बाबुआमाको लागि छोराछोरी हुर्काउने मार्गचित्र

बाबुआमाको लागि छोराछोरी हुर्काउने मार्गचित्र

राजकुमार महर्जन  |  शिक्षा  |  फाल्गुन २६, २०७६

लेख लेख्न भन्दा पनि तपाईंसँग कुरा गर्न मन लागेको छ आज । तपाईंसँग आफ्नो विद्वता छाँट्न वा पट्यारलाग्दो कुरामा अल्मल्याउने मुडमा पनि छैन म । यी कुराहरू गरिराख्दा पनि डर लाग्छ, कतै एकतर्फी पो हुने हो कि ?

यदि तपाईंका आफ्नै सन्तान छन् भने राम्रै भयो । होइन भने भाइ, भतिजा, भान्जा, भान्जीको अभिभावक बनेर भए पनि मसँग एकछिन जोडिनुहोस् है ! तपाईं कसैको बुबा–आमा, दाजु–दिदी, काका–काकी, मामा–माइजू, जे जस्तो भए पनि अब उप्रान्त तपाईंका छोराछोरी वा सन्तान शब्दको प्रयोग गर्ने अनुमति माग्छु । बेलाबेलामा सोच्ने र लेख्ने काम दिन्छु, ती काममा मलाई सहयोग गर्नुहोस् है !

एक पटक आँखा चिम्लन अनुरोध गरेँ । अब सोचौँ, तपाईंका छोराछोरी अहिले कुन उमेरका छन् ? कति कक्षामा अध्ययनरत छन् ? उनीहरू आजको कति वर्षपछि रोजगारीको बजार वा व्यावसासयक संसारमा पाइला टेक्लान् ? ५ वर्ष, १० वर्ष, १५ वर्ष वा त्यसभन्दा बढी ? 

यी प्रश्नहरूको जवाफ कापीमा लेख्न पाए कति राम्रो हुन्थ्यो है ? कापी–कलम तयार छैनन् भने तयार पारुन्जेल कुर्छु बरु । तयार भयो होइन ? त्यसो हो भने अब लेख्नुहोस् ।
    क) छोराछोरीको हालको उमेरः ...
    ख) रोजगारी वा व्यावसायिक दुनियाँमा प्रवेश गर्ने उमेरः ....
    ग) सन्तानलाई शिक्षा–दीक्षा दिन र पूर्ण रूपले सबल बनाउन बाँकी समय (वर्षमा): ...
    घ) हाल तपाईंको उमेर: ...
    ङ) सन्तान सबल बनिसकेपछि पुग्ने तपाईंको उमेर: ...

यदि त्यसो हो भने अर्थात् तपाईंले छोराछोरीहरूका बारेमा नजिकबाट नियाल्न पाउनुभएको छैन भने ती कामहरू नसकिउन्जेल रोकिन सक्नुहुन्छ । तर, योभन्दा अगाडि बढ्न चाहनुहुन्छ भने यतिबेलासम्म सोधिएका सबै प्रश्नहरूको उत्तर लेखिसकेको हुनुपर्छ है !

कापीको पाना पल्टाउनुहोस् त ! अब आफैँलाई सोध्नुहोस् । सन्तानप्रति तपाईंका सपनाहरू केके छन् ? त्यसको जवाफ लेख्नुहोस् । लेखौँ है लेखौँ, लेख्नमा अल्छी नगरौँ । भविष्यमा उनीहरू के बनून् भन्ने चाहनुहुन्छ ? कस्तो बनून् भन्ने चाहनुहुन्छ ? केके लेख्नुभयो ?

तपाईंले लेख्नुभएको कुरा एक पटक माथिदेखि तलसम्म पढ्नुहोस् त ! यदि केही छुटेको भए थप्नुहोस् है ! केके थप्नुभयो ?

वाहियात् काम दियो नठान्नुहोस् नि फेरि । मलाई थाहा छ, तपाईं अरू सामान्य अभिभावकभन्दा फरक खालको हुनुहुन्छ, त्यसैले तपाईं यतिन्जेलसम्म मसँग जोडिनुभएको छ । कुरा मात्र बढी गर्ने तर काम भने सिन्को नभाँच्ने, नक्कली अभिभावकहरूले पहिलो कुरा यो लेख पढ्ने हिम्मतसमेत गरेका छैनन् । यदि पढिहाले पनि लेख्ने आँट गरेका छैनन् ।

तपाईंको सपनाको सन्तानको स्वरूप र उनीहरू भविष्यमा कहाँसम्म पुग्नेछन् या के कस्ता उपलब्धिहरू हासिल गर्नेछन् भन्ने कुरा लेखिसकेपछि तपाईंले बुझ्नुपर्ने अर्को कुरा भनेको वर्तमानमा उनीहरूको वास्तविक अवस्था । 

के तपाईंले यी कुराहरूमा ध्यान दिएर सोच्न भ्याउनुभएको छ ? छोराछोरीहरूको इच्छा, आकांक्षा र उनीहरूसँग अन्तरनिहीत प्रतिभाका बारेमा सूक्ष्म तरिकाले नियाल्न भ्याउनुभएको छ ? 

यदि छ भने अहिले उनीहरूको मानसिक, शारीरिक, सामाजिक र संवेगात्मक अवस्था कस्तो छ ? उनीहरूमा केके विशिष्ट गुण वा क्षमताहरू छन् ? अब ध्यान दिएर सोच्ने बेला आयो । 

तपाईंका छोराछोरीहरू के कस्ता क्रियाकलाप गर्न पाउँदा निकै खुसी हुन्छन् ? उनीहरूसँग लुकेका के प्रतिभाहरू छन् जस्तो लाग्छ ? ती कुराहरू पनि कापीमा टिप्दै जानुहोला है !

मलाई थाहा छ, तपाईं जस्तो असल अभिभावक यस दुनियाँमा विरलै भेटिन्छन् । तसर्थ तपाईंले सबै कुरा लेख्दै जानुभएको छ । हुन सक्छ, तपाईं यतिबेला अर्को कुनै महत्त्वपूर्ण काम छाडेर बस्नुभएको छ । 

यदि त्यसो हो भने अर्थात् तपाईंले छोराछोरीहरूका बारेमा नजिकबाट नियाल्न पाउनुभएको छैन भने ती कामहरू नसकिउन्जेल रोकिन सक्नुहुन्छ । तर, योभन्दा अगाडि बढ्न चाहनुहुन्छ भने यतिबेलासम्म सोधिएका सबै प्रश्नहरूको उत्तर लेखिसकेको हुनुपर्छ है !

एकछिनको आरामको समयमा तपाईंलाई म आफ्नै सन्तानकोे एउटा उदाहरण पेस गर्ने अनुमित माग्छु । 

ऊ यूकेजीमा अध्ययन गर्दै गर्दा मैले एउटा अनौठो कुराको अनुभव गरेको थिएँ । आफ्नै विद्यालयमा पढ्ने भएकाले मैले उसको हरेक क्रियाकलाप नियाल्ने अवसर पाउँथेँ । त्यतिबेला ऊ हप्ताको दुई दिन गायन कक्षामा बस्थ्यो । गायन प्रशिक्षकको समय र स्कुलको दैनिक शिक्षण तालिकालाई ध्यानमा राखी गायन कक्षाको समय दिनको १ः०० बजेलाई तोकिएको थियो । दुर्भाग्यवश, त्यो समय उसकोे खाजा खाने समय थियो । उमेर सानै थियो, त्यसमाथि खाजा खाने समयमा कक्षामा बस्नुपर्ने । तर, पनि गायन कक्षा छुटाउन चाहँदैनथ्यो । खाजा खाँदै कक्षामा सा रे ग मको अलंकार भट्याउँथ्यो ।

सर्सर्ती हेर्दा सामान्यतयाः ऊ अरू केटाकेटीहरू जस्तै गायन कक्षामा मात्र बसेजस्तो देखिन्थ्यो । तर, गायन कक्षामा बसेको दिन ऊ अरू दिनभन्दा बढी खुसी र हामीसँग नजिक हुन्थ्यो । त्यो पूरै दिन र भोलिपल्टसम्म पनि ऊ निकै रमाउँथ्यो । 

मलाई आज पनि याद छ, ऊ त्यतिबेलाको सुपर हिट हिन्दी चलचित्र ‘रक अन’का गीतहरू दुरुस्त गाएर सुनाउँथ्यो । गायनको कक्षा बसेर आएपछि ऊ यति धेरै रमाउँथ्यो कि उसको आत्मअनुशासन पनि निकै राम्रो थियो । उमेरले सक्ने आफ्नो काम आफैँ गर्दथ्याे । 

लामो समयसम्म उसका गतिविधिहरूको अध्ययन गर्दा हामी यो कुराको निचोडमा पुग्यौँ कि उसमा संगीतको प्रचुर संभावना छ । ऊभित्रको संगीतलाई मर्न दिनुहुन्न भन्ने हामीलाई लाग्यो । 

उसलाई स्कुल र घरमा सांगीतिक वातावरणमा रमाउन पाउने व्यवस्था गरियो । संगीत सिकाउने नाममा जुन पायो त्यही बाजा सिकाउनुभन्दा पनि विश्वभर अत्यन्त सम्मानका साथ हेरिने, बाजाहरूकी रानी भ्वायलिन बाजा सिकाउने निधो गरियो । 

एक त भ्वायलिनको प्रशिक्षक नै नपाइने, पाइहाले पनि अरू विधामा भन्दा महँगो पर्ने । एक जनालाई मात्र सिकाउने उद्देश्यले टाढाटाढासम्म प्रशिक्षकको खोजी हुँदा पनि पाइएन । झण्डै तीन वर्षको प्रयासपछि बल्लतल्ल वरिष्ठ संगीतकार मानसिंह थुलुङले सिकाउन तयार हुनुभयो । सँगसँगै अर्का मित्र विदुर शर्मा गौतमले पनि साथ दिनुभयो । 

यसरी सन् २०१० मा क्रेसेन्डो इन्टरनेसनल अर्केष्ट्राको पहिलो प्रशिक्षार्थीको रूपमा मेरो सन्तानलाई उहाँहरूले सिकाउन थाल्नुभयो । सँगसँगै उसका अरू दुई जना साथीहरूले पनि प्रशिक्षणमा भाग लिन थाले । संगीत सिक्न लाग्ने समय, स्रोत, साधन र अन्य खर्चलाई हामीले खुसीका साथ व्यवस्थापन गर्‍यौँ । आज गर्वका साथ यो कुरा भन्न पाएको छु कि ऊ र उसको एक जना साथी नेपालको अर्केष्ट्रामा संगीतको दुनियाँमा होनाहार सदस्यको रूपमा परिचित छन् । 

उसले स्कुले शैक्षिक प्रमाणपत्रका साथमा विश्वव्यापी मान्यताप्राप्त ए.बी.आर.एस.एम., लण्डनको बोर्डबाट पाँचौँ तहसम्मको अध्ययन पूरा गरी प्रमाणपत्र हाँसिल गरिसकेको छ ।

क्षमा चाहन्छु– तपाईंलाई मेरो व्यक्तिगत गन्थनमा अल्मल्याएँ । तर, नआत्तिनुहोस् । तपाईं गलत बाटोमा हुनुहुन्न । तपाईंले आफ्ना छोराछोरीहरूका बारेमा जे जस्तो सपना देख्नुभएको छ, ती सपना पूरा गर्ने बाटोमा उनीहरू जालान् या नजालान् भन्ने चिन्ता तपाईंको हो । तसर्थ अब केही दिन तपाईंको इच्छा, चाहना र सपनासँग उनीहरूको इच्छा, चाहना, क्षमता र बानी व्यवहारसँग कतिको मेल खान्छ भन्नेबारेमा सूक्ष्म ढंगले अवलोकन गर्नुपर्ने हुन्छ । 

तपाईंले अवलोकनमा भेट्नुभएका कुराहरूसहित अबको एक हप्तापछि यसै गरी गफगाफ गर्ने बाचाका साथ आजलाई बिदा माग्छु है !