सकारात्मक कर्म र उर्जाः अभाव र अप्ठेरोमा पनि सुन्दर जीवनको खोजी
फाल्गुन २७, २०७६

जीवन के हो भन्ने प्रश्न गर्‍यौँ भने मानिसैपिछे फरक विचार आउन सक्छ । यसलाई  बुझ्ने र व्याख्या गर्ने आ–आफ्नै तरिका हुन सक्छन् । कसैले जीवनलाई यात्रा भन्ने गर्दछन् त कसैले भोगाई भन्न सक्छन् वा  कसैले अनुभव भन्ने गर्दछन् । यस्ता थुप्रै खालका परिभाषाहरू हुन सक्छन् । 

भारतका महान् आदर्श नेता महात्मा गान्धीले ‘लाइफ इज माई म्यासेज’ भनेका छन् । लेखिका झमक कुमारीले त जीवन काँढा कि फूल भनेर किताब नै तयार पारी  हामीलाई दिएकी छन् ।  

परिभाषा जे जस्तो भए पनि जीवन कस्तो बनाउने ? कठिन या सहज, सुन्दर कि अप्ठ्यारो !, फूल की काँढा अथवा निभ्न लागेको दियो जस्तो बनाउने कि कस्तो बनाउने ?  यी सब हामी मनुष्यको हातमा नै निर्भर हुने गर्दछ । 

जीवन जिउँदै जाँदा कोही मानिसले दुःखको महसुस नै गर्नु पर्दैन । तर कोही मानिसको जीवनमा भने सोच्दै नसोचेका समस्या, दुःख अनि अप्ठ्यारा  आइपर्न सक्छन् ।  त्यसैलेले भन्ने पनि गरिन्छ जीवन दुःख र सुखको सङ्गम पनि हो । मानिसको जीवनमा कति बेला के पर्छ,  कसैलाई थाहा हुँदैन । 

मानिसको जीवन अनिश्चित हुन्छ त्यसैगरि मानिसको जीवन पनि अनिश्चित नै हुन्छ । आज राजसी जीवन बिताउनेहरू भोलि सडकमा पुगेको पनि हामीले आफ्नै आँखाले देख्ने गरेका छौँ । हिजोका दिनमा गरिब हुनेहरू भोलिका दिनमा आनन्द र सुखीको जीवन पनि बिताइरहेका हुन्छन् । 

कसै कसैले यसलाई कर्मको फलको संज्ञा दिने गर्छन् । तर सत्य कुरा के हो भने मानिसले सत्कर्म नगरी उसले भाग्य मात्र परिवर्तन गर्न खोजेर परिवर्तन गर्न सक्दैन । सत्कर्मले नै मानिसको भाग्य बनाउँछ । 

दुःखको कुरा जब मानिसलाई दुःख पर्दछ, यस्ता बेलामा साथ दिने मानिसहरूका नभेटिन पनि सक्छन् । आफ्नै मानिसले पनि साथ नदिएका घटनाहरू हाम्रै समाजमा धेरै छन् । जब घरको महिलालाई रोग लाग्छ !, बिरामी पर्न थाल्छ, यस्तो बेला कतिपय श्रीमतीलाई साथ नदिएर बालबच्चाको बिचल्ली पारेर घर छाडेर हिँड्ने पुरुष पनि हाम्रो समाजमा नभएका होइनन् । त्यसैले दुःखका बेलामा धेरै मानिसको आत्तिने स्वभाव हुन्छ । कत्तिले त म अव सिद्धिए भन्ने पनि सोच्छन् र गति छाड्ने पनि गर्छन् । 

 तर कोही व्यक्ति भने साहसी स्वभावका हुन्छन्  । जस्तो अप्ठ्यारा र कठिनाइ आए पनि यसलाई समाधान गर्नु पर्छ भन्ने सोच्छन् र जिन्दगीको यात्रालाई अगाडि बढाउँछन् । यसरी हेर्दा, जिन्दगीका परिभाषा अनेकन् भए पनि नमर्दासम्म हामीले गर्ने कर्म अनि जिउने क्रमका भोगाइहरू नै जीवन हो, जिन्दगी हो । 

यसलाई कुनै भूगोलले फरक पार्दैन । जून देशमा हामी जन्मिए पनि जीवन जिउने तरिका फरक हुन्छन् । तर मानिस जन्मन्छ, हुर्कन्छ, जिउने क्रममा उसले कर्मलाई पनि अघि बढाउँछ । बुढो हुन्छ अनि मृत्यु त  अन्तिम सत्य छँदै छ ।

जीवन जिउन जान्ने हो भने निकै सुन्दर छ । जिउन नजान्नेका लागि घाँडो पनि हो । जिन्दगी देखि कतिपयलाई पट्यार लाग्ने गर्छ । जिन्दगी निकै नै झर्को लाग्ने गर्छ । 

यही जिन्दगीलाई आनन्दित तुल्याउनका लागि मानिसले जीवनमा निकै नै दुःख पनि गरिरहेका हुन्छन् । कसैले जिन्दगी आफ्नो बसमा नभएको कुरा गर्छन् भने कसैले जिन्दगीलाई आफैँ बनाउने हो भन्ने सोच राख्छन् । कसैको सोचाइ कस्तो हुन्छ भने हामी पृथ्वीमा जन्मिएका प्राणी मात्र हौँ हाम्रो जिन्दगी चलाउने व्यक्ति भगवान् हुन् भन्ने सोच्ने गर्छन् । 

कोही भने हाम्रो जिन्दगी भावीले लेखेको अनुरूप चल्ने गर्छ भन्ने सोचाई राख्ने गर्छन् । भाग्यमा विश्वास राख्नेले यस्ता कुराको अनुसरण गरे पनि जीवन कस्तो बनाउने कसरी बाँच्ने भन्ने कुराको निर्णय हामी मानिससँग नै हुन्छ । कर्म नगरी भाग्यले मात्र जीवन सुन्दर बन्दैन । मानिसले कर्म गरेपछि नै उसको जीवन सुन्दर बन्ने हो । सकारात्मक कर्मले मानिसको जीवनमा सकारात्मक ऊर्जा भरिन्छ । सकारात्मक ऊर्जा हुनेले आफ्नो परिवार र समाजको भलाइको निम्ति नै कर्म गर्ने गर्छ । सधैँ राम्रा विचारहरू अगाडि लिएर बढ्दा जीवनमा पनि राम्रा राम्रा कामहरू आफैँ बन्दै जान्छन् । 

पृथ्वीमा जन्मिएका प्राणीहरू मध्ये मानिसलाई सर्वश्रेष्ठ प्राणीको रूपमा लिने गरिन्छ । मानिससँग सोच्ने बुद्धि र विवेक हुन्छ । यही बुद्धि र विवेक अनुसार नै उसले कर्म गरिरहेको हुन्छ । जीवनलाई सहज बनाउने की अप्ठ्यारो बनाउने भन्ने पनि हाम्रो आफ्नै हातमा हुन्छ । मानिस जति सरल बन्यो उसको जीवन उत्तिकै सहज र आनन्दमय बन्ने गर्छ । महँगा पलङ र बिछ्यौनामा सुतेर मानिसको जीवन आरामदायी हुने होइन । यदि मानिसको मन अशान्त छ, सत्कर्म गरेको छैन कालो धनबाट महँगो विछयौनामा सुतेको छ भने उसलाई निद्रा लाग्नुको साटो छटपटी हुने गर्छ । त्यसैले सत्कर्म गर्न नचुकौँ जीवन आफै हराभरा हुँदै जान्छ र मानिसको जीवन आफैँ फलिफाप हुँदै जान्छ ।