स्वचालित स्नायु पद्धति तलमाथि हुँदा हुने असर र लाग्ने रोगहरू

स्वचालित स्नायु पद्धति तलमाथि हुँदा हुने असर र लाग्ने रोगहरू

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  फाल्गुन २७, २०७६

स्वचालित स्नायु पद्धति अर्थात् अटोनोमिक नर्भस सिष्टम सिम्पेथेटिक र पारा सिम्पेथेटिक स्नायुमा विभाजित छन् । यी स्नायुहरूका आफ्नाआफ्नै कामहरू हुन्छन् । यी स्नायुहरू प्रभावित हुने अवस्थालाई डिस्अटोनोमिया भनिन्छ । यी स्नायुहरू उत्तेजित हुनुका साथै रोगले यिनीहरूलाई कमजोर पनि तुल्याउँछ । 

रोगग्रस्त स्वचालित स्नायुहरूले आफूले गर्नुपर्ने काम गर्न सक्दैनन् । यी स्नायुहरू विभिन्न किसिमका रोगहरूका कारण प्रभावित हुन्छन् भन्ने कुरामा भने अझै विशषेज्ञहरूले पत्ता लगाउन सकेका छैनन् ।

चिनी रोग, बाथरोग, मल्टिपल स्क्लेरोसिस,पार्किन्सन डिजिज, सिलियाक डिजिज, सिष्टेमिक लुपस, गिलेन वरे सिण्ड्रम र एमाइल्वाइडोसिस नामक रोगहरूमा सञ्चालित स्नायुहरू प्रभावित भएको पाइएको छ । क्रनिक किड्नी डिजिज, हार्टफेलिअर र पुरानो दम खोकीले पनि स्वचालित स्नायु प्रणालीलाई प्रभावित तुल्याउँछन् । 

संसारभर सात करोडको जनसंख्या उपरोक्त स्नायु रोगबाट प्रभावित रहेका छन् । अर्को शब्दमा भन्नुपर्दा यो स्नायुरोगले संसारका धेरै महिला र पुरुषलाई रोगी बनाएको छ । माथि उल्लेख गरिएका रोगहरू भएका व्यक्तिहरूमा स्वचालित स्नयु प्रणालीलाई प्रभावित परे, नपरेको कुरा विशेष प्रकारका जाँच र परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यी जाँच र परीक्षण गर्दा धेरै खर्चालु मेसिनको आवश्यकता पर्दैन । 

न्युरोकार्डियोजनिक सिन्कोप स्वचालित स्नायुको मुख्य रोग मानिन्छ  । यो रोगबाट लाखौँलाख मानिसहरू ग्रसित भइरहेका छन् । यो रोगमा मानिस बेहोस हुन्छ । उभिँदा रगत शरीरको तल्लो भागमा जम्मा हुन्छ । मस्तिष्कमा रगत नपुग्दा मानिस बेहोस हुन्छ । 

पोस्चुरल अर्थोस्टाटिक हाइपोटेन्सन् !

२ देखि ५ मिनेट उभिँदा सिष्टोलिक ब्लडप्रेसर २० मिलिमिटर मर्करीभन्दा कम अथवा डायष्टोलिक ब्लड प्रेसर १० मिलमिटर मर्करीभन्दा कम भएको पाइयो भने अर्थोस्टाटिक हाइपोटेन्सन भनिन्छ । अटोनोमिक स्नायुहरू २ किसिमका हुन्छन् । सिम्पेथेटिक स्नायु उत्तेजित हुँदा रक्तचाप बढ्छ भने पारासिम्पेटिक स्नायुले घटाउँछ । 

यसै कारणले सिम्पेथेटिक स्नायुलाई रोग लाग्दा रक्तचाप घट्छ । उच्च रक्तचापमा प्रयोग गरिने औषधिहरूले पनि उभिँदा रक्तचाप कम गराउँछन् । वृद्धावस्थामा उभिँदा रक्तचाप कम हुन सक्छ ।

उभिँदा रक्तचाप कम भएर मस्तिष्कमा राम्ररी रक्त संचार हुँदैन र रिङटा लाग्ने, टाउको भारी हुने र कहिलेकाहीँ बेहोस हुनेजस्ता लक्षणहरू देखा पर्न सक्छन् । ज्यादा उमेर भएकाहरूमा उभिँदा रक्तचाप कम हुने संभावना ज्यादा हुन्छ । ६५ वर्षभन्दा ज्यादा उमेर भएकाहरूमा उभिँदा रक्तचाप कम हुने संभावना २० प्रतिशत पाइएको छ ।


उभिँदा रक्तचाप कम हुने सबै जनालाई यसका लक्षणहरू नहुन पनि सक्छन् । उभिँदा रक्तचाप कम भएर हुने लक्षणहरू सुतेको अवस्थामा हुँदैनन् । यसर्थ रक्तचाप कम भएर हुने देखिने लक्षणहरू हुनेहरूले तुरुन्तै ओछयानमा पल्टिनुपर्छ । ओछयानमा पल्टिँदा मस्तिष्कमा रक्त संचार भएर हुने लक्षणहरू हराउँछन् । यो सामान्य ज्ञान सबैले थाहा पाइरहनुपर्छ ।

सिम्पेथेटिक स्नायुलाई कसरी प्रभाव पर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । फोक्सोको माथिल्लो भागको ट्युमरलाई पानकोष्ट ट्युमर भनिन्छ । यो ट्युमरले सिम्पेथेटिक स्नायु ग्याङ्गिलयालाई थिचेर  ‘हर्नर सिण्ड्रोम’ गराउँछ । सिम्पेथेटिक ग्याङ्गिलया भनेको स्नायु कोषहरूको समूह हो । 

यिनै ग्याङ्गिलयाहरूबाट सिम्पेथेटिक स्नायुहरू निस्केर शरीरका विभिन्न अंगहरूमा पुग्छन् । हामीले थाहा नपाई यिनीहरूले मुटुलाई धड्कन लगाउने र पसिना निकाल्ने जस्ता काम गरिरहेका हुन्छन् ।

हर्नर सिन्ड्रोममा एकापट्टिको  आँखाको नानी सानो हुन्छ । आँखालाई ढाक्ने पर्दा कमजोर हुनु यसको अर्को लक्षण हो । यसलाई अंग्रेजी भाषामा  टोसिस भनिन्छ । यो रोगले एकापट्टि मात्र प्रभाव पार्छ र त्यतातिर पसिना आउँदैन । यी लक्षणहरू सिम्पेथिक स्नायुमा प्रभाव पारेर भएका हुन् । माथि उल्लेख गरिएका लक्षणहरू भएका  व्याक्तिहरूलाई फोक्सोको क्यान्सर हुने  संभावना भएकाले आवश्यक अन्य परीक्षणहरू गर्नुपर्ने हुन्छ ।

सिम्पेथेटिक स्नायु प्रभाव पार्ने माथि उल्लेखि गरिएका  रोगहरू हुने व्यक्तिहरूलाई सिम्पेथेटिक स्नायुको रोग भए, नभएको पत्ता लगाउनुपर्छ । सिम्पेथेटिक स्नायुलाई प्रभाव पार्ने अन्य रोगहरूमा पार्किन्सन्स डिजिज, पक्षघात, इन्सेफ्लाइटिस मल्टिपल स्क्लेरोसिस । स्पाइनल कर्डका ट्युमरहरू पनि पर्छन् ।

उभिँदा रक्तचाप कम भयो भने के गर्नुपर्छ ?

उभिँदा कम हुने कारणहरू पत्ता लगाएर उपचार गराउनुपर्छ । टाउको तिरको खाटलाई केहि अग्लो पारेर सुत्नु राम्रो हो । समय समयमा तरल पदार्थ लिंदा रक्तचाप घट्न पाउँदैन, खानामा नुनको मात्रा बढाउनाले पनि रक्तचाप घट्न पाउँदैन । खानामा नुनको मात्रा बढाउनुले पनि रक्तचाप घट्न पाउँदैन, पिँडुलामा कम्प्रेसन स्टाकिङ् लगाउँदा उभिँदा अचानक रक्तचाप कम हुन पाउँदैन । 

Midodrine नामक औषधि पनि प्रयोग गर्न सकिन्छ । यो औषधि ३.५ मिलिग्राम, ५ मिलिग्राम र १० मिलिग्राम दिनमा ३ पटकसम्म र पछि आवश्यक परेमा १० मिलिग्राम दिनमा ३ पल्ट ५ दिनसम्म दिन सकिन्छ । रक्तचाप कम हुन नदिन फ्लुड्रो कर्टिजोन नामक औषधि पनि प्रयोग गरिन्छ ।


स्वचालित स्नायु पद्धतिलाई धेरै प्रकारका रोगहरू लाग्न सक्छन् । सिम्पेथेटिक स्नायुले  मुटुको गति र रक्तचाप बढाउँछ । तर, पाचन क्रिया र पिसाब गर्ने प्रक्रियालाई घटाउँछ । यसको विपरीत पारा सिम्पेथेटिक स्नायुले मुटुको गति र रक्तचाप घटाउँछ ।  तर, पाचन शक्ति र पिसाब गर्ने प्रक्रियालाई भने बढाउँछ ।

पोस्चुरल अर्थोस्टाटिक टेकी कार्डियो सिण्ड्रोम

स्वचालित  स्नायुको  यो रोगलाई पटस  -POTS_ पनि भनिन्छ । यो रोगमा उभिँदा मुटुको चाल बढ्छ । तर, प्राय: गरेर रक्तचापमा प्रभाव पर्दैन । टाउको भारी हुनु, थकावट लाग्नु, कब्जियत हुनु अथवा पातलो दिसा हुनुु यो रोगका लक्षणहरू हुन् । यो रोगमा कसैलाई ज्यादा पसिना आउँछ भने कसैलाई पसिना नआउने हुन्छ । केही व्यक्तिहरू बेहोस पनि हुन्छन् । 

विषाणु अर्थात् भाइरसबाट संक्रमण भएपछि १५–५० वर्षका महिलाहरूलाई यो रोग हुने संभावना ज्यादा हुन्छ । अमेरिकामा ५ लाख जनालाई यो रोग भएको अनुमान गरिएको छ ।

उभिँदा मुटुको धड्कन एक मिनेटमा १२० भन्दा ज्यादा अथवा भइरहेको मुटुको चालभन्दा  ३० धड्कन  ज्यादा हुन्छ । यो रोगलाई नियन्त्रण गर्न फुल्ड्रोकार्टिजोन, मिडोड्रिन, पाइरोडुसटगमिन, विटाब्लकरस, क्लोनिडिन, मिथायलडोपा आदि औषधिहरूको प्रयोग भएको पाइन्छ । 

यो रोगमा रगतको भोलुम कम हुने हुनाले शरीरद्वारा सलाइन दिँदा यसका लक्षणहरूमा सुधार आउँछ ।

मल्टिपल सिस्टम एट्रोफी

मल्टिपल सिस्टम एट्रोफी एक किसिमको मस्तिष्कको रोग हो । यसमा स्वचालित स्नायु प्रभावित हुन्छन् । रक्तचाप, सास फेर्ने प्रक्रिया , पिसाब फेर्ने प्रक्रिया, यौन शक्ति र मांशपेसीहरू प्रभावित हुन्छन् । 

मस्तिष्कको  यो रोगलाई पहिले  साइड्रागर सिण्ड्रोम भनिने गरिन्थ्यो । एक लाखमा करिब ३ जनालाई हुने यो रोग ५० वर्षजतिका पुरुष तथा महिलाहरूमा पाइन्छ । एक प्रकारको मल्टिपल सिस्टम एट्रोफनेमा पार्किनसन डिजिजमा पाइने लक्षणहरू हुन्छन् भने अर्को किसिममा सेरेवेलमका रोगमा पाइने लक्षणहरू पाइन्छन् । यो रोगको कारण थाहा हुन सकेको छैन र यसलाई निको पार्ने गरेर ५–१० वर्षभित्रमा फोक्सोको संक्रमणद्वारा मृत्यु हुन्छ ।

न्युरो कर्डियोजनिक सिन्कोप 

न्युरोकार्डियोजनिक सिन्कोप स्वचालित स्नायुको मुख्य रोग मानिन्छ  । यो रोगबाट लाखौँलाख मानिसहरू ग्रसित भइरहेका छन् । यो रोगमा मानिस बेहोस हुन्छ । उभिँदा रगत शरीरको तल्लो भागमा जम्मा हुन्छ । मस्तिष्कमा रगत नपुग्दा मानिस बेहोस हुन्छ । 

यो रोगको लक्षण हुन नदिन तरल पदार्थ प्रयोग गर्नुका साथै मद्यपान पनि गर्नुहुँदैन । टाइट कपडा लगाउनुहुँदैन । धेरै गर्मीमा पनि यो रोगका लक्षणहरू आउँछन् । यसर्थ धेरै गर्मी भएको ठाउँमा धेरैबेर बस्नुहुँदैन ।