पन्न सम्पन्न भएको छ । आइटिएफ तेक्वान्दोले गत महिना मोरङको दुर्गम ग्रामीण क्षेत्र मिक्लाजुङ गाउँपालिकामा प्रदेशस्तरीय जिल्ला खेलकूद प्रतियोगिताको आयोजना सम्पन्न गरेको थियो भने आगामी चैत महिनामा भोजपुर जिल्लामा खेलकूद आयोजना गरिने आइटिएफका उपाध्यक्ष प्रविणकुमार कार्कीले बताउनुभयो ।
    
प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै खेलका माध्यमबाट राष्ट्रको नाम विश्व चिनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकार खेलकूद पूर्वाधारमा लगानी गर्ने प्रतिबद्धताका साथ खेलाडीलाई विशेष प्रोत्साहन दिने कार्य गरिरहेको जानकारी गराउँदै भावी पिँढीलाई यसप्रति आकर्षण गरी उनीहरुको सर्वाङ्गीण विकास महत्वपूर्ण रहेको धारणा राख्नुभयो । बेलावारी नगरपालिकाका उपप्रमुख ढाका पराजुलीले एक वडा एक खेल मैदान निर्माणको लक्ष्यअनुसार कार्य भइरहेको जानकारी दिनुभयो ।
    
डोजाङका प्रशिक्षक चतुरलाल चौधरी, आइटिएफका वरिष्ठ उपाध्यक्ष अञ्जनाथ श्रेष्ठ, उपाध्यक्ष प्रविणकुमार कार्की लगायतले अपराध रोकथाम एवं लागुऔषधि दुव्र्यसन नियन्त्रणमा खेलकूदका माध्यमले सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । प्रतियोगितामा १३ स्वर्णसहित झापा प्रथम, सात स्वर्णसहित भोजपुर द्वितीय र छ स्वर्णसहित सुनसरी तृतीय भएको थियो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्रदेशका  मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, उदयपुर र आयोजक मोरङको बेलबारी नगरपालिकाका गरी ६० महिलासहित १८४ जना खेलाडीको सहभागिता थियो ।