दक्ष जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोग बिहीन

दक्ष जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोग बिहीन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन २७, २०७६

तनहुँ । प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा रहेको एक्सरे मेसिन प्रयोग बिहीन भएको छ । स्वास्थ्यसेवा विभागले प्रदान गरेको एक्सरे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा दुई वर्षदेखि प्रयोग मेसिन प्रयोग बिहीन भएको हो ।

स्वास्थ्य केन्द्रमा दैनिक ६०/७० जना बिरामी उपचारको लागि आउने गरेका छन् भने त्यसमध्ये लगभग १०/१५ जना एक्सरे गर्नुपर्ने भएपनि उनीहरुलाई सेवा दिन नसकिएको केन्द्रका प्रमुख डा प्रकाश नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ एक्सरे गर्नुपर्ने बिरामीलाई सिधैँ पोखरा पठाउँदै आएका छौँ ।’ 

 भीमाद बजार क्षेत्रमासमेत रेडियोलोजिष्ट नहुँदा सेवाग्राहीले गुणस्तर सेवा पाउन सकेका छैनन् । उक्त स्वास्थ्य केन्द्रमा स्याङ्जाको चित्रेभञ्ज्याङ, घिरिङ, ऋषिङ, पाटनलगायतका क्षेत्रबाट बिरामी उपचारको लागि आउने गरेका छन् । पछिल्लो समय बीमा गरी उपचारको लागि आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको डा नेपालीले बताउनुभयो । 

‘नेपाल सरकारबाट प्राप्त ६३ किसिमका औषधि निःशुल्क रुपमा वितरण गर्दै आएका छौँ । व्यवस्थापन समितिद्वारा निर्णय गरी बीमा नगरेका अन्य बिरामीका लागि फार्मेसीमा औषधि खरिद गर्दा ८ प्रतिशत छुटको व्यवस्था गरिएको छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा १३ लाख रुपैयाँको औषधि खपत भएको स्वास्थ्य केन्द्रले जनाएको छ । 

उक्त स्वास्थ्य केन्द्रमा चौबिसै घण्टा सेवा दिँदै आएइको छ । उहाँले भन्नुभयो, ‘डेलिभरी, आँखा उपचार, आकस्मिक लगायतका सेवा चौबिसै घण्टा दिँदै आएका छौँ ।’ बिरामीको लागि फार्मेसीमा औषधि नभए मगाएर भए पनि सेवा दिने गरिएको र केन्द्रलाई १५ श्यया क्षमताको बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।