को हुन् यी महिला ?

को हुन् यी महिला ?

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७५

भारत–पाकिस्तान बीच भएको तनाव र आपसी हवाई द्वन्द्वका क्रममा भारतीय वायुसेनाका एक जना विंग कमान्डर अभिनन्दन बद्र्धमान पाकिस्तानमा गिरफ्तार भए । 

उनी मिग जहाज उडाउँदै पाकिस्तान अधीनस्थ काश्मिर पुगे । उनको जहाज ‘क्रयास’ भएका कारण उनी ‘प्यारासुट’बाट हाम फाले र पाकिस्तानमा ओर्लिन पुगेर सेनाको ‘कस्टडी’मा परे । 

भारतले पाकिस्तानसँग आफ्ना सैनिकको सकुशल रिहाइको माग गर्यो । अन्ततः झण्डै ६० घन्टा सैनिक हिरासतमा राखेपछि पाकिस्तानले भारतीय सैनिकलाई मुक्त गर्यो । पाकिस्तानले वाधा–अटारी बोर्डरमा ल्याएर आफ्नो हिरासतमा रहेका सैनिकलाई भारत सरकारका उच्च पदस्थ अधिकारीलाई जिम्मा दियो । 

सैनिक हस्तान्तरणको यो कार्यक्रम भारत र पाकिस्तानका टिभी न्युज च्यानलले प्रत्यक्ष प्रशारण गरेका थिए । 

सैनिक हस्तान्तरण कार्यक्रममा पाकिस्तानी बोर्डरमा एक महिला देखापरेकी थिइन् । उनी पाकिस्तानी सेनाका अधिकारी र बन्दी अभिनन्दनसँग तालमा ताल मिलाएर हिँडिरहेकी थिइन् । रातो रङको कुर्ता सुरुवालमा सल ओढेकी ती महिलाबारे धेरैलाई जिज्ञासा भयो– उनी को हुन् ? 

लाइभ कार्यक्रम हेरिरहेका धेरै दर्शकले प्रारम्भमा उनी अभिनन्दन बद्र्धमानको कुनै नातेदार भएको अनुमान गरे । तर, यो अनुमान दुई मिनेट पनि टिकेन । अभिनन्दन एक्लै बोर्डरमा रहेको फलामे गेट पार गरी स्वदेशमा प्रवेश गरे । त्यसपछि अनुमान गरियो– ती महिला पाकिस्तानस्थित भारतीय राजदूतावासको कर्मचारी हुन् कि ?

अब उनीबारे प्रमाणिक जानकारी आएपछि यो अनुमान पनि मिथ्या साबित भयो । वास्तवमा ती महिला पाकिस्तानको विदेश विभागमा भारत मामिला हेर्ने विभागको डाइरेक्टर थिइन । उनको नाम हो– डा. फरीहा बुगती । डा. फरीहा पाकिस्तानको विदेश सेवा एफएसपीको अधिकारी हुन् । 

पाकिस्तानमा बन्दी जीवन बिताइरहेका भारतीय नौसेनाका पूर्वसैनिक कुलभूषण जाधवको केस पनि डा. फरीहाले नै हेरिरहेकी छन् । 

गत वर्ष कुलभूषणका पत्नी र आमाले पाकिस्तान गएर कुलभूषणलाई भेट्दा यिनै डा. फरीहाले भेट गराएकी थिइन ।