प्रदेश प्रमुख अधिकारीद्वारा बाबा बर्दगोरियाधामको अवलोकन

प्रदेश प्रमुख अधिकारीद्वारा बाबा बर्दगोरियाधामको अवलोकन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २८, २०७६

नवलपरासी । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पश्चिम नवलपरासीको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाबा बर्दगोरियाधामको अवलोकन गर्नुभएको छ ।
 
प्रदेश प्रमुख अधिकारीले आज सुनवल नगरपालिका–११ मा अवस्थित धामको अवलोकन भ्रमण गर्दै धामको महत्व र यहाँ भइरहेका विकासका कामका बारेमा जानकारी लिनुभएको धाम विकास समितिका अध्यक्ष नारायणप्रसाद तिवारीले जानकारी दिनुभयो । आध्यात्मिक सुखको अनुभूति गराउने चुरे पहाडको काखमा अवस्थित बाबा बर्दगोरियाधाम पछिल्लो समय पर्यटकको रोजाइँमा पर्ने गरेको छ । यहाँको मनोरम वातावरणमा रमाउन र वनभोजका लागि पनि दैनिकरूपमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । 

शिवभक्त नन्दीकेश्वरको तपोभूमिका रूपमा परिचित यो धामलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश नं ५ सरकार र सुनवल नगरपालिकाको लगानीमा अहिले विभिन्न पर्यटकीय पूर्वाधार निर्माण भइरहेका धामका अध्यक्ष तिवारीले बताउनुभयो ।
 
यहाँ पूजाअर्चनाका लागि बाह्रै महिना भक्तजनको आगमन हुने गरेको छ भने नेपाली नारीको महान्पर्व हरितालिका तीजका दिन यहाँ पश्चिम नेपालकै सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ । बाला चतुर्दशी, शिवरात्रि तथा साउन महिनामा पनि भक्तजनको ठूलो भीड लाग्ने गरेको छ । मन्दिरको अगाडिपट्टि रहेको ऐतिहासिक अमर पोखरीलाई पनि सौन्दर्यकरण गरिएको छ । यो ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन लामो समयदेखि प्रयास हुँदै आएको छ ।

लुम्बिनी, देवदह, रामग्राम, त्रिवेणीधाम हुँदै बर्दगोरियाधामलाई पनि बुद्ध सर्किटमै जोडी धार्मिक तथा पर्यटकीय क्षेत्र विस्तार गर्ने उद्देश्यले धाम विकास समिति र नगरपालिकाले पहल गर्दै आएको नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताउनुभयो । यस धाम क्षेत्रमा पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले यसै धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्ने तयारी गर्नुभएको छ ।