प्राप्त अधिकार  दुरूपयोगको कसीमा अन्तर्राष्ट्रिय महिला दिवस

प्राप्त अधिकार  दुरूपयोगको कसीमा अन्तर्राष्ट्रिय महिला दिवस

बम बानियाँ  |  दृष्टिकोण  |  फाल्गुन २८, २०७६

अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ मा संसारभर मनाइन्छ । यो महिलाहरूको समाजिक, आर्थिक, राजनीतिक उपलब्धि प्राप्तिको दिनको रूपमा मानिन्छ । सन् २०२० सम्म आइपुग्दा ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको नेपाली प्रभावका बारेमा यहाँ केही सन्दर्भ उठान गरिएको छ । 

सन् १९०८ मा अमेरिकाको न्यूयोर्क शहरमा महिला १५ हजार महिलाले श्रमको उचित मूल्य पाउनुपर्ने, काम गर्ने समय निश्चित हुनुपर्ने तथा चुनावमा भोट हाल्न पाउनुपर्नेजस्ता माग राखेर एकै साथ मार्च गरी शान्तिपूर्ण आन्दोलन गरेका थिए । सन् १९१० मा अमेरिकी समाजवादी पार्टीले उक्त मागहरूको सम्बोधन गरेको थियो । 

महिलाहरूका विभिन्न देशका विभिन्न आन्दोलनहरूको सम्बोधन हुँदै आधिकारिक रूपमा सन् १९१३ देखि यो दिवस मार्च ८ मा मनाउन सुरु भयो । विश्वका आमश्रमिक महिलाहरूको स्वतन्त्रताको युग, मताधिकारको सुरुवात, विभेदविरुद्धको कानुन प्राप्तिको खुसियालीमा यो दिवस मनाउन सुरु गरिएको हो । 

हामी नेपालीहरू सामाजिक संजालमार्फत् जन्मदिन, संक्रान्ति, मसान्तदेखि गुलाब दिवस, चुम्बन दिवस प्रायः सबै मनाउने संस्कृतिमै छौँ । अर्थात् कुनै दिवस आयो कि हामी संजालमार्फत् पोस्ट गर्छौं । शहीद दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, जनयुद्ध दिवस बरु केही खासखास मान्छेले मात्रै सम्झिने गरेको देखिन्छ । 

वर्षमा ३६५ दिनमा प्रायः सबै दिन दिवस नै मनाइन्छ । हामी यी दिवसहरू औपचारिकतामा मनाएर कतै हाम्रो समयको बर्बादी मात्र त गरिरहेका छैनौँ ? यहाँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर केही बहसका विषयहरू उठान गर्न खोजिएको छ ।

जनसाँस्कृतिक महासंघ नेपालका सहसंयोजक सरल सहयात्री उहाँको फेसबुक स्टाटसमा लेख्नुहुन्छ, ‘स्वस्थानी कथाको महिलाविरोधी पाना च्यात्ने बहस निकै दिन तातेको थियो अस्ति माघे चिसोमा । जनयुद्ध/जनआन्दोलन/मधेस जनआन्दोलनका क्रममा मात्रै पनि शहीद हुने विराङ्गनाहरूको संख्या झण्डै २५ सय थियो । त्यो साहदत मात्रै होइन, अभूतपूर्व क्रान्ति थियो, जसको रक्तिम धरातलमा लैंगिक समानताको उपभोग र संघर्ष जारी छ र हुनुपर्छ । मेरो सन्दर्भको आसय स्मृतिको औपचारिक ढर्रामा फसिरहेका अर्को विकृतबाट मोडिएर ती विराङ्गनाहरूको गाथालाई लोकगाथामा बुन्दै आउँदो पुस्तालाई आफ्नो इतिहासप्रति गर्व गर्ने वातावरण बनाऔँ । स्वतः परंपराको गलत परिकल्पना र त्यसको दमनकारी पुस्तक विलोप भएर जानेछ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना’ ।

उहाँले निकै गम्भीर विषयको उठान गर्नुभएको छ । हामी समय सान्दर्भिक औपचारिक संस्कृतिकर्मी मात्रै पो हुँदै छौँ कि जो समय सन्दर्भमा आवाज उठाउने अनि खास उपलब्धिमा नपुगी सेलाउने । बलिदानीपूर्ण इतिहास बोकेका नेपाली महिलाहरू आज स्वतन्त्र छन् कि छैनन् त ? उनीहरूले क्रान्ति गरेर आर्जन गरेको विभेदको कतिको उपयोग भइरहेको छ त ? जस्ता प्रश्नहरू उठाउनुभएको छ । 

महिलाले बन्दुक छुँदा थाप्सा लाग्छ, अशुभ हुन्छ भन्ने पुरुषहरू महिलाले पड्काएको बन्दुकबाट छिट्टै सजग बनेका थिए । गोरु जोतेका थिए । अबको युग श्रम, उत्पादन र बजारकै हो । कामको विभाजन सीपअनुसार गर्नुपर्छ, लिंगअनुसार होइन । ११० वर्षको विश्व महिलाहरूको समयलाई एक पटक नेपाली महिला र राज्य संचालक नेतृत्वले फर्केर हेर्ने, समीक्षा गर्ने पनि समय भएको छ ।

र, मुख्य विषयचाहिँ हामीले आफैँबाट साँस्कृतिक रूपान्तरण हुने हो भने बासी सडेगलेका कुरामा बहस उठाउनै पर्दैन भन्ने हो । नेपाली धेरै महिलाहरू प्रायः वर्षका धेरै दिन शिवलिंगको पूजा–आराधना, स्वस्थानी, तीजको ब्रतमा भुल्छाैँ अनि लैंगिक विभेदको नाउँमा झण्डा बोकेर वर्षमा एक दिन नारी दिवसमा पनि सामेल हुन्छौँ । 

यी प्रवृत्तिले हामीलाई कुन मुक्तितर्फ लान्छ त ? हाम्रो समाजलाई साँस्कृतिक रूपमा नजानिँदो तरिकाले निकै मज्जाले गाँजिरहेकै छ । छाउपडीकै विषयलाई हेरौँ न, कति मिहिनेत गर्दा पनि त्यो विकृतिपूर्ण चिज संस्कृति बनेर गाँजिएको छ । आमआमाहरू अहिले पनि त्यो छाउगोठमै बस्न रमाउँछन् । किनकि उनीहरूलाई त्यहाँ बस्ने  बानी परिसकेको छ । 

पुरातन पुरुषहरू पनि घरमा बसेर महिनावारी बसेको  पचाउनलाई सकस मानिरहेका छन् । तीजमा हाम्रा आमाहरू बुबाको गोडाको पानी अझै खाँदै छन् । यो खानुपर्दैन भन्यो भने आजसम्म त खाएँ, अब छाड्छु ? भन्दै अडान लिन्छन् अर्थात्  मीठो मानेर खान्छन् गोडाको पानी ।

खासमा त त्यो विभेद हो भन्ने नै थाहा छैन उनीहरूलाई । यो त धर्म र कर्तव्य हो ठानिरहेका छन् । हाम्रा विभेदका विरुद्धमा आन्दोलन चलाउने महिला हिंसा र विभेदका अभियन्ताहरू पनि खासमा लक्षित वर्गमा नपुगी नै सिधिन्छन् । ठूला भनिने सञ्चार माध्यम र पत्रपत्रिकामा लैंगिक विरोधी लेख, रचनाहरू छापिन्छन् । 

पढ्नेले बुझ्छन् । खास लक्षित साँच्चिकै विभेदमा परेका तहसम्म ती चेतना विचारहरू पुग्नै पाउँदैनन् । यता, त्यो जगतमा लाग्ने महिलाको वकालत गर्दै हिँड्ने महिलाहरू प्रत्यक्ष वा समानुपातिक कोटाबाट उम्मेदवारदेखि उच्च पदसम्म त्यही कारणले पुगिसकेका हुन्छन् । पदमा पुगेपछि उनीहरू महिला हिंसा तथा विभेदको आन्दोलन सफल पारेर माथि पुगेको दाबी भने गर्न छाड्दैनन् । अहिलेसम्मको खास अवस्था यही हो ।

भातभान्सा र चुह्लाचौका भनेको अझै पनि महिलाकै जिम्मामा छ । केही महिलाहरूले आफ्नो श्रीमानलाई असल देखाउन खाना पकाउने, लुगा धुने सबै गर्नुहुन्छ भनेको सुनिन्छ तर कुनै पुरुषले मेरी श्रीमती पनि खाना पकाउनुहुन्छ, लुगा धुनुहुन्छ भनेको सुनिँदैन किनकि यो उनीहरूले नै गर्ने हो भन्ने हाम्रो दिमागमा सोच बनेको छ । 

यही दिवसको अवसरमा संस्कृतिकर्मी सीता शर्माले पनि फेसबुकमा लेख्नुहुन्छ, ‘सबैलाई आराम र बिदा चाहिन्छ । अफिस, स्कुल, क्याम्पस सबैतिर बिदा हुन्छ तर घरका भान्से महिलालाई कहिल्यै पनि बिदा हुँदैन । महिला दिवसको यो एक दिन त मैले घरका पुरुष सदस्यलाई भान्साको जिम्मा लगाएर आफूलाई मनपर्ने काम गरेर बिताउने गरेकी छु । तपाईंले नि ?’  

अब हेरौँ त, हामी आफूलाई स्वतन्त्र नारी मानिएका संस्कृतिकर्मीे लेखकको त यो अवस्था छ भने आममहिलाको अवस्था कस्तो होला ? यो भनाइले महिलाहरू मात्रै वर्षमा एक दिन आफूलाई मनपरेको काम गर्र्ने र जम्मा एक दिन पुरुषलाई चुह्लो जिम्मा दिने अरू दिन सधैँ चुह्लाचौका र अरूको खुसीका लागि गर्ने भन्ने अर्थ लाग्छ । 

महिला–पुरुषबीच मात्र यो विभेदको समस्या होइन, यो त महिला–महिलाबीच अत्यन्त डरलाग्दो विभेद देखिन्छ । हिजोका दिनमा सासूले बुहारीलाई सदाउनुपर्ने, बुहारीले दैनिक साँझ–बिहान सासूको गोडा मोल्नुपर्ने तथा ढोग्नुपर्ने हुन्थ्यो । अझै पनि कताकतै यो चलन रहिआएको छ । 

यदि ती सासूले आफ्नी पनि छोरी कसैकी बुहारी हो, कसैकी छोरी मेरी बुहारी हो भन्ने सोचेर आमाछोरीको व्यवहार सासू–बुहारीबीच गर्ने गरेको भए परिवार चल्न कति सहज हुन्थ्यो होला ! घरपरिवार कति सुखी हुन्थ्यो होला ! आजका बुहारीहरूले त्यो सासूको व्यवहारको पैँचो तिरिसकेका छन् । 

सासू र ससुराबा गाउँको घरमा चुह्लो र खेती रुङ्दै, बुहारीहरू बुढो र नातिनातिना चेपेर शहरको कोठा या घरमा सुख सुविधा खोज्दै । सुखको खोजीमा फेरि दुःखकै भुमरीमा छन् आजका नेपाली समाजका औसत परिवारहरू । यो किन भयो भन्दा बुहारीहरू सासूको शासनबाट मुक्त हुन चाहन्थे, छोराहरू श्रीमतीलाई स्वतन्त्रताका नाउँमा विभेदबाट मुक्ति दिन चाहन्थे तर यो मुक्ति भने होइन, यो त हाम्रो जीवनशैली थप जटिल बनाउने प्रक्रिया मात्र हो । 

पुरुषको तुलनामा महिला–महिलाबीच अन्य राजनीतिक, सामाजिक, पद, प्रतिष्ठालगायत लाउने, खाने विषयमा समेत निकै अस्वस्थ, प्रतिस्पर्धा, इष्र्या बढिरहेको कुरा तथ्यांकले देखाएको छ । पुरुषसत्ताविरुद्ध लड्ने समय महिला–महिलाबीच नै खर्चिएको देखिन्छ । यो थप अध्ययनको विषय पनि हो । 

सदियौँदेखि पुरुषप्रधान हुँदै आएको मुलुकमा धेरै संस्कारगत विभेद अझै रहिरहने अवस्थामै छन् । नेपालको संविधान, २०७२ ले महिलाको अधिकार थप गरेर निकै महत्त्वपूर्ण काम गरेको छ । श्रीमतीका हक अधिकार बढी छन् भनेर नेताहरूले, विश्लेषकहरूले, वकिलहरूले वकालत गर्दै आएका छन् । हुन पनि हो, समानुपातिक, समावेसीदेखि थुप्रै अधिकारहरू सुनिश्चित पनि गरिएको छ । यौन हिंसा, बलात्कार, घरेलु हिंसा जस्ता कानुन महिलाको पक्षमा  संविधानमा उल्लेख नै गरिएको छ । 

यी कानुनहरूको रक्षार्थ महिलाहरूले केके जिम्मेवारी गरिरहेका छन् ? प्राप्त उपलब्धिहरूको रक्षा कि दुरूपयोग भइरहेको छ ? भन्ने जटिल प्रश्न त फेरि उठ्न थालेको छ । जसरी सभामुख जस्तो उच्च पदमा रहेका कृष्णबहादुर महरा आफैँ हरेक प्रकारका विभेदको अन्त्यका लागि लडेका योद्धा हुन्, आज उनैमाथि बलात्कार प्रयासको आरोप लाग्यो । सार्वजनिक बेइज्जती भयो र अन्त्यमा अदालतले निर्दोष सावित गरिदियो । 

प्राप्त उपलब्धिहरूको रक्षा भन्दा  दुरूपयोगकाे सिकार भएका महरालाई अदालतले निर्दोष सावित गरे पनि के महरा पहिलेकै अवस्थामा पुग्छन् त ? के त्यो बलात्कार प्रयास थिएन भने महिला रोशनी शाही गलत थिइन् त ? कि सम्माननीय अदालत नै गलत थियो ? यसबीचमा को अन्यायमा, को न्यायमा ? भन्ने प्रश्न नारी अधिकारसँग जोडिन्छ कि जोडिँदैन ? 

अर्को त्यस्तै प्रकृतिको घटना प्रदेश १ का प्रमुख शेरधन राई र बालिका खड्काबीच उठिसकेको छ । अहिले शेरधन पनि आफूलाई नियोजित फसाउन खोजिएको दाबी गरिरहेका छन् । उनले गिरोह नै लागेर फसाउन खोजेको कुरा सार्वजनिक वक्तव्यमा गरेका छन् । महिलालाई कानुनी अधिकार स्थापित गरेको विभिन्न वहानामा पुरुषलाई फसाउन रचिएको जाल मात्र हो भने यो ठीक भइरहेको छैन । 

यदि अधिकारको दुरूपयोग सुरु भयो भने आममहिलाहरूले पाएका उपलब्धि पनि गुमाउने खतरा उत्तिकै छ किनकि पुरुषसत्ताबाट अझै पनि महिलाहरू मुक्त भइसकेको अवस्था छैन । यदि महिलाहरूले पनि खुसी पर्दा शारीरिक सम्पर्क गर्न सहमत हुने र रिस उठ्दा त्यसैलाई बलात्कार भन्ने हो भने यो सरासर गलत हो । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माइतीघर मण्डलामा केही महिलाहरूले समानताका लागि नारा लगाउँदै भाषण गरिरहेका थिए । कोही यो दिवस नै थाहा नपाउने महिलाहरू होलान्, उनीहरू बिहान–बेलुका हात जोड्न पिँठ्युमा बच्चा च्यापेर इँट्टाको भारी बोकिरहेका थिए । यी दुवै दृश्यहरू हाम्रो नेपाली समाजका साझा विषयहरू हुन् । 

देखाउनलाई अधिकार, देखाउनलाई सभा, सम्मेलन आन्दोलन हुने त हाम्रो संस्कार नै बनेको छ । वास्तविक पीडित महिलाहरूले न्याय माग्ने ठाउँसम्म पनि आई नपुगेको अवस्था छ । नेपाको मधेसमा दाइजो, पश्चिमको छाउपडी, शहर नजिकैको काँठमा माइतीले सुत्केरी स्याहार्ने संस्कार र प्रथा ज्यादै गम्भीर महिला विभेदका उदाहरण हुन् । 

कयौँ गैरसरकारी तथा सरकारी संघसंस्थाहरूलै यी मुद्दाहरूमा असीमित बजेट खर्च गरी नै सकेका छन् तर नेपालमा १० वर्षको माओवादी जनयुद्धको समयमा जति वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक आदि विभेदको सचेतना कसैले दिन सकेको भने पाइँदैन । 

त्यो परिस्थितिमा गरिएका भाटे कार्बाही, अहिलेका सर्वोच्च अदालतका निर्णय विश्वासिला थिए । गाउँमा चोरी, जुवातास, जाँड–रक्सी, महिला हिंसा, बलात्कारका घटनाहरू शून्य नै भइसकेका थिए । मानिस डरायो भने मात्र कानुन मान्छ भन्ने सकारात्मक पक्ष गाउँमा निकै प्रशंसनीय थियो । 

महिलाले बन्दुक छुँदा थाप्सा लाग्छ, अशुभ हुन्छ भन्ने पुरुषहरू महिलाले पड्काएको बन्दुकबाट छिट्टै सजग बनेका थिए । गोरु जोतेका थिए । अबको युग श्रम, उत्पादन र बजारकै हो । कामको विभाजन सीपअनुसार गर्नुपर्छ, लिंगअनुसार होइन । ११० वर्षको विश्व महिलाहरूको समयलाई एक पटक नेपाली महिला र राज्य संचालक नेतृत्वले फर्केर हेर्ने, समीक्षा गर्ने पनि समय भएको छ ।

जब हामी नारी र पुरुषको समान अधिकार र दृष्टिकोण व्यवहारमा देख्न थाल्छौँ, तब  महिला दिवस मनाइरहनै पर्दैन । यो त विभेद अझै छ है भन्ने संकेत मात्र हो ।