अफ्रिकी क्लब दाउफिन्सको आधिकारिकतामा प्रश्न

अफ्रिकी क्लब दाउफिन्सको आधिकारिकतामा प्रश्न

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २०, २०७५

धरानको बुढासुब्बा गोल्डकप फुटबल अन्र्तगतको तिलोत्तमा गोल्डकप र पोखराको मनकामना गोल्डकपको उपाधि समेत जितेको अफ्रिकी मुलुक क्यामरुनको फुटबल क्लब ’दाउफिन्स फेमिली’ को नेपालमा आधिकारिकता र आबद्धताबारे प्रश्न उठ्न थालेको छ ।

नेपालको फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल सङ्घ एन्फाले मान्यता नदिएको तथा सरकारबाट श्रम इजाजत समेत नलिएको उक्त क्लबले अहिले विभिन्न जिल्लामा भइरहेका प्रतिष्ठित नकआउट प्रतियोगिता समेत खेलिरहेको छ ।

अनधिकृत रूपमा भइरहेको दाउफिन्सको सहभागिताका सम्बन्धमा ए डिभिजन क्लबहरुले विरोध जनाउन थालेका छन् ।

प्रारम्भमा सुदूरपश्चिमको धनगढीमा भएको ’खप्तड कप’ मा सहभागी हुन दाउफिन्सले एन्फासँग स्विकृति मागेको थियो । तर आवश्यक कागजात आउनुअघि नै दाउफिन्सले प्रतियोगितामा सहभागिता जनायो।
पहिलो खेलमा पराजय व्यहोरे पनि दाउफिन्स क्यामरुन फर्केन । बरु जिल्लाहरूमा हुने अन्य प्रतियोगितामा समेत खेल्न थाल्यो । अहिलेसम्म टोलीले ६ वटा प्रतियोगिता खेलिसकेको छ ।
नेपालमै बसेर अरु प्रतियोगिता समेत खेलिरहने क्लबको योजना देखिन्छ । उक्त क्लबका कप्तान जोसेफ मार्कलले भने, ‘हामी अहिले फर्किरहेका छैनौँ। हामी यहीँ बस्छौँ। निरन्तर प्रशिक्षण गर्छौँ र अरू प्रतियोगिताहरू पनि खेल्छौँ ।’ 

एन्फाको स्वीकृति विनै प्रतियोगिता खेल्नु तथा श्रम इजाजत नलिइकन खेल्नु दाउफिन्सको मुख्य कमजोरी  भएको बताइएको छ ।

कुनै पनि विदेशी खेलाडीले नेपाल आएर व्यावसायिक फुटबल खेल्न सरकारको श्रम इजाजत अनिवार्य रूपमा लिनुपर्ने प्रावधान छ, यसमा पनि दाउफिन्स चुकेको देखिन्छ ।

एन्फाका अनुसार दाउफिन्सलाई नेपाल ल्याउन एजेन्ट सुगन तन्डुकारको भूमिका छ । तर तन्डुकारले बीबीसीलाई भने, ‘मैले उनीहरूलाई नेपालमा आउन सघाएको मात्र हुँ। नेपाल प्रवेश गर्ने बेला आवश्यक अनअराइभल भिसा लिन मात्र मेरो भूमिका हो ।’ उनले भने, ‘दाउफिन्सले अहिले खेलिरहेको फुटबल प्रतिस्पर्धामा मेरो कुनै भूमिका छैन ।’ तर पनि दाउफिन्सले भने एकपछि अर्को प्रतियोगिता खेलिरहेको छ । यसको जिम्मेवार को ?

स्वदेशका सीमित क्लबले देश दौडाहा गरेर सबै प्रतियोगिता खेलिरहेका बेला दाउफिन्स दर्शकहरूका लागि भने नयाँ स्वाद बनेको छ ।
मैदानमा एकैसाथ अफ्रिकी खेलाडीहरु उत्रिने र नेपालका उत्कृष्ट भनिएका ए डिभिजनका क्लबविरुद्ध कडा टक्कर दिने हुनाले पनि उक्त टोलीलाई प्रतियोगितामा सहभागी गराउन अहिले जिल्लाका क्लबहरू लागिपरेका छन् ।

त्यसमध्येको एक सहारा क्लब पोखराका अध्यक्ष केशव थापा भन्छन्, ‘दर्शकमा नयाँ स्वाद पनि हुने र विदेशी क्लब समेत हुने भएकोले हामीले दाउफिन्सलाई निम्त्याएका थियौँ ।’ 
मान्यता नपाएको क्लबलाई खेल्न दिनु तथा मौसमी टोली भएकोले नियममा नखेल्ने साथै उनीहरुमा कारबाहीको डर समेत नहुने हुँदा खेल भावना अनुरुप नखेल्ने भन्दै क्लबहरूले चिन्ता व्यक्त गरेको देखिएको हो ।

थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले भने, ‘उनीहरू नियममा बाँधिएका छैनन् र डर पनि छैन । नेपाली सेनाविरुद्ध उनीहरूले खेल भन्दा झगडा गर्नमा नै समय बिताए ।’ 

उनले अगाडी भने, ‘सेनाका खेलाडीहरू घाइते भएका छन्  यस्तोमा राष्ट्रिय टोलीका खेलाडीहरूलाई असर पुग्ने डर छ, कि त एन्फाले उनीहरूलाई मान्यता दिएर नियमभित्र लेराउनुपर्‍यो होइन भने कारबाही गर्नुपर्‍यो ।’

विषय जतिसुकै गम्भीर देखिए पनि एन्फाले दाउफिन्सलाई खेल्नबाट रोकेको भने छैन । 

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार जिल्लाका क्लबहरूलाई दाउफिन्सलाई सहभागी नगराउन मौखिक रूपमा भनिसकिएको छ । 

उनले दाउफिन्सलाइ चाँडै नै कारबाही गरिने बताउँदै भने, ‘दाउफिन्सको बारेमा अफ्रिकी फुटबल निकायमा जानकारी मागिएको छ र त्यो आउँदैछ । तर अहिले धेरै गुनासो आइसकेकोले हामी एकदुई दिनमा नै कारबाही अगाडि बढाउँछौँ ।’

क्लब फुटबलमा यो नौलो अभ्यास भने होइन । अफ्रिकन ११ को नाममा पहिले पनि एक पटक अफ्रिकी खेलाडीको एउटा टोलीले जिल्लाका प्रतियोगिताहरू खेलेको थियो ।

एन्फा पदाधिकारीहरूका अनुसार विदेशी क्लबको सहभागिताका लागि एन्फामा स्पष्ट नियम नभएकोले अर्को वर्ष यस विषयमा नयाँ नियम बनाइने अध्यक्ष शेर्पा बताउँछन् ।

तर सामुन्ने आइसकेको समस्यामा एन्फाले स्पष्ट धारणा राख्न नसकेको भन्दै असन्तुष्टि जाहेर भएको देखिन्छ ।


                                                     साभारः बीबीसी नेपाली सेवा