दलालले आफूलाई चाहिएको बेलामा सेयर बजार क्रयास गराइरहेका छन्

दलालले आफूलाई चाहिएको बेलामा सेयर बजार क्रयास गराइरहेका छन्

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  फाल्गुन १९, २०७५

 नन्दनहरि शर्मा
नन्दनहरि शर्मालार्ई सेयर बजार, अर्थ र लगानीसम्बन्धी विशेषज्ञका रूपमा लिने गरिन्छ । उहाँले सेयर बजारलाई नियमन गर्ने मुल उद्देश्यले २०३३ सालमा स्थापना गरिएको सेक्युरिटी खरिद–बिक्री केन्द्रमा नै नीतिगत तहबाट सेवा सुरु गर्नुभयो । त्यसपछि २०४८ सालमा विभाजन भई तीन वटा संस्था (नेपाल घितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र नागरिक लगानी कोष) बन्यो । त्यसपछि उहाँ नागरिक लगानी कोषतर्फ लाग्नुभयो । नागरिक लगानी कोषको निरन्तर १६ वर्षसम्म नेतृत्व गरेर अवकास लिनुभएका शर्माले तीन वर्षसम्म विभिन्न वित्तीय संकटग्रस्त संस्थाको व्यवस्थापनसमेत गर्नुभयो । 

पूँजी प्रवद्रर्धनमा ४० वर्षको अनुभव सँगाल्नुभएका उहाँले १६ वर्षभन्दा बढी समय स्टक एक्सचेन्जको क्षेत्रमा सेवासमेत दिइसक्नुभएको छ । 

पछिल्लो समय निरन्तर सेयर बजार खस्किनुको कारण के हो ? सेयर बजार भनेको के हो र सेयरमा कस्ता खालका मानिसले लगानी गर्ने ? लगायत विषयमा केन्द्रीकृत भएर सेयर बजारविज्ञ शर्मासँग लोकसंवाद डटकमले अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, नेसनल क्यापिटल एन्ड इन्भेस्टमेन्टका कार्यकारी अध्यक्षसमेत रहनुभएका शर्मासँग गरिएको उक्त अन्तर्मन्थनको मूल अंश ।  

सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्यो भने सेयर भनेको के हो ?

धेरै जना मिलेर कम्पनी खडा गर्ने तथा पूँजी जुटाउने प्रथा सुरु भएसँगै सेयर शब्द प्रचलनमा आएको हो । एकभन्दा बढी व्यक्तिले पूँजीमा संयुक्त लगानी गरिसकेपछि लगानीको जुन आ–आफ्नो हिस्सा प्राप्त हुन्छ, त्यो नै सेयर हो । 

लगानीको हिस्सा भन्नाले ? 

कुनै पनि ठाउँमा गरिएको लगानीको हिस्सा नै सेयर हो । 

सेयर कारोबारको सुरु कहाँबाट भएको हो ? 

स्टक मार्केटको प्रथालाई अध्ययन गर्ने हो भने लण्डनबाट सेयर कारोबार सुुरुवात भएको मानिन्छ । धेरै जना मिलेर कम्पनी खडा गरे । कम्पनीका सबै लगानीकर्ता चिया पसलमा आपसमा भेटघाट तथा कुराकानी हुँदा आफूले प्राप्त गरेको सेयरले कति फाइदा वा नोक्सान भयो र शेयर बेचेर आफ्नो खरखाँचो टार्ने चलन बसाल्दा–बसाल्दै यो प्रक्रियाले संगठित रूप ग्रहण गरी स्टक एक्सचेन्ज बजारको रूपमा परिणत भएको हो । 

नेपालमा संयुक्त पूँजी लगानी गरेर कम्पनी सञ्चालन गर्ने अथवा सेयर कारोबारको प्रक्रिया कहिलेदेखि सुरु भएको हो ?

हाम्रो देशको इतिहास हेर्ने हो भने १९९४ सालमा नेपाल बैंकको स्थापना भएसँगै सेयर कारोवारको प्रक्रिया सुरु भएको देखिन्छ । त्यो समयमा नेपाल बैंकले सेयर बिक्री गरेको पनि देखिन्छ । त्यसबेला बबिन प्लाइउड कम्पनी, जुद्ध म्याच फ्याक्ट्री, रघुपति जुट मिल, विराटनगर जुट मिल आदि पब्लिक लिमिटेड कम्पनी खडा हुँदै आए । त्यसबखत स्टक एक्सचेन्ज भने थिएन र अनौपचारिक रूपमा कारोवारको सुरुवात भएको देखिन्छ । 

सेयरको अनौपचारिक रूपमा कारोबार भएको भन्नुभयो, औपचारिक रूपमा कारोबारचाहिँ कहिलेबाट भएको हो ?

२०३३ सालमा सरकारले सर्वसाधारणलाई पनि औद्योगिक लगानीतर्फ आकर्षित गर्नुपर्छ भन्ने सोचलाई अगाडि बढाएको देखिन्छ । त्यसपछि यसलाई व्यवस्थित गर्न सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना नै  भयो । यो केन्द्रको स्थापनासँगै औपचारिक रूपमा सेयरको कारोबार भएको हो । तर, अनौपचारिक कारोबारचाहिँ भइरहेको थियो ।  

खासगरी नेपाल औद्योगिक विकास निगम, नेपाल राष्ट्र बैंकको बहुमत स्वामित्व र सरकारको १० प्रतिशत लगानी रहने गरी सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भयो । त्यसबखत पब्लिक लिमिटेड कम्पनी पनि थोरै थिए । सेयरधनी पनि ४/५ हजारभन्दा बढी थिएनन् । नेपाल बैंक लिमिटेड, जुद्ध म्याच फ्याक्ट्री लगायतका कम्पनीको सेयरधनी पछि अब नेपालमा संस्थागत रूपमा सेयरको कारोवार गर्नुपर्छ भनेर सुरु भएको हो । म त्यस संस्थाको कम्पनी दर्ता गर्दाको अवस्थादेखि नै संलग्न भएका नाताले यो कुरा गरिरहेको छु । सुरुमा संस्था खडा गर्दा बजार पनि आफै खडा गर्नुपर्ने स्थिति रह्यो । त्यो बेला स्टक एक्सचेन्ज मात्रै खडा गरियो । बजार थिएन । अथवा सजिलो भाषामा भन्ने हो भने सरकारले टुँडिखेलमा गएर बजार सञ्चालनको परिकल्पना अगाडि सारेर बजार व्यवस्थित गर्ने निकायको व्यवस्था गरेर मात्र पुग्दैन नि । बजार भनिसकेपछि त्यसका लागि आवश्यक खरिदकर्ता, बिक्रीकर्ता तथा बिक्री वितरणको लागि स्टलहरूको आवश्यक हुन्छ । 

त्यससँगै सेयर लगानी गर्ने ठाउँ तथा बचत भएका मान्छे हुनुपर्छ, उनीहरूले सेयर खरिद–बिक्रीको बारेमा बुझेको हुनुपर्छ, सेयर बेच्ने संगठित संस्थाहरू चाहिन्छ, कारोवारका लागि पद्धतिहरू बसाल्नुपर्छ । यसका लागि आवश्यक चाजोपाँजो मिलाउन संस्थाको आवश्यकता थियो । यहीँ आवश्यकता पूरा गर्न २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भयो । स्थापनापछि केन्द्रले बजार व्यवस्थित गर्नुभन्दा पनि बजार विस्तार थाल्यो । भएका कम्पनीहरूलाई पब्लिक लिमिटेड कम्पनीको रूपमा रूपान्तरण गर्यो । किनकि रूपान्तरण नभएसम्म ती सेयर बजारमा आउन मिल्दैन । फेरि कम्पनीले मात्र लगानी गरेर सेयर बजारको विकास हुने कुरा पनि भएन । त्यसमा सर्वसाधारणको व्यापक सहभागिता नभइनहुने कुरा हो । यी सबै कुरालाई प्रोत्साहित गर्न जसले सेयर बजारको विकास गर्ने जिम्मा लिएको थियो, उसले यसमा क्रमिक रूपमा अध्ययन गरेर देखिएका बाधा, अप्ठ्याराहरू फुकाउन सरकारसँग माग गर्दै अगाडि बढेको हो । खासगरी सेयरको आपूर्ति बढाउन प्रोत्साहन गर्नुपर्यो, कम्पनीलाई पब्लिक कम्पनीका रूपमा आउनलाई नीतिगत सुविधाहरू दिनुपर्यो, बजार व्यवस्थापनका लागि ऐन, नीति, नियमहरू बनाउनुपर्यो । यी सबै कुराको व्यवस्था गरिसकेपछि सेयर बजारको प्रारम्भिक चरणको एउटा खाका तयार पारिएको थियो ।  

वित्तीय क्षेत्रमा जब निजी बैंकहरूको प्रवेश भयो, त्यसपछि सेयर कारोवारको आधार मात्रै तयार भएन, बजारको लागि सबैभन्दा आवश्यक कुरा सेयरको वृद्धि भयो । त्यसबखत राष्ट्र बैंकका गर्भनर कुलशेखर शर्माले पब्लिक कम्पनीको रूपमा बैंकहरूले ४० प्रतिशत सेयर पब्लिकलाई बिक्री गर्नुपर्ने नीतिगत निर्णय गर्नुभयो । यसले संस्था विकास गर्ने अवसर पायो । नीतिगत कुराहरू पनि विस्तारै तयार भए । बैंकहरूको तीव्र गतिले वृद्धि भयो र सेयरधनीहरूको पनि वृद्धि भयो । यसले गर्दा सेयर बजारमा आपूर्तिको चाप बढ्न थाल्यो । बजारको विकाससँगै सेयरको संख्यामा पनि व्यापक रूपमा वृद्धि भयो । एवम् प्रकारले सेयर बजारको सुरुवात भयो । एउटै संस्थाले सिंगो बजारलाई नियमन तथा व्यवस्थित गर्न असम्भव देखियो । यसै कुरालाई मध्यनजर गरी २०४८ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र टुक्रिएर तीन संस्था खडा भए । बजार नियमन गर्न धितोपत्र बोर्डको गठन भयो । सेयर बजारको सेकेन्डरी काम गर्न स्टक एक्सचेन्ज स्थापना भयो भने प्राइमरी कामका लागि नागरिक लगानी कोषको स्थापना भयो । सरसर्ती हेर्दा सेयर बजारको इतिहास यसरी अगाडि बढेको हो । 

सर्वसाधारणले सेयरलाई कसरी बुझ्ने र लगानी गर्ने ? 

सेयर आफैमा जटिल कुरा हो । यो साधारण अरु जस्तो चिज होइन । लगानीका साधन भित्रैमा पनि सेयर डिबेन्चर, म्युचुयल फण्ड, सरकारी ऋणपत्र इत्यादि कुरा पनि आउँछन् । सेयर अलि पृथक कुरा हो । लगानीकर्ताले सेयरमा लगानी गर्ने भनेको सेयरबाट प्रतिफल प्राप्त गर्नका लागि हो । त्यसको प्रतिफल कम्पनीको सेयरको कार्यक्षमतामा निर्भर हुने गर्छ । कम्पनीको कार्यक्षमता देशको नीति, कारोवारको बजार, व्यवस्थापनको गुणस्तर, अवसर र अन्तर्राष्ट्रिय वातावरण आदिले असर गरिराखेको हुन्छ । कम्पनीले दिने प्रतिफलमा निर्भर हुने र त्यसको प्रतिफलको कारणले सेयर बजारको मूल्यसमेत निर्भर हुने हुँदा यो ज्यादै जटिल विषयवस्तु हो । 

आम सर्वसाधारणले के आधारमा सेयर खरिद गर्ने त ? 

सेयर बजार जटिल भएकाले नै सरकारले जिम्मेवारी लिएर स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड, नागरिक लगानी कोषजस्ता संस्था सञ्चालनमा ल्याइरहेको छ । ती निकायबाट बिक्री हुने धितोपत्रको सूची तयार गर्ने, सूचना प्रवाह गर्ने आदि कार्य सरकारले नै गरिरहेको छ । त्यसमा आउने चिजको यथेष्ट मात्रामा सर्वसाधारण लगानीकर्ताले जानकारी पाउन र त्यसको आधारमा मूल्यांकन गर्ने सजिलो होस् भनेर सरकारले एक खालको प्रारूप समेत तयार गरेको छ । अलि सेयरको बारेमा बुझ्नेले त कम्पनीको विवरण, स्टक एक्सचेन्जको विवरण, धितोपत्र बोर्डको विवरण हेरेर मूल्यांकन समेत गर्छन् । यसमा लगानीको मूख्य आधार प्रतिफल नै हो र प्रतिफलको आधार भनेको फेरि पनि सूचना हो । त्यसकारण सूचना समयमा पुगोस् भनेर नै यस्ता सूचना तयार गरिदिएको हुन्छ । अब यसको मान्यता लगानीकर्ताले बुझेको छ, ऊ आफैंले मूल्यांकन गर्छ । तर, यदि लगानीकर्ताले बुझेको छैन भने सल्लाहकारसँग सल्लाह लिन सक्छ भन्ने हो । तर, हाम्रो बजारमा यस्ता सल्लाहकारको अभाव छ । सल्लाहकारले यो क्षेत्रमा जोखिमपूर्ण छ भन्यो भने म्युचुयल फन्डमा जाने विकल्प लगानीकर्तासँग छ । यसमा संस्थागत लगानीकर्ताहरूले अध्ययन गरेर कति प्रतिफल दिन सक्छ भनी मूल्यांकन समेत गरी अनुमानका आधारमा लगानी गर्ने वातावरण सृजना गरिएको हुन्छ ।

एउटा साधारण मान्छेले सेयरमा लगानी गर्न चाहेको खन्डमा उसलाई सेयर र कम्पनीले दिने प्रतिफलको बारेमा बुझाउने ठाउँको अभाव छ भन्न खोज्नुभएको हो ? 

हो, मैले भन्न खोजेको विषय यही हो । अहिले हाम्रो बजार तल–माथि हुनुमा सबैभन्दा बढी अभाव त्यसको खड्किएको छ । यहाँ लगानीसम्बन्धी सल्लाहकार नभइकन सर्वसाधारणले यो बुझ्न गाह्रो छ । किनकि चिज नै जटिल चिज हो । 

निश्चित ८/१० जना मान्छेको नियन्त्रणमा छ शेयर बजार, उनीहरूले चाहेका दिन बजारमा घटबढ हुन्छ भन्यो भने सही हुन्छ कि गलत ? 

सही हुन पनि सक्छ । अध्ययन त भएको छैन । अध्ययन नभई हचुवाका भरमा भन्न हुँदैन । अन्तर्राष्ट्रिय स्टक बजारको व्यवहार अध्ययन गर्नेले के निष्कर्ष निकालेका छन् भने सर्वसाधारण मान्छेले सिधा हिसाब गर्छ । अलिकति अध्ययन विश्लेषण गर्नेले जे गर्यो त्यसको पछाडि लाग्ने प्रचलन यहाँ मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि देखिन्छ । आम सर्वसाधारणका लागि सबै सूचना उपलब्ध पनि हुँदैन र विश्लेषण गर्ने विधि पनि थाहा हुँदैन । त्यसैकारण सेयर कारोबार गरिरहने वा  जान्नेले जे गर्यो त्यही गर्नु स्वभाविक हो । पैसा हुनेले त सल्लाहकार राखेर पनि लगानी गर्न सक्ला । तर, नहुने वा नसक्नेले भनेको म्युचुअल फन्डमा लगानी गर्नु सुरक्षित हुन्छ  अथवा यसमा जोखिम कम छ ।  

हामीकहाँ अघिल्लो दिन सेयर बढ्यो भनेर कुद्ने तर भोलिपल्ट फेरि निराश हुनुपर्ने हुन्छ यसको कारण राज्यको कमजोर नीति, लगानीकर्तामा चेतना कमी तथा चाँडो नाफा खोज्ने प्रवृतिमध्ये कुन पक्ष जिम्मेवार छ ? 
यसमा तपाईँले भनेका तीनवटै पक्ष त्यतिकै जिम्मेवार छन् । यो प्राविधिक र गतिशील दुवै विषय पनि हो । जुन मोडालिटी बनाएर आज हामीले बजार बनाएका हुन्छौं भोलि त्यो परिवर्तन भइसकेको हुन्छ । नयाँ पुस्ता, प्रविधि, नयाँ संस्थाहरू आउँछन् बजारमा । त्यसले गर्दा जनताको भावना अनुसार लगानीकर्ताले बजारमा जुन व्यवहार गर्छ त्यसअनुसार बजारलाई पनि संरचनात्मक परिवर्तन अनि अद्यावधिक गर्दै जानुपर्छ । यो चक्लेट कारखाना जस्तो आज स्थापना गरेर वर्षौं चक्लेट उत्पादन गरेजस्तो बजार होइन । त्यही भएर बेलाबेलामा सरकारले आफ्नो मान्छे ल्याएर राख्छ, प्राविधिकलाई पन्छाउँछ । त्यो जुन तवरबाट बजार सुरु गरियो, त्यो मनसाय त के हुन्छ भने यति वर्षपछि यो–यो परिवर्तन आएपछि यसका संरचनामा यहाँ यहाँ परिवर्तन गर्ने भन्ने हुन्छ । मोबाइल जस्तो संस्था पनि अपडेट हुँदै जानुपर्छ । कारोवारको प्रकृति, प्रक्रिया, मोडल, सूचना हस्तान्तरण गर्ने प्रवृत्तिका हिसाबले गर्दा आज सेयर बजारमा हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको स्ट्रकचरल पार्ट नै हो । संचालन पक्ष राम्रोसँग विकास भएको छ । स्ट्रकचरल पार्ट हाम्रो कमजोरी रहँदै आएको छ । यो विषयलाई छुँदै छोएनन् उनीहरूले । त्यो नछुनुको सबैभन्दा ठूलो अर्थ के हो भने अब जो मान्छे जागिर मात्रै खाने प्रवृत्तिको हुन्छ, त्यसलाई प्राविधिक हिसाबले अपडेट गर्न नसकेका कारण समय–समयमा संरचनाले नधानेर समस्या देखा पर्नेगर्छ । 

विगत एक वर्षदेखि सेयर बजार निरन्तर ओरालो लाग्यो भनिँदैछ, यसरी ओरालो लाग्नुको कारण के हो ? 

यसमा विभिन्न तत्व जिम्मेवार हुन्छ । निक्षेपको ब्याजदर बढेको छ, जहाँ जोखिमसमेत कम छ । बजारमा तरलताको कमी छ । अर्को भनेको आपूर्तिको समस्या । दुई अर्बको निक्षेपमा संचालन भएका बैंकलाई आठ अर्ब पुर्याउन भनिएको छ, जसले गर्दा राइट सेयरदेखि बोनस सेयरसम्म वितरण भइरहेको अवस्था छ, त्यसले गर्दा पनि मूल्य गिरावट भएको छ । फेरि नेपालको सेयर बजारमा करिब ८० प्रतिशत हिस्सा बैंकले ओगटेको छ । निजी क्षेत्रलाई लगानी गर्न दिने, उद्योग खोल्न बढावा दिने, प्रोत्साहन दिने नीति सरकारले लियो भने निश्चित रूपमा पूँजी बजार स्वतः वृद्धि हुन्छ । किनकि त्यहाँ अवसर नै अवसर सृजना भएको हुन्छ । सरकार आफैं व्यवसाय गर्छु भनेर अरुलाई हतोत्साही गरे बजारले त्यसै अनुरूपको व्यवहार देखाउँछ । त्यही देखाएको हो जस्तो लाग्छ ।

सेयर दलालकै हातमा सबैकुरा हुन्छ भन्यो भने सही हुन्छ कि गलत ? 

गलत हुन्छ । यहाँको हाम्रो संरचना अनुसार दलालले मूल्यमा प्रभाव पार्न सक्ने अवस्था छैन । जबसम्म आफ्नो पैसा लगानी गर्ने आधार हुँदैन, तबसम्म बजारको हात हुँदैन । हाम्रो बजार कमजोर भएका कारणले तपाईँले लगानी गर्न दलालसँग सोध्नुहुन्छ, उसले आजको भोलि यसो हुन्छ भन्न सक्छ । तर, विश्लेषण गरेर दीर्घकालको प्रभाव बताउन सक्दैन । 

सेयर बजारका विज्ञ तथा विश्लेषकको अभावले नै धेरै समस्या भएको हो ? 

आफैं लगानी गर्ने म्युचुयल फन्ड जस्तोमा वृद्धि भएको छ । तर, पैसा तिरेर सूचना लिने विज्ञ अथवा संस्थाको कमी छ । यसकारण अवसरवादी (दलाल)ले बजार कमजोर भएको मौका छोपिरहेका छन् । र, आफूलाई चाहिएको बेलामा बजार क्रयास गराउँछन्, आफूसँग स्टक भएका बेला बजार वृद्धि गराएर बिक्री गर्छन् । यस्तो कमजोर बजारमा यो सम्भावना हुन्छ । चेक एण्ड ब्यालेन्स बजार भएको ठाउँमा यस्तो हुँदैन । कम मूल्यमा बिक्री भएको थाहा पाउनासाथ खरिदकर्ता धेरै आउँछन् भने धेरै मूल्यमा बिक्री गर्दा बिक्रीकर्ता धेरै आउँछन् । यसरी बजारको सन्तुलन कायम भएको हुन्छ । 

सरकार कति जिम्मेवार छ अहिलेको बजार गिरावट हुनुमा ? 

मैले प्रत्यक्ष त्यसो नभनौं । तर, बजार तल जानुको अर्थ त पक्कै पनि त्यतातिर नै संकेत गर्छ । सरकारले पूँजी बजारको लागि यत्रो खर्च गरिरहेको छ भने कहीँ त्यहाँका मान्छे नै पो उपयुक्त भएनन् कि ! जनता नठगिउन भनेर यत्रो संरचना बनाएको छ । तर, पनि कारोवारमा गिरावट आउनुले कमजोरी छ भन्ने संकेत गर्छ । 

अहिले तपाईँ के गरिरहनुभएको छ ? 

नागरिक लगानी कोषबाट अवकाश भएपछि २/३ वर्ष संकटग्रस्त संस्थाको व्यवस्थापनमा लागें । शेयर बजारलाई प्रभाव पार्ने अर्को तत्व भनेको घर जग्गा कारोबारको बजार मुख्य हो । आफूसँग भएको अनुभव सरकारलाई पनि काम लागोस् भनेर नेसनल क्यापिटल एन्ड इन्भेस्टमेन्ट नामक संस्था बनाएर घर जग्गा व्यापार व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने काम गरिरहेका छौं ।